परिवर्तन -अन्तरजातिय प्रेमकथा

दालको कुकरले दुई सिठी मार्यो। हातमा चियाको गिलास बोकेर म अर्को दुई सिठिको प्रतिक्षामा उभिएको थिएँ।पुसको सर्दिले देशको राजधानीलाई आफ्नो राजधानी बनाएको थियो।घामले छुट्टी लिएको केहिदिन भएको थियो।यस्तो लाग्थ्यो दिन र रात सँगसँगै आएका छन् र आपसमा झगडिएका छन् को पहिला फर्किने भनेर।दिउँसै पनि अँध्यारो र चिसो व्याप्त थियो।

बाहिरको बतासले कोठाको झ्याललाई स्थिर हुन दिएको थिएन।पर्दा पनि बतासको तालमा आफ्नो नृत्य प्रदर्शन गरिरहेथ्यो।भित्ताको घडीले छोटो सूईलाई ठिक नौ’को अंकमा र लामो सुईलाई बाह्रको अंकमा लगेर छोडेको थियो।चार्जमा बसेको फोनमा मेसेन्जरको घन्टी बज्यो।टिंग टिंग,टिंग टिंग।ग्याँस बन्द गरेर फोन हेरेँ।

‘प्यारी मान्छे सेन्ट यु अ मेसेज’।नोटिफिकेसन थियो।गाउँबाट निस्किएको ठिक दूई वर्षपछि यस्तो नोटिफिकेसन आयो जसको मैले हरपल हरदिन प्रतिक्षा गरिरहेँ।मेरो खुसीले आकास छोयो।भर्खरसम्म नलागेको घाम झलमल्ल लाग्यो।ओठ मुस्कुराएर कान सम्मै पुग्यो।ढक्क छाती फुल्यो।कौतुहलता र उत्साहले धड्कनको रफ्तार बढायो।मेसेन्जर खोलेर हेरेँ जहाँ लेखिएको थियो,

प्यारो मान्छे,

कहाँ छौ मेरो प्यारो?यत्तिका समय कसरी म बिना रहन सक्यौ होला?तिमि बिना म कसरि रहेँ होला?जान्दिन।भगवानसँग याचना गर्छु जहाँ छौ स्वस्थ छौ।

 तिमीलाई याद छ रवि त्यस दिन मैले कति धेरै जिज्ञासा राखेकी थिएँ।तिम्रो बा र तिमि कपडा सिलाउन आएको दिन।मैले सोधेकी थिएँ किन यो जात भन्ने भ्रममा समाज अल्झिएको छ?तपाईंहरु किन चुपचाप सहनुहुन्छ?किन आवाज उठाउनुहुन्न?किन विवेक प्रयोग गर्नुहुन्न?किन आफु र आउने सन्ततिका लागी यो विभेदको जालो फुकाएर खुल्ला आकासमा स्वतन्त्र उड्न सक्ने हिम्मत देखाउनुहुन्न?यी प्रस्न आजका हैनन रवि बरु यी प्रस्न युगौँ देखिका हुन् जो तल्लो जात भनिएका हरुले कहिल्यै उठाएनन्।उठाउन सकेनन्।सोमनाथ मेरो आफ्नै कुलको व्यक्ति हो जसको हर्कतलाई यो मान्छेबस्ने समाजले किमार्थ स्विकार्न हुँदैनथ्यो।

 लालिआमैलाई गरेको त्यो निर्ममताले मेरी दिदिको छाती चिरिएको थियो।उनले घरमा मेरा बा आमालाई यो छुवाछुत र जातीय विभेदको खाडल पुर्न हजारौँ बिन्ति गरिन।यो गाउँको सोमनाथ र देशभरिकै सोमनाथहरुको पत्तासाफ गर्न बालाई साथको आग्रह गरिन।तर बा किन साथ दिनु हुन्थ्यो र बरु छोरीहरु आफूभन्दा,आफ्नो संस्कार भन्दा ठुला भईसके भन्ने गलत सोचको शिकार बन्नुभयो।सोमनाथहरुलाई एक शब्द पनि गलत गरिस भन्न नसक्ने मेरा बाले मेरी दिदिलाई घरमा बस्ने अधिकार नभएको फैसला गर्नुभयो।दिदि गई।कहाँ गई आज सम्म थाहा छैन।

