पहिलाे प्रेम (उपन्यास) -शिशिर पराजुली

गित बजिरहेको गाडीमा मा म चढे । मलाइ सामाखुशी उत्रिनु थियो त्यसैले ढोका छेवैको सिटमा बसेँ । सिटमा बस्ने बित्तिकै मैले कोहि बोलेको सुनें।

“दाइ यो अशक्त सिट हो” सहचालक बोल्यो ।

आखिर म पनि त अशक्त नै त हुँ नि । म पनि अपांग भन्दा के कम छु र ? आखिर मेरो पनि त मन भाँचिएको छ । मेरो पनि त दिल टुटेको छ नि । म पनि कहाँ सग्लो छु र । मैले पनि धोका खाएको छु । म पनि त यो संसार संग हारेको छु । म पनि त भगवान बाट ठगिएको छु । मेरो आँखाले देखे पनि केवल एउटी नारीको मात्र चित्र कोर्छ । मेरो पाइला चले पनि प्रत्येक पाइलाले उसैको खोजि गरिरहेको हुन्छ । मेरो मुटु धड्किए पनि हरपल उसैको लागी मात्र धड्किन्छ अनि मेरो जीवन चले पनि हरदम उसैको साहारा खोजिरहेको हुन्छ । के म चाहिँ अपांग होइन र?  यसरि उत्तर फर्काउ भनेर सोच्दै थिएँ तर गाडीमा अरु मानिसले पनि मलाइ नै हेरिरहेको देखेर म रोकिएँ । आफु बसेको त्यो “अशक्त” सिट म जस्तो “अशक्त मन” भएका हरुको लागि रहेनछ भनेर म पछिल्लो सिटमा बसेँ । गाडी आफ्नै गतिमा गुड्यो  । बाटोमा कतै जाम त कतै धुलो । कति बेला गाडी बाट ओर्लिउ जस्तो भइसकेको थियो ।

 

“दिल यो मेरो दिल सार्है चंचल गर्छ” गाडीमा गित गुन्जिन थाल्यो । मेरो पनि दिल चंचल गर्न थाल्यो । मैले गाडीको झ्याल खोलें । धुलो मिसिएको हावाले मेरो टाउकोलाई हान्यो । बतास बनेर उही आइ मेरो मनमा  । उही प्रशंसा । उ आएको आभाषले मात्रै मलाइ कुम बाटै सिरिंग भयो । म भन्दा पछाडिको सिटमा बसेको मान्छेले झ्याल खोल्यो । झ्याल पनि यसरि खोल्यो कि मानौ उ बसेको र उसको अगाडिको दुवै सिट उसको आफ्नै हो । उसले झ्याल खोल्ने बित्तिकै मेरो झ्याल बन्द भयो । झ्याल बन्द हुने बित्तिकै मेरा स्मृतिका पानाहरु भने खुल्न थाल्यो ।

“झ्याल खोल न” प्रशंसा ले भनि ।

“तिमीलाई झ्याल बाहिर हेर्न मन पर्दैन?” उसैले प्रश्न गरि ।

“मन पर्छ नि तर झ्याल बाहिर देखिने प्रत्येक मानिस तिमि हुनुपर्छ, झ्याल बाहिर देखिने प्रत्येक आकृति तिम्रो बन्नु पर्छ ।“ मैले उत्तर दिएँ ।

“धत्” उसले हाँस्दै उत्तर दिई ।

“तिमि भित्र हुँदा हुँदा मलाइ बाहिर किन हेर्नु पर्यो” मैले भने ।

“जिन्दगि नै मलाइ हेरेर बिताउने रहर छ हो?” प्रशंसा ले प्रश्नवाचक भावमा भनि ।

“तिम्रो मुखमा दूधभात” मैले छोटकरीमा कुरा टुंग्याए ।

त्यत्तिकैमा पछाडिको झ्याल बन्द भयो, मेरो झ्याल खुल्यो । झ्याल खुल्ने बित्तिकै मेरा स्मृतिका पानाहरु बन्द भए । यसो छेउमा हेरें । छेउमा प्रशंसा थिईन । छेउको सिट खालि थियो । त्यहि बेलामा गाडी रोकियो । गाडीमा एउटी केटि चढी । कालो टाइट पाइन्ट र सेतो टिशर्ट अनि आँखामा कालै चस्मा लगाएकि थिइ । गाडीमा चढेर उसले चस्मा खोलि । चस्मा खोलेर मेरो छेउको सिट हेरी त्यसपछि मलाइ हेरी । सायद मलाइ देखेर होला उ त्यहाँ बसिन । मलाइ विनाकारण आँखा तरेर अलि पछाडी गएर बसी । सायद उसलाई रुपको ठुलो घमण्ड रहेछ । यहि सोचेर म फेरी बाहिर हेर्न थालें । केहीबेरमा मेरो गन्तब्य आइपुग्यो । म सामाखुशी मा उत्रिएँ ।

म आफ्नो कोठामा पुगेँ । कोठामा पुगेर फेसबुक चलाउन थालें । म्यासेन्जर मा एउटा म्यासेज आएको रहेछ । म्यासेज साथीको थियो । उसले ल्याब रिपोर्ट को फोटो पठाइदिन आग्रह गर्दै थियो । मैले ल्याब रिपोर्ट खोजें । फोटो खिचे अनि उसलाई पठाएँ ।

उसलाई ति फोटो पठाउने बित्तिकै मैले ग्यालरीमा भएका फोटाहरु हेर्न स्वाइप गर्न थालें । प्रशंसाका फोटाहरु देखिन थाले । उसका धेरै फोटाहरु डाउनलोड गरेको थिएँ । डाउनलोड गर्ने स्रोत थियो फेसबुक । सेभ गरेर राखेको थिएँ मोबाइलको एउटा गोप्य फोल्डरमा । कसैले देख्ला कि भन्ने चिन्ताले मलाइ सताइरहन्थ्यो, त्यसैले उसका फोटाहरु लुकाउन बाध्य हुन्थें । म बेला बखत उसले सारी लगाएर लजाएको फोटो आफ्नो मोबाइलको वालपेपर राख्थें । वालपेपर राखे पनि केहि बेरमा नै त्यो वालपेपर हटाइ हाल्थें । उसका ति फोटो हरु हेरेर मैले धेरै समय बिताउन सक्थे । उसका गाजलु आँखाले मलाइ हरेक पल्ट मोहित बनाउथ्यो । चिटिक्क मिलेको जिउडाल अनि त्यसमा सुहाउदो गोरो अनुहारले उसलाई अति सुन्दर देखाउथ्यो । फोटोमा त उ अझै सुन्दर देखिन्थि । उसका फोटोहरुमा देखिने उसको गुलाबी ओठलाई जुम गरि मैले कैयौ पटक चुमेको थिएँ । मोबाइल मा चुम्दा पनि मेरो मुटुको धड्कन बढ्ने गर्थ्यो । लाग्थ्यो उ मेरो सामुन्नेमा बसेर मलाइ एकोहोरो हेरिरहेकी छे । त्यहि त्रासले म एक्लै हुँदा पनि ति फोटाहरु लुकाउन बाध्य हुन्थें । उसका केहि फोटोहरु त मैले धुलाएर राखेको थिएँ । ति फोटाहरु सिरानी मुनि, दराजमा अनि मेरो किताबका बिचमा भेटिन्थे । उसलाई भने मैले कहिल्यै पनि यसको बारे भन्ने हिम्मत गरिन । के सोच्ली? फेरी नराम्रो सोची भने? उसको फोटो धुलाएर राख्न मलाइ के अधिकार? यस्तै यस्तै प्रश्नवाचक चिन्ह हरुले मलाइ रोक्ने गर्थ्यो उसलाई यी यथार्थ सुनाउन बाट ।

एकैछिनमा मैले छेउमा भएको डायरी पल्टाएँ । डायरीमा प्रशंसा र मेरो बीच भएका सम्पूर्ण घटना हरु मैले लेखेको थिएँ । आज सुरु बाटै त्यहि डायरी पढ्छु भन्ने निधो गरें । त्यसपछि खाना खाएर मैले डायरी पल्टाउन थालें, शब्द शब्द पढ्न थालें । प्रशंसा र म बीच घटेका सम्पूर्ण मिठा नमीठा घटनाहरु

विहानै ७ बजे कलेज पुग्नु पर्थ्यो । म एडभान्स कलेजमा सिभिल इन्जिनियरिंग अध्ययनरत थिएँ । यति बेला कलेजको आन्तरिक परिक्षा चलिरहेको थियो । एकाविहानै उठेर म  कलेज गएँ । कलेज पुग्नै लाग्दा छेउछाउका भट्टीहरुमा चहलपहल सुरु भइसकेको थियो ।

“पराजुली” एउटा भट्टी भित्र बाट आवाज आयो ।

म आवाज आए तर्फ फर्किएँ ।

“आइज चिया खाएर जाउँला” उसैको आवाज आयो ।

म भट्टी भित्र छिरें । एकाविहानै भट्टी धुँवाले भारीइसकेको थियो । भट्टी भरि धुँवाले विहानको उज्यालोलाई अन्धकारमा परिणत गरिसकेको थियो । कलेजका धेरै केटाहरु चुरोट सल्काउदै धुँवा उडाउदै विविध गफ गर्दै थिए । साथीले मेरो लागि चिया मगायो अनि आफुले चुरोट सल्काउन थाल्यो ।

“कत्तिको तयारि छ?” उसले सोध्यो ।

“के तयारि होस् । आज त बिजोग छ यार ।“ मैले उत्तर दिएँ ।

“दुवै जना मिलेर ३२ कटाउने त हो नि । चिन्ता नगर ।“ उसले आत्मविश्वाश का साथ भन्यो ।

त्यसपछि हामीले चिया सकेर कलेज तर्फ लाग्यौं । गेट बाहिर टाँसिएको सिट प्लान हेर्यौ ।

“रुम नम्बर ४०२” मैले साथीलाई भनें ।

हामि दुवै जना माथिल्लो तल्लामा पुगेर क्लास भित्र छिर्यौ । हामि सिभिल फ्याकल्टी थियौँ । हाम्रो छेउमा कम्प्युटर फ्याकल्टीका बिद्यार्थीहरु परेका थिए । केहि बेरमा परिक्षा सुरु भयो । यसो प्रश्नपत्र हेरें । पछाडिको साथीलाई पनि हेरिहाले । उसले ३२ कटाउन सकिन्छ भन्ने संकेत गर्यो । अनि हामी आआफ्नो उत्तर लेख्न थाल्यौ । क्लास भरीइसकेको थियो । म झ्याल पट्टिको साइडमा परेको थिएँ, तेस्रो बेन्चमा । क्लास भरि कोहि लेख्न मस्त थिए भने कोहि एक घण्टा कहिले पुग्छ भनेर हात बाँधेर बसिसकेका थिए । म परेकै साइडको पहिलो बेन्चको एउटा सिट खालि थियो । अर्थात त्यहाँ परिक्षा दिने कोहि त्यस बेला सम्म अनुपस्थित थियो ।

कम्प्युटर फ्याकल्टीको भएकाले को आएको छैन भनेर मैले चिनिन । अनि फेरी आफ्नै उत्तर लेख्न थालेको थिएँ, एउटा आवाजले मेरो ध्यान अन्तै मोड्यो ।

“मे आइ कम इन सर?” ढोका बाट कसैले बोल्यो ।

कालो टाइट पाइन्ट, सेतो धर्सा परेको कालै टि-शर्ट । सानो च्याप्टो आँखा अनि त्यसलाई सुहाउने गोलो कालो नानि । च्याप्टो अनि अत्यन्तै चिल्लो अनुहारको शोभा बढाउने तरिकाले बसेको नाक, सानो चिउँडो अनि ति सबै बराबर ध्यान आकर्षित गर्न सक्ने गुलाबी ओठ जसको चाल नै जो कोहि पुरुषलाई लोभ्याउन काफी थियो । उसको माथिल्लो ओठ तल्लो ओठ भन्दा अलिकति ठुलो थियो तर तल्लो ओठ भन्दा पातलो, जुन देखेर जो कोहि पनि हुरुक्क हुन्थ्यो । कालो पाइन्ट र कालो धर्सा परेको टि-शर्ट सरिरमा टमक्क मिलेको थियो । हल्का कर्ली कपाल फुक्का छाडेकी थिइ । करिब पाँच फिट तिन इन्च हाइट थियो । समग्रमा भन्नु पर्दा मेरो अगाडी ढोकामा बिछट्टै राम्री केटि उभिरहेकी थिई ।

मैले उसलाई हेर्दा हेर्दै उ आफ्ना साथि हरुलाई मिठो मुस्कान छर्दै आफ्नो स्थानमा गएर बसी । उसलाई हेरिराखें । झ्याल छेउमा बसेकी थिई । झ्यालबाट बेला बेला आउने हावाले उसको कपाल फरफर गर्थ्यो अनि मायालु पाराले कपाल मिलाउथी । उसलाई देखेर सायद मेरो सरिरमा रहेका लभ हर्मोन एक्टिभ भइसकेका थिए ।