 यो हुनुको कारण जसलाई कुजात भनिएको छ,अछुत भनिएको छ उनीहरु नै परिवर्तनको पक्षमा नदेखिएर हो।उनीहरुमै त्यो आत्मविस्वास नभएर हो कि यो पर्खाल भत्काउन सकिन्छ।यो दाग मेटाउन सकिन्छ।तर आज सम्म पनि त्यसको सुरुवातलाई पाईला दिन सकिएन।यस्ता कति व्यक्ति मैले देखिकी छु आफ्नो थर लुकाउन आफ्नो नामको पछाडी अनेक शब्द जोडेर हिड्छन्।के यत्तिपनि तागत छैन र ति अछुत भनिएकाहरुलाई कि यो मेरो पहिचान हो,यो मेरो नाम हो तर यसले मेरो वर्ग निर्धारण गर्दैन,कुनै जातको संज्ञा दिदैन,बरु म पनि यो समाजको समान हिस्सा हुँ,भन्नलाई?

 रवि,मेरो मनले तिमीलाई किन चाह्यो म जान्दिन।दिदिको घर निकाला पछि सायद सबैभन्दा ठुलो असर मलाई पर्यो।उमेरले सानै भएपनि त्यो बज्रको घनत्व बुझेकी थिएँ।तर दृढ थिएँ कि बाआमाको विरुद्धमा कदापी उभिने छैन।आखिर कोहि एउटाले चाहेर केहि हुने पनि त हैन।म किन दिदिको बाटो लाग्नु?यो सोचले थिचिएकी पनि थिएँ।तर खै यो मनको धागोले तिमीलाई कहिले देखि र कसरि आफुमा बेर्दै लगेछ मलाई नै थाहा छैन।तिम्रो बा कुलतमा नभएको र जाँड रक्सि समेत नछुने भएर बाले उहाँलाई काममा राख्नु भएको हो।तिम्रो आमाको प्रसंशा त गाउँ भरिनै हुन्छ।आज म जानेर वा अन्जानमा दिदीकै बाटोमा उभिएकी छु।तिमीलाई म बेहद प्रेम गर्छु रवि तर यो मेरो घर र यो समाजकै विरुद्धमा छ यो तिमीलाई राम्रोसँग थाहा छ।

 मलाई यो समाज बद्लियोस नबद्लियोस कुनै पर्वाह छैन।मलाई बस् तिम्री श्रीमती भएर रहनु छ अब।के तिमीमा यो आँट छ?कि मलाई दुलही  बनाएर त्यो चिटिक्कको घरमा भित्राउने?मलाई कोपिला परियार भनेर चिनेने रहर छ प्यारो मान्छे।

 हामीलाई भेट्न त के देख्न समेत मुस्किल छ अहिले।यो घर पनि विरानो लाग्छ।यो गाउँ सम्झिदा लाग्छ संसार भनेको यहि गाउँ हो जो यति बृहत छ कि मैले मेरो मायालाई भेट्न अरु कयौँ जुनी फेर्न जरुरि छ।मलाई थाहा छ तिमि मलाई लिन आउने छौ र लिएर जाने छौ हाम्रो मायाको त्यो सानो दुनियाँमा।

 धेरै मुस्किलले यत्ति लेख्न सकेकी छु,थाहा छैन कहिले पाउँछौ मेरो यो मेसेज।तिमि जहाँ छौ,जसरि बसेका छौ,आफ्नो ख्याल राख्नु।गाउँमा आजसम्म त ठिकै छ बस उही प्रथा तोडिएको छैन।।तिम्रो बाआमालाई पनि सायद ठिकै छ।रवि,यती बुझ्नु त्यसबखत गाउँमा हल्ला थियो कि तिमीले मेरो सीउँदो भरिसक्यौ।यसर्थ यो समाजका लागी हामी श्रीमान् श्रीमतीको दर्जामा पहिल्यै देखि छौँ भलै आज म अरु कसैकी हुन बाध्य भएकी छु।मेरो असमझदारीले कसलाई फरक पर्दो हो र?तिमीलाई गाउँ निकाला गरेको करिब एक वर्ष पश्चात मलाई आँगन नाघ्न दिईयो।म त्यहि पिंढीमा बसेर तिमीलाई बगाईरहेँ सम्झनाका भेलहरुमा।म चाहन्थेँ यी आँसु बगेर तिमि सम्म पुगोस र भनोस् हेर तिमीलाई खोज्दै म आईपुगेँ।आँसु पनि निस्ठुरी बनिदियो।कहिले गालामै सुकेर बसिदियो।कहिले सिरानिमै विलाएर गयो।अचेल यो नुनिलो आँसुले लाग्छ मेरो जीवनलाई झन् झन् टर्र्रो बनाएको छ।मेरो दिनरात,साँझबिहान,पुजा आरति,घाम छायाँ र वर्षातमा तिमि छौ।भन न यो भन्दा पर पनि अर्को जीवन छ होला र?जहाँ म तिमीलाई देख्न सकूँ, अंगाल्न सकूँ।

 कल्पनाको घना जङ्गल बीच तिमीले मेरो शिरमा प्रेमको रातो धर्कोले म तिम्री हुँ भन्ने प्रमाण छोडेका छौ।जो प्रमाण कसैले मेटाएको छ र आफ्नो अलग  वास्तविक धर्को कोरिदिएको छ।कसैले नछोएको मेरो यो शरीर कल्पनाको कुनै बन्द कोठामा तिम्रो आलिङ्गनमा बेरिएको छ जसलाई कसैले यथार्थमा निर्धक्क चिमोटी रहेको छ।मेरो बिहा भएको आज तेस्रो दिन हो।म त्यहि गाउँमा आएकी छु जहाँ हाम्रो प्रेम फुलेको थियो।यो फूल झरेर ओईलाउनु अगावै कतै अन्यत्र लगेर सारिदेउ म पर्खि रहेकी छु रवि ।तिमि भन्ने गर्थ्यौ नि यो जातिय विभेद र छुवाछुत जस्तो अव्यवहारिक प्रथा रोक्न उपल्लो जात र तल्लो जात बीच समागम हुनु जरुरि छ जसले एउटा परिवर्तन जन्माउन सकोस्।म त्यो परिवर्तन जन्माउन आतुर छु रवि।अन्तिम पटक तिमि अछुत हुने प्रयास गर म माथिल्लो जातकी हुने प्रयास गर्छु र जब मेरो कोखमा एउटा प्राणले हलचल गर्छ तब यो समाजमा हलचल आउला।म मेरो पहिलो कोख हाम्रो परिवर्तनका लागि साँचेर बसेकी छु।

सायद अब मलाई मेरो यो फोन चलाउन निषेध हुने छैन।तिमीले जहिले मेरा यी शब्दहरु पढ्छौ अविलम्ब जवाफ देऊ ल।म पर्खिरहेकी छु।

 उही तिम्री प्यारी श्रीमती,

कोपिला परियार!

उमेरले एघार टेकेको हुँदो हो बा सँगै कपडा सिलाउन आफुले कमाएका बिस्ट’कहाँ जान थालेको थिएँ।

मलाई सिलाउन आउदैन’थ्यो तर बा’लाई अन्य कुरामा मद्दत हुन्छ भन्ने हेतुले आमाले बा’सँगै पठाउनु हुन्थ्यो साथै त्यो दिनको

खाजापानिको पनि जोहो हुन्थ्यो।गरिबीले लोभी जो बनाउँछ।

बा पनि ‘एल्लाई सिकाउनु परो,नत्र के गरि खाला’ भनि रहनु हुन्थ्यो।त्यसैले साथ लिएर हिड्न खोज्नु हुन्थ्यो।मलाई पनि स्कुल जान भन्दा बा’सँग हिड्न मनपर्थ्यो।

चाडवाडका समयमा त काम जत्ति पनि हुन्थ्यो।त्यसो त हाम्रो कमाई हुने बाटो सीलाई बुनाई नै त थियो।