अब केहि बेर लेख्न थालें । तर मेरो ध्यान उत्तरपुस्तिका भन्दा पनि धेरै उ तर्फ नै आकर्षित भईरहेको थियो । जसोतसो एक घण्टा घरि उसलाई हेरेर अनि घरि लेखेर बिताएँ । अब उसको नाम थाहा पाउन म अत्यन्तै आतुर भइसकेको थिएँ । नाम थाहा पाउने सबै भन्दा उपयुक्त तरिका थियो हाजिर गर्ने पेपर ।

हाम्रो हाजिर गर्ने पेपर फरक र उनीहरुको हाजिर गर्ने पेपर फरक थियो । मेरो हातमा परेको पेपर बाट उसको नाम थाहा पाउनु सम्भव थिएन त्यसैले छेउमा परेको केटाले कति बेला हाजिर गर्ला र पेपरमा त्यो सुन्दर केटीको नाम हेरुला भनेर म आतुर भइसकेको थिएँ ।

केहीबेरमा उसको अगाडी हाजिर गर्ने पेपर आइपुग्यो । म त्यो पेपर तर्फ तन्किएर नाम हेर्ने कोशिश गर्दै थिएँ ।

त्यहि बेला “भाइ सिधा बस” भनेर आवाज आयो ।

आवाज परिक्षा गार्ड को थियो । त्यसपछि म सिधा बस्नुको बिकल्प थिएन । म सिधा बसेँ अनि उसले हाजिर गरेर पेपर पछाडी दियो । मैले उसको नाम हेर्न पाइन । मनमा गार्ड प्रति क्रोध उत्पन्न भएको थियो अनि आफ्नै भाग्यलाइ सराप्दै थिएँ । जसोतसो परिक्षा सकियो, हामि सबै बाहिर निस्कियौँ । बाहिर निस्कने बित्तिकै त्यो सुन्दर केटि मेरो नजर बाट हराई । उ कहाँ गइ मैले पत्तो पाउन सकिन । मेरो अनुहारमा अन्धकारले बास गर्यो । उसको नाम मैले त्यस दिन पनि थाहा पाउन सकिन । त्यस पछी अरु कुनै पनि परिक्षामा हामि एउटी क्लास मा परेनौ । उसलाई मैले अरु परिक्षामा देख्दा पनि देखिन तर उसको अनुहारको चित्रले मेरो मनलाई छाडेको थिएन ।

कलेजको आन्तरिक परिक्षा पनि सकियो ।त्यसपछि हामीले बोर्ड इग्जाम दिने बेला आयो । त्यस बेला सम्म पनि मेरो मनमा उसको आकृति धमिलिएको थिएन । उसलाई एक पटक देखेको थिएँ अनि सायद त्यसले मेरो लभ हर्मोन सधैका लागि एक्टिभ गरिदिएको थियो । उसलाई मैले बिर्सने सकेको थिइन । त्यस पछी बोर्ड एक्जाम दिने बेलामा उसलाई फेरी एक पटक देखेँ । यस पटक पनि उसलाई कालो पाइन्ट अनि कालै टि-शर्ट मा देखेँ । सायद कालो कपडा संग उसको ठुलै लगाव थियो होला, त्यसैले उसले धेरै जसो कालो कपडा नै लगाउँथी ।

त्यस दिन पनि उसलाई देखेको केहि बेरमा नै उ मेरो नजरबाट टाढा भइसकेकि थिइ । त्यस दिन पनि मैले उसको नाम पत्ता लगाउन सकिन अनि त्यस पछिका कुनै दिन पनि मैले उसलाई देखिन । परिक्षा पनि सकियो । त्यस पछी दशैं तिहार विदा थियो । त्यो दुइ महिनाको छुट्टीमा मेरो दिमाग बाट उसको आकृति धमिलिन थालिसकेको थियो तर उसलाई देख्न मेरो मन अत्यन्तै आतुर थियो । विदा सकियो । फर्केर काठमाण्डौ आएँ । कलेज पनि सुरु भयो । दोस्रो वर्षको पढाइ सुरु हुन थाल्यो । उसलाई भने मैले कलेज मा देख्न छोडिसकेको थिएँ । सायद हाम्रो वाहिर निस्कने समय मिल्थेन होला, त्यसैले हाम्रो कहिल्यै भेट हुने पाएन ।

एक दिन म घर आएर वेलुकी पख फेसबुक चलाउँदै थिएँ । पिपुल यु मे नो मा एउटा परिचित अनुहार देखियो ।

“प्रशंसा पाण्डे” त्यस अनुहारको तल नाममा लेखिएको थियो ।

प्रोफाइल खोलेर हेरें । गालामा हल्का मेकअप । गुलाबी ओठमा गुलाबी, टल्किने लिपिस्टिक । छोडेको कर्ली कपाल अनि साडीमा सजिएको एकदमै मिलेको शरीर । उसको प्रोफाइल पिक्चरको आकृति यस्तै थियो । उसलाई चिन्न बेर लागेन । उ त्यहि केटि थिइ जसको नाम मैले खोजिरहेको थिएँ । भाग्य भनुँ कि के आज यति सजिलै उसको नाम पत्ता लाग्यो । जीवनमा फेसबुकले पनि ठुलै काम गर्यो । यस्तै सोचें एकैछिन । उसलाई मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ । फ्रेन्ड रिक्वेस्ट त पठाएँ तर अब एसेप्ट भएन भने नि? अब यो प्रश्नले मलाइ झस्काउन थाल्यो ।

“ह्या कलेज एकै त हो नि, कलेजको नाम देखेर नि एसेप्ट गर्ली नि ।“ मेरो एक मनले भन्यो ।

“एकै कलेज भएर एसेप्ट गर्नुपर्छ भन्ने छ र ?” अर्को मन खलनायक बन्न आइपुग्यो ।

“राम्री केटीले चिनेकै हुँदा त एसेप्ट गर्दैनन् अब यो त धेरै राम्री अनि त्यो माथि नचिनेको “ पहिलो मन पनि खलनायक बन्न थाल्यो ।

“बि पोजेटिभ” अन्तिम मा दिमाग बोल्यो । यसपाली दिमागकै सुन्नु पर्ने आवश्यकता थियो ।

आज कुरें, भोलि कुरें । एसेप्ट भएन । अब एसेप्ट  हुँदैन जस्तै लागेको थियो । पर्सिपल्ट ठ्याक्कै नोटिफिकेशन आयो “प्रशंसा पाण्डे एसेप्टेड योर फ्रेण्ड रिक्वेस्ट”

म त्यो बेलाको खुशी कसरि ब्यक्त गरूँ । त्यतिबेलाको खुशी सायद शब्द मा व्यक्त गर्नका लागि कुनै शब्द नै पर्याप्त छैनन् । अब उ फेसबुक फ्रेण्ड त भइ तर उसंग बोल्ने पो कसरि? मलाइ फेरी यो प्रश्नले सताउन थाल्यो ।

“के भनेर बोलुँ? बोलेको मिलेन भने?” एक मनले भन्न थाल्यो ।

“आज सम्म कसै संग बोल्दा नमिलेको छ र?” अर्को मनले सकारात्मक उर्जा थप्ने प्रयास गर्यो ।

“बोल्न खोज्दा रिप्लाई गरिन भने नि?” नकारात्मक मन पुन: हावी भयो ।

“ह्या कस्तो डराएको बोल्न पनि” आफैंले आफैंलाई सकारात्मक बनाउन खोजें ।

यसरि नै मेरो मन अन्तरद्वन्द्व मा फस्यो । अन्तरद्वन्द्व ले गर्दा घाटा मलाइ नै भयो, म उसंग बोल्ने सकिन । दिन बित्यो, हप्ता बित्यो अनि महिना पनि बित्यो तर अहँ बोल्ने हिम्मत आएन । सधैं कुनै न कुनै भयले सताइरह्यो । त्यहि भयले मलाइ अगाडी कदम चाल्न बाट रोक्यो ।

एकदिन मैले आफ्नो कलेजको फेसबुक ग्रुपमा आत्महत्या सम्बन्धित एउटा पोस्ट गरेको थिएँ । पोस्टमा थुप्रै कमेन्ट हरु आएका थिए तर त्यो मध्य एउटा कमेन्टले चाँही मेरो ध्यान खिच्यो । कमेन्ट थियो प्रशंसा को । उसले मेरो लेखाइको तारिफ गरेकी थिई । मैले आफ्नो वालमा अनि ग्रुपहरुमा विभिन्न खाले लेख हरु पोस्ट गरिराखेको हुन्थें । ति पोस्टहरुमा उसको लाइक त सधैं देख्न पाइन्थ्यो तर कमेन्ट चाँही पहिलो पटक पाएको थिएँ ।

त्यसको भोलिपल्ट मैले एउटा स्ट्याटस लेखें “हु इज शिशिर पराजुली फर यु?” यो त्यसबेला फेसबुकमा चलेको ट्रेन्ड थियो र म पनि त्यसैलाई फलो गर्दै थिएँ । सुरुमै प्रशंसाको लाइक आयो । उसको पनि  कमेन्ट आओस भन्ने आश थियो तर लाइक गरेपछी उसको कमेन्ट आएन । अरु थुप्रै कमेन्ट हरु आए, म सबैलाई रिप्लाई गर्दै थिएँ । बेलुका पख एउटा कमेन्ट थपियो, कमेन्ट थियो प्रशंसा को ।

“मेन अफ ओर्ड्स” उसले कमेन्ट गरेकी थिइ ।

मेरो लागि उ बाट यस्तो मिठो कमेन्ट अप्रत्याशित थियो । उसको कमेन्ट देखेर म

अत्यन्तै खुशी भएँ । उसले मेरा हरेक लेख हरु पढ्ने रहिछ जस्तो लाग्यो ।  अब भने उसंग बोल्छु बोल्छु भन्ने निधो गरें ।

त्यस दिन राति भइसकेको थियो त्यसैले भोलिपल्ट प्रशंसा लाइ म्यासेज गर्छु भन्ने सोचें । भोलिपल्ट घर पुग्ने बित्तिकै ल्याब रिपोर्ट बनाएर सकें । अनि फेसबुक खोलें । फेसबुकको च्याट बक्समा गएँ र टाइप गरें, प्रशंसा पाण्डे ।

च्याट बक्समा उसको नाम देखाइहाल्यो । नामको छेउमा हरियो बत्ति पनि बलिरहेको थियो ।

“हाइ” मैले टाइप गरें ।

“हाइ J” उता बाट उत्तर आयो ।

“सन्चै छौ?” औपचारिक रुपमा प्रस्तुत भएँ ।

“सन्चै छु । तीमी नि?” उसले सोधी ।

आज उसंग बोल्ने कति पुरानो धोको पुरा हुँदै थियो । खुशी नहुने त कुरै भएन नि । म त खुशीले बुरुक्क बुरुक्क उफ्रिरहेको छु । म त तिम्रो कमेन्टले रमाइरहेको छु । यही रिप्लाई गरूँ जस्तो लागेको थियो ।

“अँ सन्चै छु ।” म सम्हालिएँ ।

केहि बेरमा म्यासेज सिन भयो । सिन त भयो तर रिप्लाई आएन । केहि बेर कुरें तर अहँ अझै पनि उसको रिप्लाई आएन । अझै आश मरेको थिएन तर अहँ उसले कुनै वास्ता नै गरिन । सुरुमै केटि मान्छेको जात जनाइहाली । केटि मान्छेको यहि बानि सार्है नराम्रो, नदिएको भाउ पनि खोर्सलेर खोज्ने, माग्ने ।

“मैले त सोचेको पनि थिइन…..” म आफैंले म्यासेज गरें, वाक्य पुरा नगरी । मलाइ थाहा थियो, अधुरो संवादले मानिसको कौतुहलता लाइ बढाउँछ । मानिसको साइकोलोजी त हो, मलाइ बुझ्न बेर लाग्दैनथ्यो ।

“के नि?” रिप्लाई गरिहाली ।

थाहा भइहाल्यो उ अनलाइन भएर नि नबोलेकी रहिछ । मोरी! कस्तो भाउ खोजेकी । यसो सोचें ।

“तिमिले मैले लेखेका लेखहरु पढ्दि रहिछौ भनेर नि ।“ मैले कुरा खोलें ।

“तिम्रो लेख त म सधै कुरिराखेकी हुन्छु । अत्यन्तै राम्रो लेख्छौ । मलाई खुब मनपर्छ ।“ उसले रिप्लाई गरि ।

अरु मानिसको मुख बाट तारिफ सुन्दा सायदै कोहि मख्ख नपर्ला, त्यासमाथी उसले मलाइ गर्ने तारिफले छुट्टै महत्व राख्थ्यो । अलि अघि उसले रिप्लाई नगर्दाको रिस मर्यो, खुशीको वतासले मेरो मुटुलाई सिन्चित गर्यो ।

“हाहा धन्यवाद” मैले लेखें ।

“तिम्रो लेख हरु अत्यन्तै अर्थपूर्ण हुन्छ ।“ उसले कुरा अझै अगाडी बढाई ।

“त्यस्तो पढ्छौ र मैले लेखेको?” मैले फेरी अघिकै अर्थ लाग्ने प्रश्न सोधें ।

“पढ्छु नि । त्यसैले त तिमीलाई म्यान अफ ओर्ड्स भनेको” आँखा मारेको इमोजी सहित उसले रिप्लाई गरि ।

“तिमि पनि सेकेन्ड इअर है?” थाहा भएको कुरा पनि सोधें । तर जवाफ आएन ।

सोचें अब बोल्दिन । कतै पढेको थिएँ, धेरै डेस्प्रेट पनि हुनु हुँदैन भनेर, त्यसैले अब उसैले कुरा नगर्दा सम्म आफुलाई थामेर राख्छु भनेर चुप बसेँ ।

न्युजफिड हेर्न थालें । कसैका माया प्रेमका स्टाटस अनि कसैका फोटा हरु । केहि नयाँ थिएनन् न्युज फिडमा पनि । अनि च्याट बक्स हेर्न थालें । एकैछिन केटाहरुसंग हाइ हेलो गर्न थालें ।

करिब दस मिनेट पछी मेसेन्जर को आवाज आयो, टिंग ।

“अँ सेकेन्ड इएर नै हो । तिमि पनि सेकेन्ड है?” प्रशंसाको रिप्लाई आयो ।

“हजुर, म पनि सेकेन्ड नै हो ।“ मैले रिप्लाई गरें ।

“कलेज मा देख्छु तिमीलाई । साहित्यकार वाला इम्प्रेशन आउँछ तिमीलाई देखे पछी त ।“ उसको म्यासेज आयो ।

“म कहाँ साहित्यकार हो त ।“ एउटा ठुलो हाँसो सहित टाइप गरें ।

“साहित्यकार त हो नि । म त तिम्रो फ्यान हो ।“ उसले फेरी तारिफ गरि ।

उसको यो म्यासेजले मेसेन्जर को आवाज मात्र होइन त्यहाँ बाट बाहिर निस्केर मेरो दिललाई पनि धड्कायो ।

“तारिफ धेरै भयो ।“ मैले रिप्लाई गरें ।

“हाहा भएको छैन ।“ उसले भनि ।

“अनि कता बस्छु त तिमि?” मैले सोधें ।

“म पाटन ।“ उसले भनि ।

“पाटन कता नि?” म च्याट लम्बाउन चाहान्थें । के सोधिरहेको छु र किन सोधिरहेको छु संग मलाइ मतलब थिएन । म त केवल उसंग बोलेर एउटा मिठो पल बनाउन खोज्दै थिएँ जुन पल मेरो जीवनको मुल्यवान पल हुने वाला थियो । म त्यस्तो पल बनाउने कोशिश गर्दै थिएँ जुन पल जीवन भर अविष्मरणीय रहने थियो ।

“पाटन नजिकै, धोबिघाट ।“ उसले रिप्लाई गरि ।

भोलिपल्ट सधैं जस्तै कलेज गएँ । त्यस दिन को कलेज अरु दिन भन्दा फरक थियो । हिजो मात्र उसंग बोलेको, आज उसंग भेट भइ पो हाल्छ कि भन्ने आशा थियो मनमा । सबै आशा पुरा हुनुपर्छ भनेर कहाँ पो लेखिएको हुन्छ र? त्यो आशा त्यस दिन निराशामा परिणत भयो ।

बेलुका घर पुगेर फेसबुक चलाउन थाले । न्युज फिड हेर्दै थिएँ, न्युज फिडमा प्रशंसाको पोस्ट भेटियो । उसले एउटा भिडियो अपलोड गरेकी थिइ । भिडियो को क्याप्सनमा लेखिएको थियो,” लग जा गले कभर ।“

भिडियो खोलें । उसले आफैले गाएको गित राखेकी थिइ । भिडियो छोटो थियो तर अत्यन्तै मिठो । उसको गित मैले धेरै पटक सुनें । असाध्यै राम्रो गाउदि रहिछ । म गीतको शब्द शब्दमा डुब्न थालें । उसले मलाइ नै “लग जा गले” भने जस्तै कल्पनामा म डुब्न थालें ।  त्यस पछी च्याट बक्स खोलें , अनि हिजोकै कुरा दोहोर्याएँ ।

उसैको नाम खोजें ।

“मैले त सोचेको पनि थिइन……..” फेरी अधुरो संवादका साथ च्याट सुरु गरें । कमसेकम यसरि संवादलाई अधुरो छोड्दा उसको रिप्लाई आउने त पक्का थियो । त्यहि रिप्लाई नआउने भयलाई टार्न मैले यो जुक्ति निकालेको थिएँ ।

तीर निशानामा लाग्यो ।

“के नि?” उसले रिप्लाई गरिहाली ।

“तिमीले यति राम्रो गाउँछौ भनेर ।“ मैले रिप्लाई  गरें ।

“हाहा, थ्यांक यु ।“ उसले रिप्लाई गरि ।

“भगवानले सबै कला एक जना लाइ मात्र कसरि दिन सकेको होला ।“ फेरी उसलाई जिज्ञासु बनाउने कोशिश गरें ।

“कसलाइ नि “ उसले रिप्लाई गरि हाली । फेरी तीर सहि निशानामा लाग्यो ।

“तिमीलाई, अरु कसलाई होस् ।“ मैले लेखें ।

“के कला देख्यौ हो त्यस्तो?” उसले प्रश्नवाचक चिन्ह लगाई ।

“यस्तो राम्री मान्छे अनि उत्तिकै राम्रो स्वर कि धनि । यो भन्दा अरु के कला चाहियो र ।“ मैले लेखें ।

“आफु नि आफु । तिमि पनि केहि कम छैनौ ।“ उसले भनि ।

हामी बीच अब दैनिक जस्तै कुरा हुन थाल्यो । म उसलाई माया गर्न थालिसकेको थिएँ । उ त मेरो मायाको कठघरामा थुनीइसकेकी थिइ । उ मेरो आँखामा सदा सदाका लागि कैद भइसकेकी थिइ । उसको सामिप्यता संग म हरदिन रमाउंदै थिएँ । उसको सामिप्यले गर्दा मेरो मनले राहत पाइसकेको थियो । मेरो मनले अब उसको मायाको न्यानो ताप खोजिरहेको थियो । मेरो उजाड मनका पाखा अनि निरश बैंशमा पनि उसको आगमनले अनायसै हरियाली छाउन थालेको थियो । मेरो उदास मनले पनि खुशीका गित हरु गाउन  थालिसकेको थियो । म त अब जीवनका हरेक मोडहरु उसंगै कटाउने, जीवनका हरेक पलहरु उसंगै बिताउने कल्पनामा रमाउन थालिसकेको थिएँ ।

म अब उसलाई प्रेम प्रस्ताव राख्न आतुर बनिसकेको थिएँ । तर प्रेम प्रस्ताव राख्न कहाँ त्यति सजिलो थियो र ? म त्यसको लागि अझै केहि समय पर्खिएर बस्न तयार थिएँ, केवल उचित पलको खोजीमा म थिएँ ।

उसँग कलेज मा पनि भेट हुन थाल्यो । देख्ने बित्तिकै टाढै बाट हात हल्लाउँथी अनि मिठो मुस्कान छरेर हाइ भन्थी । उसको त्यो मिठो मुस्कानले उ प्रतिको मेरो मोह अझै बडाउंथ्यो । उसंग भेट नहुने भएकाले मलाइ विदाका दिनहरु सार्है कष्टकर लाग्थ्यो, तर त्यो कष्ट मेटाउने उपाय पनि थियो, फेसबुक । उसलाई अनलाइन देखाइरहन्थ्यो अनि हामि सधैं जसो कुरा गर्थ्यौं । कलेजमा देखे पनि राम्ररि कुरा चाँही कहिल्यै हुन पाएन किनकि उ सधैं केटिहरुकै ग्रुपमा बस्थि । उसलाई हेर्दा मायाप्रेममा फसिसकेकी जस्ती लाग्दैनथ्यो । उसको सिउँदो जस्तै मन पनि खालि छ भनेर म ढुक्क थिएँ । श्रींगार बिनाको सुन्दर मुहारले मन पनि कन्चन भएको संकेत गर्दथ्यो ।

हामि बेला बेलामा जिस्किन्थ्यौं । उ मेरा मजाकहरु सुनेर मज्जाले हाँसीदिन्थी । म उसको हाँसोले झनै प्रोत्साहित भएर नानाभाँतीका कुरा गरेर उसलाई हसाइराख्थे ।

एकदिन फेसबुकमा मैले तिन-चार पटक म्यासेज गर्दा पनि उसले रिप्लाई गरिन । मैले जे लेखेर पठाए पनि उसले कुनै प्रतिक्रिया नै जनाइन ।

मैले म्यासेज लेख्न छोडेको करिब १० मिनेट पछी उ आफैले म्यासेज गरि “छुच्चो”

“के भयो?” मैले प्रश्न गरें ।

“हिजो च्याट गर्दागर्दै बाई पनि नभनी गयौ है । म कति बेर सम्म रिप्लाई कुरेर बसिराखें ।“ उसले लेखि ।

“सरि” मैले लेखें ।

“नाटक नगर” उसले फेरी लेखि ।

“म किन बाई नभनी गएको थाहा छ?” मैले सोधें ।

“छैन । भन” उसले भनि ।

“मलाइ बिदाइका पलहरु नरमाइला लाग्छन्, त्यसैले म कहिल्यै बाई भन्दिन” मैले लेखें ।

“उफ् गफाडी बाँदर” उसले हाँस्दै रिप्लाई गरि ।

हाम्रो च्याट हुने क्रम हरेक दिन बढिरहेको थियो । म उसंग एकै छिन नबोली बस्न नसक्ने भइसकेको थिएँ । म अब उसलाई प्रेम प्रस्ताव राख्ने उपयुक्त पलको खोजीमा बसिरहेको थिएँ ।

एकदिन उसको र मेरो च्याट हुँदै थियो । हामि च्याटमा जिस्किदै थियौँ ।

“मैले यो सारा शहरलाई सलाई र आगो बिना जलाउन सक्छु नि ।“ मैले लेखें ।

“उफ़ गफाडी, कसरि सक्छौ?” उसले प्रश्न गरि ।

“केवल तिमि मेरो हात समाएर हिँडीदेउ, त्यति नै काफी छ यो सहर जलाउन ।“ मैले लेखें ।

“आमामामा साहित्यकार को साहित्य ।“ उसले लेखि ।

“साँचो कुरा गरेको हो ।“ म बिस्तारै उसलाई प्रेम गर्छु भन्ने कुरा ओकल्न खोज्दै थिएँ ।

“तिम्रो हात समातेर हिड्दा मलाइ मार्दैनन् क्या हो ।“ उसले लेखि ।

“कसले मार्नु नि ।“ मैले प्रश्न गरें ।

“मैले जसको हात समातेर हिड्नु पर्ने हो, उसैले नि ।“ उसले लेखि, मैले बुझिन ।

“मतलब?” मैले उसलाई सोधें ।

“अरे उल्लु, बुझ न ।“ उसले भनि ।

“नबुझेको कुरा कसरि बुझिदिम । बुझाउ न ।“ मैले लेखें ।

“मेरो ब्वायफ्रेन्ड ले नि ।“ उसले हाँसेको इमोजी सहित मेसेज लेखि ।

म ढुक्क थिएँ उसको कोहि ब्वायफ्रेन्ड छैन भनेर त्यहि पनि कता कता डर लाग्यो ।

“तिम्रो ब्वायफ्रेन्ड हुनु पर्यो नि” मैले लेखें ।

“किन म त्यस्तो नराम्री छु र बाँदर?” उसले लेखि ।

“”राम्री केटि सबैको ब्वायफ्रेन्ड हुनुपर्छ भन्ने छ र?” मैले उसलाई सोधें ।

“त्यो त छैन । तर किन पत्याएनौ त तिमीले?” उसले सोधी ।

“मेरो भित्रै बाट आएको फिलिंगस हो ।“ मैले भने ।

“त्यो फिलिंगस् गलत हुन सक्दैन र?” उसले सोधी ।

“धेरै जसो सहि नै हुन्छ र यसपाली पनि सहि नै छ ।“ मैले आत्मविश्वास का साथ उत्तर दिएँ ।