वैशाखमा विद्यालयको नयाँ शैक्षिक सत्र लाग्दा होस् या तिज लाग्दा,दशैँ आउँदा होस् कि तिहार बा हाते मेसिन लिएर बिहानै जानुहुन्थ्यो र झमक्क परेपछि फर्किनु हुन्थ्यो।फर्किदा बा’का झोलामा मकै,चामल,रोटि,आलु आदि हुन्थे।हाम्रो दैनिकी त्यहि थियो,त्यसरी नै गुजारा चल्थ्यो।

भदौको पहिलो साता लोकनाथ पण्डित’काँ सिलाउन जान मेला पर्यो।

उनका चार सन्तान दुई छोरा दुई छोरी।छोराहरु बिहेबारी पश्चात आ-आफ्नो हिसाबले गरिखाँदै थिए।जेठो तिलकनाथ सहर तिर थिए भने कान्छो चोकनाथ गाउँ मै थिए।

लोकनाथले तीज संघारमै आईपुगेकाले अन्त मेला नदिएस माईला काम निक्कै छ भनेका रै’छन् बा’लाई।जोई पोई आए हुन्छ, दुईरात बसेरै सक्नु पनि भनेका रै’छन्,तर आमाले घर छोड्न नमिल्ने भएकाले हामी बाउ छोरा जानेभयौँ।बा‘ले मेसिनमा नाम्लो लगाउनुभयो,दुईवटा सिल्टेका थाल,गीलास र झोला मैले भिरेँ।

सामान्यतया आफुले खाने थाल भाँडा बोक्नु पर्दैनथ्यो तर लोकनाथ’काँ आफैले लिएर जानु पर्थ्यो।

नजिकै हुँदो हो त त्यो झन्झट पनि किन गरिन्थ्यो होला तर गाउँको शिरमा हाम्रो घर थियो फेदीमा लोकनाथको।

खाएपछि धोएर सुकाएपछि अन्य जैसी’काँ चल्थ्यो उनै’काँ मात्र चल्दैनथ्यो।त्यसो त उनि पनि जैसी हुन्,थर पण्डित भएपनि पुजापाठ तथा श्राद्ध तिर हिड्दैनथे,यधपी चिना बनाउने र हात हेराउनेको उनका आगनमा भिंड लाग्थ्यो।

बाटो ठाडो ओरालो भएकाले बा’पछी म थिएँ।धेरै नाम सुनेपनि म लोकनाथ’काँ पहिलो पटक जाँदै थिएँ।

बाटोमा बा’ले ‘पण्डितजी देख्ने बितिक्कै हात जोडेस् भन्नुभयो मैले हुन्छ भनेँ।जथाभाबी नछुनु पाप लाग्छ बुझिस्?भन्नुभयो मैले हुन्छ भनेँ।

अरुका लागि लोकनाथ भएपनि हाम्रा लागि पण्डितजी थिए उनि।हुनपनी धेरैजसो मेला उनै’काँ पर्थ्यो।उनले कमाएको दर्जी थियौँ हामी।हामीले कमाएको विष्ट थिए उनि।ज्यालाभाग लिएपनि आखिर उनैको नुन खाएको भएर होला बा अलिक धेरैनै आदर गर्नुहुन्थ्यो।

दोबाटो तिर या छेउका चिया दोकानमा देखिने अलि पाका बुढाहरुलाई बा हात जोड्दै हिड्नु हुन्थ्यो।कोही कोही फिस्स दाँत देखाउने जाँगर चलाउँथे कोही नदेखे झैँ पनि गर्थे।मैले बा’लाई सोधेको थिएँ ‘किन तपाइँलाई नमस्ते नगरेका?’