“यसपाली गलत भयो आलु ।“ उसले ठुलो हाँसोको साथ रिप्लाई गरि ।

“कसरि?” मैले सोधें ।

“मेरो ब्वायफ्रेन्ड छ के उल्लु ।“ उसले लेखि ।

“मैले पत्याउँदिन ।“ मैले भनें ।

“एकैछिन पख ।“ उसले लेखि ।

उ केहि बेर हराई । त्यसैले मैले मोबाइल छेउमा राखेर टिभी हेर्न थालें । एकैछिनमा मोबाइलमा नोटिफिकेशन आयो । प्रशंसा सेन्ट यु अ फोटो । नोटिफिकेशन मा लेखिएको थियो ।

उसले पठाएको फोटो देखेर म चकित भएँ । मेरा खुट्टाहरु काँपे । बोलि फुत्किएन । एउटा केटासंग अँगालोमा बाँधिएको फोटोमा प्रशंसा थिइ । उनीहरु क्यामरामा हेरेर मुस्कान दिंदै थिए । यता मेरी गालामा भने चिटचिट पसिना आइसकेको थियो ।

“देख्यौ नि बाँदर, अब पत्यायौ नि?” उसले ठुलो हाँसो सहित म्यासेज लेखि ।

“कस्तो लाग्यो हाम्रो जोडी?” फेरी उसैले प्रश्न गरि ।

मलाइ मनमा डढेलो लागेजस्तो महशुस भयो । भतभती पोल्यो । उसले नदेखेको भए पनि मैले झुटो मुस्कान मस्काएं, आफ्नै भाग्य माथि । माया गर्नेहरुले र आफ्नाहरुले त आँखामै पिडा देख्छन् रे । तर उ त पराइ थिइ, मेरो  झुटो मुस्कान बाटै मक्ख पार्थि होलि मेरो अगाडी भएको भए ।

“राम्रो रैछ केटा” अमिलो मनबाट यति शब्द निस्किए ।

“रैछ होइन, हुनुहुँदो रहेछ भन ।“ उसले फेरी हाँसोका साथ रिप्लाई गरि ।

“अरु पनि हेर्छौ?” फेरी उसैले सोधी ।

“भयो मलाइ बाहिर जानु छ, बाइ” मैले लेखें ।

यति लेखेर मैले मेसेन्जर बन्द गरें । मेरो आवाज भासिएको थियो, अनि उसले पठाएको फोटो हेरेर थुक घुटुक्क निलेको थिएँ । त्यस पछि त्यस दिन मेरो कुनै काममा पनि ध्यान गएन । मुटुले ठुलो चोट खाएको महशुस भइरहेको थियो ।

उसको त्यो सानो च्याप्टो आँखा अनि त्यसलाई सुहाउने गोलो कालो नानि । च्याप्टो अनि अत्यन्तै चिल्लो अनुहारको शोभा बढाउने तरिकाले बसेको नाक, सानो चिउँडो अनि ति सबै बराबर ध्यान आकर्षित गर्न सक्ने गुलाबी ओठ । मलाइ यी सबैको याद आइरहेको थियो । उसको आकृति मेरो मानसपटल बाट हराएकै थिएन । उसको आकृति सहित मलाइ याद आउंथ्यो उसको शृंगार बिनाको अनुहार जसलाई देखेर म उसको मन पनि कन्चन भएको कल्पना गर्थें ।

आखिर म त गलत रहेछु । मैले आफ्नो भाग्य लाइ सराप्दै अर्को दिन कलेज पुगेँ । कलेजको दोस्रो तल्लामा मेरो क्लास थियो अनि चौथोमा उसको । दुइ तलाको फरकमा हामि क्लासमा बस्दा पनि उ मेरो मुटुको एकदमै नजिक छे जस्तो लाग्ने गर्थ्यो । तर त्यस दिन त्यस्तो लागेन । जीवनमा पहिलो पटक उ मेरो मुटु बाट टाढा रहेको अनुभूति मैले गरें । लाली चढेको उसको गालामा मैले पराइको ओठको छाप देख्न थालेको थिएँ । त्यस दिन उ कलेजमा भेटीइ पनि । मैले उसंग नजर जुधाउन सकिन । मेरो मुटुको त्यति सामर्थ्य रहेन, त्यसैले मैले उसैको अगाडी हुँदा पनि उसलाई नदेखे जस्तै गरेर हिंडे । उसले त पक्कै मलाइ हेरेर मुस्कान दिन खोजिरहेकि थिइ होला तर म उसको मुस्कान फर्काउन सक्ने अवस्थामा थिइन त्यसैले उसलाई नदेखे जस्तै गरिदिएँ ।

ओहो! संसार पनि कस्तो । अस्ति सम्म जसको अनुहार हेर्न म तड्पिरहेको हुन्थें, जो संग बिताएका, बोलेका हरेक पलहरु मेरो जीवनका सबै भन्दा खुशीका पलहरु हुन्थे, जसको मुस्कान नै मेरो सारा दुख अनि पिडा भुलाउने माध्यम थियो । आजको उसैको अनुहार हेर्न नसक्ने भएको थिएँ म । आज म ठुलो पिडामा रहँदा पनि उसले दिएको मुस्कान हेर्न नसक्ने भएको थिएँ ।

त्यस दिन घर गएर फेसबुक चलाइन । मलाइ थाहा थियो, फेसबुक चलाए म उसंग नबोली बस्न सक्दिन भनेर, त्यसैले त्यस दिन म त्यो संजाल बाट टाढा बसेँ । अर्को दिन कलेजमा फेरी उसलाई देखेँ, अनि हिजोकै कहानी दोहोरियो । फेरी मैले उसको आँखामा हेर्न सकिन । त्यस दिन घर पुगेर केहि बेर मन अन्तै डुलाउन, पिडा बाट मुक्त हुन भनेर किताब हेरें । किताबले के पिडा मुक्त गरोस्, झनै पिडा बढायो किनकि किताब खोल्दा पनि मैले किताबमा उसकै तस्बिर भेटें । किताब बन्द गरें, बाहिर घुम्न निस्कन्छु भनेर कपडा खोज्न दराज खोलें । दराजमा पनि कपडाको बिचमा उसैको फोटो भेटें । उ हुन त पराइकि थिइ तर पनि मेरो कोठाको कुना कुनामा थिइ । उसका फोटो, उसले गाएका गित, उसले बेलाबेलामा भानिराखने शब्दहरु जस्तै “आलु” “बाँदर” “उल्लु” मेरो दिमागमा घुमिरहन्थे । उसलाई नसम्झी म उ बाट केहि पर बसुँ भन्दा मलाइ झनै उसका यादहरुले सताउँथे ।

मोबाइल बज्यो । हेरें, मेसेज आएको रहेछ ।

“अनलाइन आउ बाँदर” प्रशंसाको मेसेज थियो ।

“आएर के काम” मैले रिप्लाई गरें ।

“आउ नत्र कुटाइ खान्छौ” उसले मेसेज फर्काइहाली ।

“भाग्यमा तिमि बाट मैले त्यति नै पाउनु लेखेको छ होला ।“ मैले रिप्लाई गरें ।

“ह्या कस्तो होला, अनलाइन आउ न । के भयो के तिमीलाई एक्कासि ।“ उसले लेखि ।

हुन त धेरै कुरा भएको थियो तर उसलाई भन्न सक्ने अवस्थामा म थिइन । त्यसैले चुप चाप अनलाइन आएँ । केहीबेरमा प्रशंसाको मेसेज आइहाल्यो ।

“आउनुभयो” उसले लेखि ।

“तिमीले यहि चाहान्थ्यौ होइन ?” मैले लेखें ।

“के भयो तिमीलाई एक्कासी?” उसले प्रश्न गरि ।

“केहि छैन । बस केहि दिन सबै कुरा बाट टाढा बस्न चाहान्छु ।“ मैले भनें ।

“सबै कुरामा म पनि पर्छु र?” उसले गम्भीर प्रश्न सोधी ।

“खोइ” मैले उत्तर दिएँ ।

“छोड नभन्ने भए नभन ।“ उसले लेखि ।

भन्न कसरि सक्थें र । उसलाई भन्ने हिम्मत भएको भए सायद यो स्थिति पनि त आउंथेन होला नि । मैले सोचें ।

“त्यस्तो केहि होइन के । बरु अस्तिको फोटोको बारे भन ।“ मैले नमिठो मन लिएर परेको बारे प्रश्न राखें ।

“उ कमल, उ पनि इन्जिनियरिंग नै पढ्दै छ । थाहा छैन कसरि भयो तर म एकदमै खुशी छु ।  जीवनमा कहिल्यै प्रेममा इन्ट्रेस्ट लागेन तर अहिले आएर मैले सायद सहि मान्छे भेटें त्यसैले हि इज माइ फस्ट लभ“ उसले जवाफ फर्काइहाली ।

“ए ए फस्ट लभ पो” मैले यत्ति मात्र लेखें ।

“अँ नि । मलाइ माया प्रेम भन्ने कुरा पहिले बकवास लाग्थ्यो ।“ उसले लेखि ।

मैले केहि रिप्लाई गरिन ।

“के भयो के तिमीलाई? सबैलाई हँसाउने मान्छे किन यस्तो चुप?” उसले सोधी ।

“त्यस्तो केहि होइन के ।“ मैले कुरा नओकल्नु नै बेस सम्झिएँ ।

“कि कोहि नयाँ गर्लफ्रेन्ड बनाएर मसँग बोल्न छोडेको ।“ उसले हाँस्दै लेखि ।

“नयाँ रे? पुरानो को थियो र?” मैले आवेगमा सोधें ।

“म के त । म केटि अनि तिम्रो साथि पनि, अनि भइन त गर्लफ्रेन्ड ।“ उसले हाँसेको इमो सहित मेसेज लेखि । मलाइ उसको व्यंग्य मन परेन । म चुपचाप बसिरहें, रिप्लाई नगरी । मेरो एकोहोरो र अव्यक्त प्रेममा उसले निर्मम प्रहार गरि ।  मलाइ नराम्ररी वाण हानेर जिस्काए जस्तो लाग्यो । म विवश भएर छातीलाई फलाम बनाएर थापिरहें ।

हिजो बेलुकी नै थामिन खोजेको थियो मेरो मनको झरी तर आकाशबाट त अझै निरन्तर झरिरहेको थियो । मन रुँदा आँशु बग्नैपरने कुनै कानुन त छैन । तर बगिदिए राम्रो । अक्सर आफु रुन नजान्नेहरुले नै अरुलाई रुवाउँछन् ।मनको वह पोख्न नसक्दा गहिरा रहरहरुमा हाम्फालेका प्रेमीहरु देखेको छु मैले! मोबाइल फेरी करायो । उसैको म्यासेज थियो ।

“ओई के भो तिमीलाइ । रिप्लाई पनि गरेनौ त!” उसले लेखि ।

“माया नपाउनेहरुले त हाँस्नलाइ मुस्कान पनि पाउदैनन प्रशंसा ।“ म गम्भीर भएँ ।

“के रे? कसरि माया पाएनौ तिमीले? यति धेरै माया गर्ने म छु नि त । के मलाइ बेस्ट फ्रेण्ड मान्दैनौ र तिमीले?” उसले मलाइ ठुलो दुविधामा पारि ।

मनले त उसलाई प्रेमिका नै मानेको थियो । जीवनसाथी को सपना देखेकिलाई त्यो सपना जलाएर साथीमात्र बनाउछु भन्ने जति गाह्रो केहि रहेनछ जिन्दगीमा । तर म गाह्रो नै सजिलो मान्ने मान्छे थिएँ ।

“मान्छु “ रिप्लाई गरें ।

“संगै भएको भए हात मिलाउँथे, संगै छैन त्यसैले थ्यांक यु ।“ उसले भनि ।

मैले उसले मसंग हात मिलाएको कल्पना गरें । उसले मेरो हात समाती । मैले पनि सुस्तरी उसको हात समातें । हाम्रा हातका रेखा हरु केहि सेकेन्ड जोडिए अनि अलग भए, सायद उसंग टाँसिन खोजेको मेरो मन जसरि । केहीबेरमा म झस्किएँ । कल्पनाको संसारमा धेरै नै डुबे जस्तो लाग्यो ।

ति दिन पछी पनि मैले चाहेर पनि प्रशंसा संग पहिले जसरि खुल्न सकिन ।

म केहि दिन १० बजे पछी मात्र कलेज गएँ । त्यस दिन लगनखेल जाने गाडीहरु मध्य म चढेको माइक्रो पनि एउटा थियो । खुट्टाहरु बिचरा सिटमुनि उभिएका थिए अनि टाउको भने हावामै अडिएको थियो । वाह! क्या न्याय छ प्रकृतिको । गाडीमा एफएम बजिरहेको थियो । एफएम को आरजे ले एक्लै फलाकिरहेको थियो “तपाइंलाई मनपर्ने गित डेडीकेट गर्नुस, हामि बजाइदिन्छौ । त्यस्ता मन परेका गित त मेरो मोबाइल मै थियो, मैले मनमनै भनें । म फिस्स हाँसे, छउकी केटि भने मलाई हेरेर हाँसिन किनकि छेउको सिटमा त मान्छे नै थिएन । म एक्लै थिएँ सिटमा । अचम्म, कहिले सिट पाइदैन अनि कहिले एक्लै यात्रा गर्न पाइन्छ ।