‘आमाले घरको मन्दिरमा दियो बाल्दा हात जोडे जस्तै हो बुझिस्?’बा’ले बुझाउन खोज्नुभयो।मैले बुझिन तर ए! भनेँ।

आमाले साँझमा मन्दिरको दियो बालेपछी म पनी आँखा चिम्लेर दूई हात जोड्थेँ।आमाले सिकाउनु भा’को।लक्ष्मीले बास गर्छिन अरे।मलाई लाग्यो बा र आमाका लक्ष्मी अलग छन्।तिनका स्वभाव अलग छन् र अवतार पनि।

पुग्नासाथ पण्डितनिले चिया ल्याईन।बा’ले गिलास थाप्नुभयो।दुध चिया खान रहर हुन्थ्यो मलाई।खुब मिठो लाग्यो।सक्खरको स्वाद अबेरसम्म मुखमा रहिरह्यो।

‘तिजका कपडा हुन् पोहोर पनी गरेकै हौ जानेकै छौ मिलाएर गर’भनेर कपडा पिंढीमा थुपारीदिईन पण्डितनिले।बा नापो लिएर कैंची चलाउन लाग्नु भयो मैले मेसिनमा धागो लगाएँ।

पहेँलो कुर्था,रातो सलवार गलामा रातै सल जसलाई काँधबाट पिठ्युँतर्फ झारिएको।रातो धागोले बाटिएको लामो र कालो कपाल छातिबाट झुण्डिएको।कम्मरमा सेतो र हरियो बुट्टा भरिएको दुपट्टा,दुपट्टाको माथि तामाको गाग्रो अढ्याएर छड्के कम्मर लगाउदै ऊ आँगनमा आईपुगी,‘आमा गाग्रो कहाँ राखौं?चिच्याई।

‘पिंढीमा राख्दे’भित्रबाट मसिनो तर स्पस्ट आवाज आयो।

गाग्रो राखेर रछ्यानमा गई।बायाँ हातले सलवार माथि सारी,दाहिनेले जग उठाई,ड्रमबाट जग भरि पानी निकालेर खुट्टामा घोत्ताई।केहि सेकेन्डका लागी कपालको धागो हेरी,कपाल ढाड पछाडी हुत्ताई,घाँटीबाट सल तानेर छातीमा मिलाई

कम्मरको दुपट्टा खोलेर मुख पुछ्दै तुलसीको मठमा गई,बाबरीको एउटा टुप्पो भाँचेर त्यसको सुगन्ध लिई र तालुको चिम्टीमा उनिदिए पछि मात्रै मलाई हेर्न भ्याई वा भनौँ देख्न भ्याई।

हाम्रा आँखा हलुका जुधे,तर भावशुन्यताले।मलाई किञ्चित असहज महसुस भयो।अनायसै शिर घोप्टियो।शिर उठ्यो।दुपट्टालाई आँगनको छेउमा टाँगिएको तारमा झुन्ड्याई र एक अँगालो दाउरा च्यापेर घरभित्र छिरी।

केहीबेरमा लोकनाथ मिल्किए।गोला गोला आँखाले म तिर नजर फ्याँक्दै ‘छोरो त मलखातको मुला झैँ हलक्कै बढेछ माईला’भनेर जुँगा हल्लिने गरि हाँसे।आफुलाई मुला भनेकोमा झनन्न भयो तर फिस्स गरेँ।

‘हजुर मावली तिर गयो यो’ बा हात जोड्दै बोल्नुभयो।मैले भने जोडिन।

-कतिमा पढ्छौ बाबु?मेरा लागि प्रस्न।

-पाँच क्लास।कैँची खेलाउँदै भनेँ।

-ए!हाम्री नानी सरह?

प्रस्न लिएर लोकनाथ छेउमा उभिए।जवाफ थाहा थिएन।

-तिमि पनि प्रथम हुन्छौ कि?