फलानो ले फलानो लाइ सुनाउन चाहेको गित भन्दै थियो एफएम । मैले पनि सोच्न थालें, एउटा गित प्रशंसा लाइ सुनाइदिउँ, अन्जु पन्त को गित “तिमीले पराइ ठानेपछि” । उसको लागि म अब पराइ त भएँ नि । होइन बरु “उ जीतेर गई या हारेर गई, नतिजा आफैँ तीर पारेर गई” भन्ने गित सुनाउँछु । पराईको सामिप्यमा गएर उसले जिती वा हारी थाहा भएन तर मेरो मुटुलाई हराएर उसले नतिजा त् आफैं तीर पारेर गई । फेरी सोचें होइन, बेलुका बरु उसलाई लिंक पठाईदिन्छु । म थापाथली पुगेँ, एक बथान मानिसहरु जेब्राक्रस बाट बाटो काटिरहेका थिए । जेब्रा क्रस बाट बाटो काटेर उनीहरु दुइ शय रुपयाँ बचाइरहेका थिए ।  यहाँ मान्छे काट्ने हरु बाटोमा हिड्छन् विचरा बाटो काट्नेहरु जरिवानामा पर्छन् ।

 

म कुपण्डोल झरें । एकैछिनमा कलेज पुगेँ । कलेजमा पनि उसैको यादले मलाइ छाडेन, सताइरह्यो अझ बाहिर निस्कियो कि उसलाई देखिहाल्थे, झनै यादले सताउँथ्यो । उसका यादहरु थुप्रिएर मन पनि डस्टबिन जस्तै भएको थियो, त्यहाँ केहि को कमि थियो त त्यो थियो “फोहोर मलाइ” लेखेको ट्यागको ।

म सधैं बिरक्तिमा सुस्ताएर बस्न थालें ।  मनलाई निचोर्दै हाँस्न बाध्य अधरहरु कलेटिको पाप्रासंगै सम्झौतारुपी थुकहरु निल्न बाध्य हुन थाले । मेरो मन सास्तिहरुको पाहुपास भित्र आफुलाई चाबी लगाएर बसेको थियो ।  मेरो मन त पुरानै स्वतन्त्र दुनियामा फर्किने कोशिशमा थियो तर मेरो मन ति तालाका प्वालहरुमा चाबी हुल्न नै डराईरहेको थियो किनकि चाबी खोल्ने हातहरु काँपी रहेका थिए, उसको प्रेमीले म माथि हाँस्ने हाँसोको त्रासमा ।

मेरो मन हरेक दिन त्यसरी नै जली रह्यो । उसले अनलाइन हुँदा सधैं मेसेज गरिरहन्थी त्यसैले उसँग कुरा त सधैं भइराख्थ्यो तर म उसंग पहिले जसरि खुल्न, बोल्न कहिल्यै सकिन । मेरो दिल रापिलो आगो बनि हरदिन जली नै राख्यो । न मेरो मुहारमा कुनै प्रकारको खुशी थियो अनि न त मेरो अधरमा हाँसो । मेरो सारा सरिर सुस्ताउन थालेको थियो जसले गर्दा म अत्यन्तै कमजोर भइसकेको थिएँ । जोश, जाँगर सबै म बाट खोसिएर मन निरश बनेको थियो । मेरा सारा उत्साह सधैं भित्र भित्र गलिरहन्थ्यो । मेरो मन बसमा थिएन अनि मेरो दिल पनि बेचैन भइसकेको थियो । मेरो मनभरी सारा पिडा आंधी बनि चलिरह्यो, निरन्तर जसले जुनसुकै बेला प्रकोप ल्याउन सक्थ्यो ।

केहि दिन पछी उसको र मेरो कलेजको लाइब्रेरीमा भेट भयो ।

“ओहो! तिमीलाई भेट्न त लाइब्रेरीमा पो आउनु पर्ने रहेछ ।“ प्रशंसा ले भनि ।

मन त तिम्रो मुटुमा बसेर कहिल्यै अन्त खोज्नै  नपर्ने बनूँ भन्ने थियो तर तिम्रो मुटुमा मेरो लागि ठाउँ कहाँ । मनमनै भनें ।

“किन टोलाको? केहि त बोल ।“ उसैले भनि ।

“अँ के बोलुँ ।“ मैले भने ।

“तिमि त आजकल पुरै चेन्ज भयौ है?” मेरो फुंग उडेको र टोलाइरहने अनुहार हेरेर उसले सोधी ।

“किन र?” मैले भनें ।

“केहि बोल्दैनौ नि त । आरुलाई हँसाईराख्ने मान्छे आफु नै हाँस्न छोडीसक्यौ । साँच्ची कसैलाई मन पराउँछौ कि के हो । को हो त्यस्तो भन न म कुरा गरेर फकाईदिन सक्छु । साथीको लागि यति त गर्न सक्छौ नि “ उसले भनि ।

“सक्दैनौ प्रशंसा ।“ मैले भने ।

“भनेपछि कुरा बुझियो । कोहि त पक्कै रहेछ । ल भन त भन म फकाईदिन्छु उसलाई । सक्छु के । बेस्ट फ्रेण्ड भएपछी यति पनि गर्न सक्दिनँ र! मैले भने पछी नाइ भन्न नसक्ने पारिदिन्छु ।“ उसले फुर्तिसाथ बोलि ।

“सोचेर बोल है एकपटक ।“ मैले भने ।

“सोचेरै बोलेको हो ।“ उसले फुर्ति गरि ।

“फेरी सोच । किनकि आफ्नो मनलाई  फकाउन जति गाह्रो केही हुँदैन जिन्दगि मा ।“ मैले भनें ।

“के रे? के भनेको?” उसले भनि ।

“भयो छोड ।“ मैले भनें ।

“नाइँ भन न के ।“ उसले जिद्दी गरि ।

“तिमीले आफ्नो मनलाई फकाउन सक्छौ र? तिमि नाइँ नभन्न सक्छौ र?” मेरो मुटु ढक्क फुल्यो । मैले मेरो अव्यक्त प्रेम उजागर गरिदिएँ ।

“हाहाहा आज बल्ल यतिका दिनमा तिमीले मजाक गर्यौ ।“ उसले अझै बिश्वास गरिन ।

“मैले मजाक गर्न छोडीसकें प्रशंसा । आफ्नै मनको भावनाको मजाक बनाउने पाप गर्न सक्दिन म । मैले मन पराएकी तिमि नै हौ । अब के तिमि आफ्नै मनलाई प्रेम प्रस्ताव गर्दा नाइँ नभन्ने गरि फकाउन सक्छौ र । आइ लभ यु प्रशंसा ।“ मेरा आँखा रसिला भए ।

“तिमीलाई थाहा छ, मेरो प्रेमी छ ।“ उसका आँखा हरु पनि भिजेका थिए या मेरा रसिला आँखा ले त्यस्तो देखे, मैले पत्तो पाइन ।

“त्यसैले त भनेको नि तिमीले केहि गर्न सक्दैनौ मेरो लागि ।“ म बग्न लागेको आँशु लुकाउन अर्कोपट्टी फर्किएँ ।

“ओई म गएँ ल । पछी कुरा गरम्ला ।“ यति भनेर उ दगुर्दै बाहिर तीर गइ । सायद उ पनि आँशु लुकाउन चाहान्थी । के को आँशु भगवान जानोस् !

त्यस पछी प्रशंसाको म प्रतिको व्यवहारमा परिवर्तन आउन थाल्यो । ऊ मलाइ धेरै नै केयर गर्थी । मलाइ सोधिरहन्थी । मलाइ खोजिरहन्थी ।

“तिमि जस्तो साथि त कहिल्यै पाउँदिन होला मैले ।“ उसले मलाइ भन्थी ।

म पनि उ जस्तो साथि पाएर आफुलाई भाग्यमानी ठान्न थालें । उसलाई जीवनसाथी बनाउन नपाउनु चाँही जतिबेला पनि मनमा खट्किरहन्थ्यो ।

म उसको खुशीका लागि उ बाट टाढा हुन चाहादा चाहादै उसंग झानी नजिक हुन् पुगेँ । सहि गलत! मैले केहि सोचिन । त्यस बेला लाग्थ्यो प्रशंसा संग टाढा रहनुनै  भविष्यमा प्रशंसाको खुशी हो । तर अहं सकिन, म त झनै नजिक भएँ । यतिबेला सम्म मेरा केहि साथि हरुले मैले प्रशंसा लाइ प्रेम गर्छु भन्ने कुरा थाहा पाइसकेका थिए ।

एकदिन प्रशंसा सङ्ग च्याट गर्दै गर्दा मैले संगै कलेज जाने प्रस्ताव राखें, बस स्टप बाट । बस स्टप कलेज बाट १० मिनेट टाढा थियो ।

“म आउने बेला ढिला हुन्छ । अनि म सँग कोहि न कोहि भेट हुन्छ गाडी मा ।“ उसले भनि ।

“केहि हुदैन ढिला भए पनि । म कुर्छु ।“ मैले भने ।

“तिमीलाई इग्जाम दिन जान ढिला हुन्छ के ।“ उसले फेरी भनि ।

“तिम्रो पनि त इग्जाम छ नि ।“ मैले अटेरी गरें ।

“ल ल बाँदर, ७:१५ मा आउँछु ।“ उसले आफ्नो जिद्दी छोडी ।

अर्को दिन म समय मै त्यहाँ पुगेँ । केहि बेर कुरेपछी नेपाल यातायात आयो, विहानै खचाखच मान्छे भरेर । मैले प्रशंसा आउँछे भनेर त्यतै तीर नजर लगाएँ ।

प्रशंसा गाडी बाट झरी । गाडी बाट झरेर उसले फेरी गाडीको भित्र तिरै आँखा लगाई । उसैको पछिपछि एकजना केटा निस्कियो, हाम्रै कलेजको केटा ।

मेरो नजिक आए पछी प्रशंसाले जाउँ भनि । म उसले भनेको कुरा पालन गर्दै हिँडे । म चुपचाप उनीहरुको कुरा सुनिरहें । केहि बेरमा त्यो केटा आफ्ना साथि हरु संग आउंछु भन्दै हामि बाट छुट्टियो ।

“देख्यौ बाँदर, कोहि न कोहि आउँछ भनेको होइन मैले ।“ त्यो केटा जाने बित्तिकै पुलुक्क मेरो मुखमा हेरेर उसले भनि ।

“हो रहेछ । त्यहि पनि म सधैं तिमीलाई कुर्छु ।“ मैले भनें ।

“पर्दैन कुर्न! मेरो गाडीमा कसैसँग भेट भइहाल्छ, तिमि रिसाउँछौ अनि ।“ उसले भनि ।

कुरा त ठिकै गरेकी हो । उसंग केहीबेर बोल्न पाइन्छ भनेर मैले कुर्दा अरु कोहि आइदिदा मलाइ रिस त उठ्थ्यो । तर मेरो मन मानेन ।

“होइन, जे भए नि कुर्छु ।“ मैले भनें ।

हामि यसरि नै भालाकुसारी गर्दै कलेज पुग्यौ, अनि आ आफ्नै क्लासमा गयौ ।

यसरि केहि दिन सम्म हाम्रो भेट हने क्रम जारि रह्यो । एकदिन त मैले उसलाई ८ बजे सम्म कुरें, उ आइन । धन्न मेरो इग्जाम नै छुटेन । मैले उसलाई त्यहाँ पर्खिरहेको कलेजका धेरै जनाले देखेका थिए ।

“अब हामि संगै नजाने ।“ उसले अचानक मेसेज गरि ।

“किन?” मैले सोधें ।

“मलाइ जसले पनि कस्तो घुरेर हेर्छ, तिमि संग हिंड्ने बेला । यसपाली मान, म आउँदिन अब, मलाइ कहिल्यै नकुर ।“ उसले भनि ।

उसंग केहि बेर पनि भेटेर कुरा गर्न पाउँदा मेरो मनले धेरै राहत महसुस गरेको थियो, त्यहि बेला उसले अब नभेट्ने भनि ।  मन चिसिक्क भयो ।

म मौन बसेँ ।

“मेरो साथि हरुले पनि तिमि सँग सधैं नहिंड भनेको छन् । हामि पो साथि भनेर हिँडेको, अरुले के सोच्छन् के थाहा ।“ उसले भनि ।

उसको कुरा मानें । त्यसपछि उसको र मेरो विहान भेट हुन छोड्यो । विहान भेट हुन छोड्नु भनेको हाम्रो कहिँ पनि भेट हुन छाड्नु थियो । उसंग कलेजमा टाढा बाट देख्दा गर्ने “हाइ” मै भेटघाट सिमित बन्यो ।

उसलाई भेटेका ति दिनहरु मैले आफ्नो डायरीमा जस्ताको त्यस्तै लेखेर राखें । ति पलहरु मेरा लागि अनमोल थिए । जीवनको जुनसुकै मोडमा पनि मलाइ ति केहि दिनहरु याद आउने वाला थियो । जे होस् पिडा त धेरै कम हुने गर्थ्यो, उसंगको सानो भेटले । तर खोइ को निष्ठुरी बनिदियो, मेरो खुशी देख्न सकेन अनि मलाइ पिडामा तड्पिएको देखेर रमायो, हाम्रो भेटमा आँखा लाग्यो, भेट हुन छोड्यो ।

ति दिन पछी मेरो मन फेरी पीडाको भुमरीमा फस्न थाल्यो । मैले हरदिन आँशुका धाराले हाम्रो प्रेमलाई सिंचाई गरिरहें तर न त कुनै हरियाली छायो अनि न त कुनै पालुवा नै हाल्यो, हरपल हरदम खडेरी नै छाइरह्यो । प्रशंसा र मेरो सम्बन्ध पनि त्यो क्षितिज जस्तै भएको थियो, भ्रामिक नजरमा सँगै छौ जस्तो तर वास्तविकता निकै भिन्न । उदास हुँदा धुलाएर राखेका उसैका फोटाहरु हेर्थे, मानौं कि उसको तस्बिरमा सिंगो हस्पिटल नै अटाएको थियो । केहि बेर त त्यो उदास मन खुशी हुन्थ्यो तर त्यो क्षणीक हुन पुग्थ्यो । केहि बेरमा मन पुरानै अवस्थामा फर्किन्थ्यो ।

उसले जबजब मेरो अगाडी आफ्नो प्रेमीको कुरा गर्थी, मेरो मन जल्ने गर्थ्यो । मन चसक्क हुन्थ्यो ।

“हेर न कमल ले मलाइ दिएको गिफ्ट ।“ उसले घडी को फोटो पठाई ।

“जो चाँही ढिलो आउँछ । भनेको बेला कहिल्यै आउँदैन, जतिबेला पनि कुराउँछ उसैले घडी गिफ्ट दिन्छ भन्या ।“ उसैले भनि ।

उसले रिसाए जस्तो स्वांग पारि ।

“बरु तिमि जस्तो साथि नै ठिक, सधैं टाइम मा त आउँछौ, इग्जाम छाडेर पनि मलाइ कुरेर त बस्छु ।“ उ हांसी ।

उसलाई के थाहा उसको जिन्दगीमा म कति ढिलो आइपुगें । सायद कमल मभन्दा धेरै नै छिटो थियो । उ टाइममा पुगेको थियो । मैले कमल लाइ भेटेको त थिइन, देखेको चाहिँ थिएँ ।

एकदिन च्याट गर्दै गर्दा उसले भनि “ गर्लफ्रेण्ड भएको भए तिमीले कति झगडा गर्थ्यौ होला है?”

“किन?” मन अमिलो पारेर सोधें ।

“छिट्टै रिसाउँछौ नि त ।“ उसले भनि ।

“त्यसैले त तिमीले मन नपराएको हो नि ।“ मैले उसलाई भनें ।

“मैले तिमीलाई मन पराउँदिन भनेर कसले भन्यो र?” उसले प्रश्न राखी ।

“मन नपराउने भएर त मेरो प्रेम प्रस्ताव अस्विकार गर्यौ नि ।“ मैले भनें ।

“म तिमीलाई मन पराउँछु । मन पराउनु भनेको के हो र? राम्रो मान्नु । मैले तिमीलाई कहिले राम्रो मानिन र? राम्रो नमानेको भए तिमि सँग यति नजिक हुन्थें होला र? मलाइ तिमि एकदमै स्विट लाग्छ । अँ, यो चाँही मान्छु कि म माया अरुलाई नै गर्छु । तिमिसँग बोल्नु भन्दा अगाडी नै मलाइ अरु कसै माथि फिलिंग्स आइसकेको थियो ।“ उसले गम्भीर उत्तर दिई । सायद उसले च्याटमा यति लामो उत्तर दिएको यो पहिलो पटक थियो ।

“माया पाउने हाम्रो भाग्य कहाँ ।“ मैले लेखें ।

“किन छैन भाग्य । मलाइ छोडेर अरुलाई हेर त तिमीले एक से एक केटि पाउँछौ । म त के हो र? म जस्तो त सय जना पाउँछौ । मैले अरुको हात समातिसकें । मैले कसैलाई धोका दिदिन अनि दिनु पर्ने कुनै कारण पनि छैन ।“ उसले भनि ।

म केहि बोलिन । मौन बसेँ ।

“तिमि केही नसोची बस । तिमि खुशी रहेर बस । किन सम्झिछौ यी सबै कुरा ।“ उसले भनि ।

“तिमि मेरो ठाउँमा बसेर हेर, केहि नसम्झी बस्न सम्भव छ र?” मैले भने ।

“त्यसो भए तिमि पनि मेरो ठाउँमा बसेर हेर न, के गर्थ्यौ मेरो ठाउँमा भएको भए?” सायद उ गम्भीर बनि ।

उत्तर त मज्जाले दिन सक्थें तर म मौन बसेँ । उसलाई सिधा उत्तर दिईन बरु “म त बोल्थिन होला” जस्ता उत्तरहरु दिएँ । मैले केहि सिरियस कुरा गरेपछि उ चिन्तित हुन्थी त्यसैले म त्यस्तो कुरा नगर्नु नै उचित ठान्थें । यसपाली पनि मैले उसलाई उत्तर नदिएर गम्भीर बन्न दीइन, उसलाई चिन्ता लाग्ने चिन्ता मेरो मनमा पर्यो, जसले गर्दा मनाले बोलेको उत्तर मुखले बोलेन । मन मुख खोल्न चाहान्थ्यो, मुख खोलिन तयार थिएन । त्यसैले उसको स्थानमा बसेर मैले के गर्थें भन्ने कुरालाइ रहस्य नै बनाएर राख्न मैले उचित ठानें । उसलाई मैले उत्तर दिन नसकेको भान गराएर म उसैलाई खुशी देख्न चाहान्थे ।

नियतिले पनि कस्तो खेल खेलिदिन्छ, मनकी मायालाई भेटाउन त भेटाइदियो तर मेरो विवशता बस छुटेको यात्रु जस्तो बनिदियो । मेरो मन एक्लै एक्लै भौतारिरहन्थ्यो ।

प्रशंसा मलाइ अति नै केयर गर्थी । म उसको अगाडी बलियो बन्दै उसका आवश्यकताहरुमा साथ दिंदै उसको मन जित्न चाहान्थे तर नियतिले उल्टो खेल खेलिरहेको थियो । म प्रशंसाको नजरमा झन्-झन् कमजोर र बेसहारा बन्दै थिएँ । म उसको प्रेम चाहान्थें तर उ मलाइ सहानुभूति र दया दिईरहन्थी । मेरो प्रेम अस्विकार गरेर उसले एउटा साथि बनिदिने गरि मलाइ दया गरेकी थिइ । म यति कमजोर थिएँ कि उसको दिल जित्न असमर्थ भएँ । म त केवल उसले फ्याँकेको दया टिपेर सुम्सुम्याउदै हिंड्थे । उसलाई अरु कोहि बाट खोसेर ल्याउन सक्ने तागत म मा थिएन तर उसलाई मेरो मन बाट निकाल्ने हक त मैले आफुले आफैंलाई पनि दिएको थिइन  नि !

प्रशंसा र म बीच यसरि नै कुरा चल्दै थियो । म उसको साथि बनेर बाहिरी रुपमा खुशी देखिन थालें । म त्यस्तो मान्छे हुन थालें जो दिनभरी दोस्रोको पिडामा साथ दिएर साँझ परेपछि एकान्तमा गएर आँशु बर्साउँथें । सायद त्यो बेला मैले भुलेको रहेछु, एकोहोरो प्रेम गर्नेले रोएर मन हलुका गर्ने अधिकार पनि गुमाईसकेको हुन्छ भनेर । खोइ उसले मेरो प्रेम कहिल्यै देखि कि देखिन । उसले मैले माया गर्छु भन्ने कुरा त देखि होला तर सायद उसले मेरो प्रेमको गहिराइ देखिन । सायद उसले कहिले पनि मेरो आँखाहरुमा गहिरिएर हेरिन, त्यसैले मेरो प्रेमको गहिराइ देखिन ।

मेरा साथिहरु मलाइ प्रशंसा सँग नजिक भएको देखेर मलाइ देवदास भन्न थालिसकेका थिए । मलाइ पनि कता कता कतै म त्यहि देवदास बन्ने त होइन भनेर सताउँथ्यो । म उसंग छुट्टिएर साँच्चिकै देवदास बन्ने त होइन भन्ने संसयले पिरोलिन्थें । झरेका आँशु, टुटेको दिल अनि गरिएको बिश्वास फिर्ता लिन मिल्ने भए सायद म धेरै नै धनि र सुखी व्यक्तिमा परिमार्जित भइसक्थें होला ।

एकदिन घर बसेर फेसबुक चलाउँदै थिएँ, मेसेज रिक्वेस्ट आयो । “र्याणडम परसन” नाम गरेको फेसबुक आइडी बाट मेसेज रिक्वेस्ट आएको थियो । मलाइ त्यो व्यक्ति को होला भनेर उत्सुकता जाग्यो । मेसेज रिक्वेस्ट एसेप्ट गरें । मेसेजमा “ब्रो” लेखिएको थियो ।

“हजुर” मैले जवाफ फर्काएँ ।

“तिमि टाढै बसेको राम्रो” उसको मेसेजमा लेखिएको थियो ।

मैले उसको कुरा बुझिन ।

“तिमि को? को बाट टाढा बस्ने भनेको?” मैले लेखें ।

“म जो भए पनि तिमीले मैले भनेको मान ।“ उसले लेख्यो ।

“के मान्ने त?” मैले सोधें ।

“तिम्रो बारे मैले धेरै हल्ला सुनिसकें ।“ उसले लेख्यो ।

“अब सुन्न नपरोस ।“ फेरी उसैको मेसेज आयो ।

“हल्ला? कस्तो हल्ला?” म अचम्ममा परेर सोधें ।

“तिम्रो र प्रशंसा को बारे ।“ उसले लेख्यो ।

मेरो र प्रशंसाको के हल्ला सुन्यो उसले? मैले उसलाई एकोहोरो प्रेम गर्छु भन्ने हल्ला कि उसले कहिल्यै पनि मेरो हात समात्न सक्दिन भनेको हल्ला? कि उसले मेरो प्रेम प्रस्ताव अस्विकार गरिदिएको हल्ला? मैले सोचें । म आश्चर्यमा परें ।

“के हल्ला सुन्यौ र?” मैले सोधें ।

“तिमि प्रशंसाको राम्रो चाहान्छौ भनें उसँग नबोल ।“ उसले लेख्यो ।

“किन नबोल्नु?” मैले ठाडै सोधें । मेरो रिसले सिमा नाघिसकेको थियो ।

“अब पनि हल्ला सुनें भने राम्रो हुने छैन?” उसले भन्यो ।

“तिमि को हो त भन ।“ मलाइ उसको परिचय जान्न मनलाग्यो ।

“म को हो संग तिमीलाई के मतलब? प्रशंसाको राम्रो को लागि भनेको । अब पनि मानेनौ भने राम्रो हुनेछैन । प्रशंसा लाइ खुशी देख्ने रहर छ भने, उ बाट टाढा बस । अब मैले केहि सुन्नु नपरोस् । यो आइडी त्यसैको लागि बनाएको हो । अब डीएक्टीभेट गर्छु । यो कुरा प्रशंसा अथवा अरु कसैलाई थाहा भए तिमि कलेज नआउँदा राम्रो ।“ उसले धम्कीको भाषा प्रयोग गर्यो ।

“म धम्कीले डराउँदिन । हिम्मत छ भने आफ्नो परिचय खुलाउ अनि कुरा गरौंला ।“ मैले उसलाई भनें ।

“ठिक छ । अब तिमि कलेज नआउ । मलाइ उल्टै धम्क्याउने ।“ उसले लेख्यो ।

मैले केहि लेखिन । मेसेज स्क्रिनसट गरें । केहि बेर पछी रिप्लाई गर्न खोज्दा उसले फेसबुक डीएक्टीभेट गरिसकेको रहेछ ।

आखिर त्यो व्यक्ति को थियो त । मलाइ उसको परिचय जान्न मन थियो तर जान्ने उपाए पनि थिएन । उसको आइडी फेक थियो । आखिर कसले मेरो र प्रशंसाको कुरा भएको देख्न चाहादैन । अझ उसले प्रशंसालाई नै खुशी बनाउन तँ नबोल भन्थ्यो । के प्रशंसा म संग नबोलेर खुशी हुन्थी र? अहँ म त्यो कुरामा बिश्वास गर्न सक्दिनथें । उसले मलाइ प्रेम नगरेपनि प्रेम जस्तै केहि त पक्कै गर्थी जुन अत्यन्तै मिठो थियो । उ मसँग नबोलेर खुशी रहन सक्दिनथी, यो कुरामा भने मलाइ पुरा विश्वास थियो । बरु मसँग नबोल्दा उ दुखि हुन्थी तर अहँ उ खुशी कदापि हुन्नथी ।

यो पर्दा पछाडिको खेलाडी को थियो त? मलाइ भित्र भित्र पिरोल्न थालिसकेको थियो । मैले यो कुरा प्रशंसा लाइ भनुँ कि नभनु, अकमक्क मा परेको थिएँ । उसलाई भन्दा त्यो व्यक्तिले थाहा पाएर प्रशंसा लाइ नै केहि गर्यो भने नि? अहँ, त्यस्तो त हुनै  सक्दैनथ्यो, उसको समस्या मसंग थियो प्रशंसा संग होइन । उसले जे गर्थ्यो त्यो पक्कै मलाइ नै गर्थ्यो । मैले प्रशंसा लाइ यो सबै कुरा भन्छु भन्ने सोचें । उसलाई च्याटमा भन्दा पनि भेटेर सबै कुरा भनुँ भनेर सोचें ।

उसको र मेरो च्याट चल्दै थियो ।

“तिमि र म अब कहिल्यै कलेज संगै नजाने?” मैले सोधें ।

“हाहा किन?” उसले प्रश्न गरि ।

“अस्तिनै जस्तै जाने कि भनेर नि ।“ मैले प्रस्ताव राखें ।

“कुनै काम पर्दा जाउँला नि ।“ उसले उत्तर दिई ।

मलाइ चिसिक्क भयो । कुरा प्रस्ट थियो, उसले भेट्न खोजिन । नत्र उसले यसरी कहिल्यै भन्दैनथी । मलाइ उसको मर्जीको खिलाफ जान मन लागेन । उसको यो रिप्लाई ले मन चसक्क भए पनि मैले स्वीकार गर्ने पर्थ्यो । उसलाई जबर्जस्ति मनाउने मेरो मनसाय थिएन ।

“ठिकै छ ।“ मैले रिप्लाई गरें ।

उसलाई भेटेर मैले सबै कुरा भन्छु भन्ने सोचेको थिएँ तर उसले त भेट्न नै इन्कार गरिदीई । उसलाई भेटेर एक त यो कुरा भन्न मन थियो, अर्को उसलाई भेटेर अनि उसलाई आफ्नै आँखाको नजिकै देख्दा मुटुले धेरै राहत महसुस गर्थ्यो । केहि बेरका लागि भए पनि मैले दुख अनि पिडा सबै भुलेर रमाइलो संसारमा जान पाउंथे ।

मलाइ अब ति म्यासेज ले धेरै पिरोल्न थालिसकेको थियो । कसैले व्यक्तिगत रिसिबी का कारणले मलाइ यस्तो गरेको थियो त? अहँ, म यो पनि कुनै हालतमा मान्न तयार थिइन किनकि मसंग व्यक्तिगत रुपमा त्यसरी नराम्रो सम्बन्ध भएका व्यक्ति कोहि पनि थिएनन् । मेरो मनमा ठुलो त्रास उत्पन्न भइसकेको थियो अनि त्यो व्यक्तिको कायरता माथि हाँसो पनि उठिरहेको थियो ।

मैले प्रशंसा सँग यो कुरा नगरेकै ठिक भनेर चुपचाप बस्ने निर्णय गरिसकेको थिएँ । मलाइ थाहा थियो, उसलाई मैले यो कुरा भन्ने भने उसाले धेरै नै चिन्ता गर्थी । मलाइ उ चिन्तामा परेको देख्न मन थिएन । उसलाई नभनी केहि दिन बिते । उसलाई नभनेर मैले ठिकै गरेको छु जस्तो लाग्थ्यो । तर केहि दिन पछी यस्तो कुरा लुकाएर राख्दा पछी उसले थाहा पाइ भने झनै नराम्रो होला भनेर मैले उसलाई यो सबै कुरा भन्ने निधो गरें । उसलाई मैले सबै कुरा जस्ताको त्यस्तै भनें । मैले सबै मेसेज हरु स्क्रिनाशट गरेर पनि पठाएँ ।

“कहिले आएको यस्तो मेसेज?” उसले प्रश्न राखी ।

“अस्ति!” मैले लेखें ।

“अनि भन्नु पर्दैन त?” उ कड्कीइ ।

“चिन्ता लिन्छौ भनेर नभनेको ।“ मैले भने ।

यो विषयमा अझै केहिबेर उसको र मेरो कुरा चलिरह्यो । उसले आफुलाई यो मेसेज हेरेर डर लागेको कुरा बताई । मैले उसलाई नडराउन भनें । तर मानिसको मन न हो, सबैले भनेको कुरा मान्दैन । सायद मान्नको लागि कुनै विशेष व्यक्ति नै चाहिन्छ । सायद त्यस्तो बिशेष व्यक्ति बन्न म असफल भएँ । मलाइ उसले चिन्ता नलिन आग्रह गरि ।

“हामि नबोल्ने रे । मेसेज मा त्यस्तै लेखेको छ ।“ मैले भनें ।

“ह्या! त्यस्तो नभन न । तिमि मेरो साथि हो । मलाइ तिमि राम्रो लाग्छ अनि जसले जे भने पनि म तिमि सँग बोल्छु ।“ उसले भनि ।

“तिमीलाई डर लागेको छ र?” उसैले प्रश्न गरि ।

“होइन छैन ।“ मैले झुट बोलें ।

मलाइ डर त लागेको थियो । यस्तो  बेलामा कसलाई डर नलाग्ला र । तर  मलाई डर आफ्नो बारे होइन, डर प्रशंसाको बारे लागेको थियो । यो बेला मलाइ ति व्यक्तिहरु गलत लागे जसले माया गर्नेहरु डराउँदैनन् भन्थे । पहिले मैले आत्तिएर आफ्ना प्रेमिल भावनाहरु दबाएर पोखें । यसपटक मैले उसलाई यो च्याटको बारेमा भनें । दुवै पटक म आत्तिएँ अनि सबै कुरा पोखें ।

दिन बित्दै गए । हामि बोल्न छोडेनौं । मनले जीवनसाथी मानिसकेको व्यक्ति संग म केवल साथी बनेर रहन थालें । कुनै धम्कीले पनि हामि बिचको सम्बन्ध कमजोर बनाएन बरु यो बेला हामीले एकअर्कालाई साथ दिएर हाम्रो सम्बन्ध झनै बलियो बन्न पुग्यो । म सधैं उसको असल मित्र बन्ने प्रयास गरें । उसलाई मनभित्र बाटै माया गर्ने भएको भएर होला उ बाट म कहिल्यै टाढा बस्न सकिन । हामी हरेक दिन कुरा गर्थ्यौं । उ मलाइ सधैं केयर गर्थी । म अफलाइन भए पनि मलाइ खोजिरहन्थी ।

यी सबै कुराहरु मैले आफ्नो डायरीमा लेखेर राखेको थिएँ । सोचेको थिएँ, कुनै दिन यसको बारेमा कथा लेख्छु भनेर । त्यो समय सोचेको भन्दा छिट्टै नै आइदियो । मैले कथा लेखें । मैले सधैं मेरो प्रेम गुम्दा हाम्रो मित्रता नगुमोस् भन्ने चाहें । अनि उसले मेरो प्रेम प्रस्ताव अस्विकार गरेपनि हाम्रो मित्रता नगुमोस भन्ने चाही । हामि आआफ्नो स्थानमा सहि थियौँ । उ मेरो मनको जीवनसाथी बनेकी थिइ, वास्तविकता भने फरक थियो । मनको जीवनसाथी सँग त्यस्तो ठुलो मनमुटाव कहिल्यै पनि आएन ।

उसको जीवनमा म धेरै ढिला आएको थिएँ त्यसैले मेरो प्रेम एकोहोरो बन्न पुग्यो, सदा सदाका लागि । मैले न त चाहेको कुरा पाउन सकें अनि न त पाएको माया जोगाउन नै । मलाइ थाहा छैन भाग्यमा के छ भनेर । म मेरो गन्तव्यको बारे अन्योलमा छु । मलाइ मेरो गन्तब्य कहाँ गएर सकिने हो थाहा छैन । उसको र मेरो सम्बन्ध घाम र जुन जस्तो भएको भए पनि सहन सजिलो हुने थियो होला । कमसेकम भेट त हुने थिएन । तर दैबको खेल! हाम्रो सम्बन्ध नदीको दुइ किनार जस्तो बनिदियो । एकअर्का न संगै हुन सक्ने अनि न त छुट्टिन नै सक्ने । तर पनि निरन्तर आफ्नो रफ्तारमा अघि बढ्नु पर्ने । सायद यसैको नाम नै जिन्दगि हो । जीवनमा धेरै पटक ठक्कर खाइसकेको थिएँ त्यसैले यो ठक्कर कुनै नौलो भने थिएन तर पीडादायी भने धेरै नै थियो ।

सायद कसैको बारेमा यत्ति धेरै पनि सोच्नु नहुँदो रहेछ कि उ मष्तिस्कमा होइन मुटुमै आएर बसोस् । मुटुमा बसेकाहरुलाई भुलाउन सार्है गाह्रो हुने रहेछ । कति बिषालु छ है माया! जो एकपटक मुटुमा गढे पछी जीवन भर खिल बनेर बसिरहन्छ । यो मन भित्र तरंगिन भईरहन्छ तर कहिल्यै देखिंदैन । फेरी देखिदैन भनेर सधै लुकाएर राख्न पनि कहाँ मिल्छ र! यो त ओठको मुस्कान बनेर फुल्छ त कहिले आँखा बाट आँशु बनेर बगिदिन्छ । कुनै पल अमृत जस्तै मिठो हुने माया कुनै पल जहर भइदिन्छ । जसरि पिरो हुन्छ भनेर थाहा हुँदा हुँदै पनि खुर्सानी खाइन्छ त्यसै गरि सताउँछ, रुवाउँछ भनेर जान्दा जान्दै पनि माया लाइन्छ । को सक्छ होला र जीवनमा माया नगरेर बस्न । प्रेम त प्राकृतिक रुपले आफैँ हुन्छ, फरक यत्ति हो कसैको प्रेम फल्छ झर्छ अनि कसैको प्रेम कोपिला मै मर्छ ।

मेरो माया कोपिला मै मर्यो किनकि मेरो माया एकोहोरो थियो । एकोहोरो माया कहिल्यै पनि फुल्दैन । एकोहोरो माया त मनमा बास गर्छ । मलाइ पनि त्यस्तै भयो । एकोहोरो माया मेरो मनमै बास गर्यो । मैले उसलाई भुल्न सकिन अनि न त अरु कुनै केटि मेरो दिमाग मा नै आए । मेरो लागि मायाको पर्यायवाची प्रशंसा थिइ अनि प्रशंसाको पर्यायवाची माया । न मलाइ  अरु कोहि केटि मा कुनै उत्सुकता थियो अनि न मलाइ उ बाहेक अरु चाहिएको नै थियो । जीवनमा सबै व्यक्तिको एउटा सपना आफुले खोजेजस्तो रोजेजस्तो जीवनसाथी पाउनु हुन्छ । मैले पनि मेरो मनले मानेको जीवनसाथी भेटेको थिएँ,  तर नियतिको खेल! उसलाई भेटें तर त्यो भन्दा अगाडिका दिन कल्पना गरे जस्ता बन्न सकेनन् । उ जीवनसाथी नभएर सायद जीवन भरिका लागि केवल एक साथि बनि, मित्र बनि ।

उसलाई माया गर्दा देखि यत्तिका दिनमा खासै परिवर्तन आएनन् । म उसको लागि साथि भन्दा कतै परिवर्तित भइन । उ मेरो लागि मेरी माया भन्दा कतै परिवर्तित भइन । हाम्रो बोलचाल मा कुनै परिवर्तन आएन अनि न त हामीले एक अर्कालाई गर्ने व्यवहार मा नै परिवर्तन आयो । न मेरो माया मा परिवर्तन आयो अनि न उसले मलाई गर्ने केयर मा कुनै परिवर्तन आयो । परिवर्तित भयो त केवल समय अनि उसको कर्ली कपाल पनि । कर्ली कपाल कर्ली रहेन, स्ट्रेट भयो  । यो लामो समयमा उसमा आएको परिवर्तन यहि एउटा थियो । नत्र उ पहिले जस्तो थिइ, अहिले पनि त्यस्तै नै । उस्तै मिठो व्यवहार, उस्तै मिठो बोलीबचन अनि उस्तै मिठो मुस्कान ।

मलाई अझै पनि उसका हरेक कुराहरु मनपर्छ । म हरपल उसकै सोचमा अनि यादमा हराउँदै छु  । यो मन, तन र जीवन मसँग जे छ जत्ति छ म प्रशंसा लाइ नै समर्पण गर्न चाहान्थे । तर बिडम्बना उसलाई ति मन, तन अनि जीवनको कुनै जरुरत थिएन  ।

अहँ मलाइ जित्नु छैन मलाइ जीवनको त्यस्तो कुनै लडाई जहाँ तिम्रो हार होस् प्रशंसा । उसो त म सधैं आफु हारेर तिमीलाई जिताउन तयार नै छु, फकाउन तयार नै छु, जिताएको पनि छु अनि फकाएको पनि छु । जीवन को रित न त हो कहिले उज्यालो त कहिले अँध्यारो हुन्छ । तिम्रो खुशीमा जीवनभर पहिलो हाँसो सधैं मेरो हुनेछ अनि तिम्रो बाँकी सारा दुख अनि पिडा मेरो हुनेछ ।

आज आएर मैले तिमीलाई धेरै कुरा भन्न सक्ने भएको छु प्रशंसा । तिमीसँग थाहा छैन कसरि यति गहिरो माया बस्यो । माया गर्नु पाप होइन । अरु कसैको भइसकेकी केटीलाई माया गर्नु पनि पाप हुँदै होइन । माया प्रकृतिको अनुपम उपहार हो । यो जोसंग पनि हुन सक्छ, जुन सुकै बेलामा पनि हुन सक्छ । मैले पनि प्रकृतिको त्यहि अनुपम उपहारलाई अंगाल्ने क्रममा तिमीसँग मायामा पर्न पुगेँ । यदि कसैले मलाइ तैले गलत गरिस भन्छ भने पनि म मान्दै मान्दिन । मैले माया गरेर गलत गरेको छैन, र यो कुरा जीवन भर मैले भन्न सक्छु । भाग्यको खेलले हामि दुइलाई अलग अलग बाटोमा पुर्यायो । तिमि अर्कैको भयौ अनि म तिमि बाहेक अरु कसैको हुन चाहिन । तिमीलाई माया गर्दा गर्दा दिनका हरेक पलहरु तिमि संगै जोडिन पुग्छ । विहानीको चियाको बाफले पनि तिम्रै आकार बनाउन पुग्छ । त्यो बेला म तिमीलाई कल्पिन थाल्छु अनि चिया ठण्डा हुन्छ । चिया पिएर कलेज पुग्छु, अघि चियाको वाफले बनाएको आकृति मेरै अगाडी आउँछ । बेलुका घर पुग्छु, तिम्रा फोटोहरु देखेर तिमीलाई नै कल्पिन पुग्छु, पग्लिन पुग्छु ।  लाग्छ कुनै दिन म मैन नै बन्छु । अनि राति सुत्न खोज्छु, तिम्रै बारे देख्ने सपना हरुले मलाइ बेला बेला झस्क्याउँछ, ब्युँझाउँछ । म तिमीलाई आज भन्न सक्छु कि तिमीलाई जीवनमा कुनै पनि बेला मेरो धेरै याद आयो भनें हामीले सँगै बिताएका, संगै बोलेका पलहरुका सम्झना रुपी किताब पल्ट्याएर हेर्नु, कुनै न कुनै पानामा म मुस्कुराइरहेको भेटिनेछु । मलाइ थाहा छ तिम्रो सम्झानारुपी किताबमा म मुस्कुराइरहेको देख्नासाथ तिमि पनि मुस्कुराउनेछौ । तिमि त्यसरी नै मुस्कुराउनेछौ भनेर त मैले यो कथा लेखें, तिम्रै लागि, तिम्रो एक पलको मुस्कान हेर्नका लागि । म कथामा शब्द शब्दमा, भाग भागमा भावनामा बगेको छु केवल तिम्रै लागि ।

म तिम्रो तारिफ गरेर कहिल्यै थाकिन प्रशंसा अनि कहिल्यै थाक्ने पनि छैन । चाहे म जीवनको जुनसुकै मोडमा पुगु, चाहे म जीवनको जुनसुकै उतारचढावमा रहुँ, तिम्रो तारिफ गर्न मेरो दिल सदा खुलेर नै आउनेछ । तिमीलाई जीवनका ति जुनसुकै पलहरुमा पनि मैले सम्झिरहेको हुनेछु अनि अहिले जस्तै माया गररहेको हुनेछु । मेरो मनले तिम्रो सामु आत्मसमर्पण गरिसक्यो अनि आत्मसमर्पण गरिसकेको मन फेरी मायाको भिषण अनि डरलाग्दो युद्धमा जाने पहल गर्ने सक्दैन । तिम्रो यादमा मेरा आँखाबाट आँशु नखसेका होइनन्, अनि अब नखस्ने पनि होइनन् । आँशु खसेको थियो अनि खसी नै रहन्छ । तर त्यो आँशुले मलाइ कहिल्यै कमजोर बनाउने  छैन, बरु झन झनै कठोर बनाउने छ ।

तिमीलाई बाँकी जीवनका लागि शुभकामना नदिई पनि मेरो कलम रोकिन मान्दैन अनि सायद शुभकामना नदिई रोकिनु पर्ने कुनै कारण पनि छैन । म तिमीलाई जीवनको जुनसुकै मोडमा पनि खुशी देख्नासाथ खुशी हुनेछु । तिमि अहिले जसरि खुशी छौ, जोसंग खुशी छौ त्यो खुशी भनेको कुनै न कुनै रुपमा मेरै खुशी हो किनकि तिम्रो एक मुस्कानले मलाइ खुशी बनाउन सक्ने सामर्थ्य राख्छ । तिमि र म कहिल्यै संगै त हुन सकेनौ तर तिमि जोसँग रहेर खुशी भए पनि म खुशी नै हुनेछु ।  तिम्रो हातमा अरु कसैको नामको मेहेन्दी लाग्दै गर्दा अनि तिम्रो सिउँदो अरु कसैको नामको सिन्दुरले भरिदै गर्दा पनि म खुशी नै हुनेछु किनकि ति पलहरुमा तिमिले जीवनको सबै भन्दा ठुलो मुस्कान मुस्कुराइरहेकी हुनेछौ । तिम्रो त्यति ठुलो मुस्कान देख्दा म पनि नमुस्कुराइ बस्न सकुँला र?

जीवनको यो यात्रामा मैले धेरै केटि भेटें । धेरै सँग चिनजान भयो अनि धेरै सँग नजिकको सम्बन्ध पनि रह्यो तर प्रशंसा, तिमि जस्तो केटि मैले न कहिल्यै भेटेको थिएँ अनि न भेट्नेछु । आँखाले देखेको, मनले रोजेको अनि  मुटुले सजाएको केटि । एउटा यस्तो केटि जसलाई मैले जीवनमा कहिल्यै पनि भुल्न सक्दिन । एउटा यस्तो केटि जसले मलाइ जीवनमा खुशी बनाउने धेरै मौकाहरु दियो । कहिले काँही लाग्छ शब्द नै अपुग छन् तिम्रो वर्णन गर्नका लागि, तिमि संग बिताएका पलहरु कति मिठा थिए भनेर वर्णन गर्नका लागि । तिमीसँग बोलेका ति अनिदा रातहरु कति उज्याला थिए भनेर कोर्नका लागि । तिमीलाई आफ्नै सामु देख्दा कहिल्यै नधड्किएको जसरि   धड्किएको मुटुको चाल देखाउनका लागि । अपर्याप्त छन् शब्दहरु अनि अपुग छन् शब्दकोश हरु तिम्रो व्याख्या गर्नका निम्ति । सायद प्रकृति नै हार मान्ने गर्छ होला तिम्रो अगाडी त, तिम्रो सुन्दरटा अनि शालीनता देखेर त ।

मेरो मनले तिमि बाहेक अरु कसैलाई अंगाल्न सक्दैन । मन एउटा हुन्छ अनि मनमा बस्ने मान्छे पनि एउटा नै हुन्छ । मेरो मन मा भएको व्यक्ति केवल प्रशंसा नै हो । मन एक तीर अनि प्रेम एकतिर रहेर बाँच्नु को पनि के अर्थ । यो प्रेम कहिल्यै बद्लिदैन र बदलिने चिजलाई प्रेम भनिंदैन । मलाइ अझै पनि उसका हरेक कुराहरुसंग प्रेम छ । मलाइ बेला बेला बोलाउँदा उसले चलाउने गुलाबी ओठ संग प्रेम छ । मलाइ देख्दा उसले हात हल्लाएर गर्ने “हाइ” संग प्रेम छ । त्योभन्दा बढी “हाई” गर्ने हातका नंगसंग प्रेम छ । ति नंगमा पोतिएका रंग माथि प्रेम छ । मलाइ उसले कालान्तरमा मसंग बोल्ने बोलिसंग प्रेम छ । उ रिसाउँदा खुम्चिने निधार संग प्रेम छ । उ लजाउँदा राता हुने गालाहरु संग प्रेम छ । मलाइ त मेरो जिन्दगि जिउने साहारा, उसको मुस्कान संगै प्रेम छ । तिमि नसोच कि प्रेम शरीर संग मात्र हुन्छ ! मलाइ त तिम्रा नशालु आँखा हरु संगै प्रेम छ प्रशंसा ।

प्रशंसा तिमि अब मेरो मायाको कठघरामा थुनिएकी छौ । मैले तिमिलाई मेरो मनको निरिह कैदीको रुपमा देख्न थालेको छु, जो मेरो आँखामा सदाका लागि कैद भएकी छे । न त म तिमिलाई मायाको चोरीको अभियोगमा माफी दिन नै सक्छु अनि न त तिमीलाई मेरो मनको जेलमा थुनिरहन सक्छु । न त म तिमीलाई निर्दोष ठानेर आजाद नै गर्न सक्छु । बस! तिमीलाई अभियोग लागिसकेको छ । मैले तिमीलाई कहिल्यै पनि मनको हथकडी फुकाएर छाडीदिन सक्दिन । हो, अब तिमीले सजाय भोग्ने पर्छ । तिमि अब मेरो मनको चार दिवारभित्र कैदीको पर्याय बन्नै पर्छ । किनकि तिमि दोषी बनेकी छौ, एउटा मिठो भुल गरेर । तिमीलाई मेरो मन चोरेको अभियोग लागिसकेको छ प्रशंसा । जाउ जहाँ जान सक्छौ तिमि न्यायको ढोका ढकढक्याउन, तिमि एलान गर तिमि दोषी होइन भनेर तर पनि म तिमीलाई दोषी नै देख्छु । म तिम्रो मन र आँखा भरि चोरीको झलक नै पाउँछु ।  एउटा असल दोषी,एउटा असल चोर, तिमीले एउटा मिठो दोष गरेकी छौ, दिल चोरेकी छौ । तिम्रो दोष यो हो कि म चोरिएको छु सदा सदाका लागि । तिमि फेरी खुलाशा गर तिम्रो कुनै दोष छैन भनेर तर पनि म मान्दिन किनकि तिमीले अन्जानमा भुल गरेकी छ्यौ । मैले त तिमीलाई जीवन भरिका लागि मेरो मनको कठघरामा बन्दि बनाएको छु । तिमीलाई मैले मन पराएको छु, माया लाएको छु अनि ठहराएको छु आजीवन मायाको दोषी जसको कुनै दोष नै छैन । एउटा यस्तो दोषी जसको दोष भनेको नै उसको रुप हो, उसको मुस्कान हो, उसको व्यवहार हो, उसले मलाइ गर्ने केयर हो अनि उसको मिठो बोलीबचन हो ।

जिन्दगीमा म तिमि बाहेक अरु कसैको भएछु भने त्यो सम्बन्धको नाम “मजबुरी” हुनेछ प्रशंसा ।  त्यसैले त जीवन को जुनसुकै गोरेटोमा पनि, जुनसुकै मोडमा पनि अनि जुनसुकै अवस्थामा पनि तिमि भेटिएमा म शिर ठाडो गरेर चिच्याउन सक्छु “आइ लभ यु प्रशंसा एंड आइ विल अल्वेज लभ यु । म तिमीलाई माया गर्छु प्रशंसा अनि सधैं सधैं यसरि नै माया गरिरहन्छु ।“ अनि सायद फेरी भन्नेछु एउटा ठुलो चित्कार सहित “म जस्तो सय जना पाउँछौ तिमीले भनेर भन्थ्यौ प्रशंसा मलाइ, तर तिमि जस्तो सय जना त के मैले सय जनालाई जोड्दा पनि तिमि जस्तो कोहि भेटाउन सकिन,पाउन सकिन, मैले तिमि बाहेक अरु कसैलाई दिलमा सजाउन नै सकिन, मैले प्रेमको पर्यायवाची तिमि वाहेक अरु कोहि भेटाउन नै सकिन । त्यसैले म अझै पनि भन्न सक्छु अनि सधैं सधैं भनिरहनेछु आइ स्टिल लभ यु प्रशंसा ।“

 

समाप्त!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button