यो प्रस्न सुन्नासाथ मैले बा’तिर हेरेँ।लाज लाग्यो।

‘पढ्न ध्यानै दिदैन हजुर पास अंक सम्म ल्याउछ बा’ले मेरो स्तर बताइदिनुभयो।लोकनाथ बोलेनन्।पढन्ते छोरीका बा म लद्दुका अगाडी घमण्डको खोकी खोक्दै भित्र छिरे।

मलाई लाग्यो बा’आमाले सन्तान प्रति गर्व गर्ने पहिलो खुड्किलो आफ्ना सन्तानको अब्बलता हो,जो म मा थिएन ।

सोचेँ भोलीदेखि नबिराई स्कुल जान्छु।पढ्छु।प्रथम हुन्छु।

“खाना खान ठिक पर्नुस रे आमाले भन्नु भा” – खबर ल्याई उसैले।हात धुन पानी पनि उसैले ठिक गरिदिई।थाल लिएर हामी पिंढीमै बस्यौँ।आलु,बोडी र दाल सँग खाना खुब मिठो भयो।मकैको भात खान बानी परेपनी चामलको भातले बेग्लै स्वाद दियो।

खाई सकेर काममा लाग्यौँ।आकाशे निलो सर्ट,गाढा निलो स्कर्ट जो घुँडा छोपौँ कि नछोपौँको दुविधामा देखिन्थ्यो।कोरिएको कपाल बाटेर रातो-सेतो रिबनले बाँधेकी र अघिल्तिर झारेकी।कालो पालिस गरिएको जुत्ता र मोजा,सेतो मोजा कालो लेगिन्स्मा खुबै म्याचिङ्ग गराएकी,कानमा साना साना टप र नाकमा नथी,आँखामुनि मसिनो धर्को गाजल र दुई आँखीभौंको ठिक बिचमा सानो कालो टिको,ओठमा सायद वाटर कलर ग्लस र त्यहि ओठमा मिठो हाँसो बोकेर ढोकाबाट निस्किई।सानो मिक्की माउस,स्माइली,सानो नेपालको झन्डा त्यस्तै अरु पनि थुप्रै के के झुण्डाईएको झोला हातमा बोकेर म नजिक आई र बा’लाई हेर्दै,‘अंकल यो फित्ता कहिलै नछिन्ने बनाउन मिल्छ?’झोलाको फित्ता हातमा देखाउँदै सोधी।

हेर्दे त केटा,बा’ले मलाई आह्राउनु भयो।मैले झोला लिन हात बढाएँ।उसले आँखामा हेरी,आँखा जुधे।झोला सोचेभन्दा गहकिलो थियो।हातबाट झर्यो।उसले खितिति गरी “भित्र बुक छ के,खाली ब्याग हैन नी”-सम्झाईदीई।मैले ओठ मात्र चलाएर सरि भनेँ।

उसले आँखीभौं निधारतिर झड्कारेर ईसारामै ‘इट्स ऑल राइट’ भनी।बा’ले देख्नु होला भन्ने डरले म रातो भएँ।पहिलो देखभेटमै ईशारामा कुरा?मलाई डर लाग्नु स्वभाविक थिएन र?

मैले फित्तालाई हातैले दोहोरो रफी गरिदिएँ।उसले पनी अघी जस्तै ओठलाई गोलो पार्दै थ्याङ्क्यु भनी।

रातो अनुहारमै म हल्का हाँसे।‘आमा म गएँ है’- चिच्याई।पण्डितनिको आवाज आएन।उसले कुरिन पनी।

मैले हेरिरहेँ ऊ पर पुगी।बा’ले सियोको टुप्पोले पैतालामा घोचिदिनु भयो र भन्नु भयो “काम गर केटा काम”

मेरो मनको सियोले उसलाई दिनभरि कता कता उनिरह्यो।

दशैँबिदा हुनुभन्दा केहिदिन अगाडीबाट स्कुलमा साँस्कृतिक कार्यक्रम हुन्थ्यो।

मेरो स्कूलमा त त्यस्तो रौनक कहाँबाट होस्।नि मा बि सम्म मात्रै पढाई हुन्थ्यो।त्यसमाथि विद्यार्थी संख्या अति कम थियो।थोरैमा पनि हामी दलितकै बाहुल्यता थियो।हुने खानेले टाढाको बोर्डिंग स्कुलमा भर्ना गराउँथे आफ्ना छोरा छोरीलाई।

कोही लोकनाथ पण्डितको घर भन्दा पनि टाढा पर्ने सरकारी स्कुलमा पढाउँथे जहाँ मा बि सम्मको कक्षा थियो।

त्यसो त मा बि पढ्न चाहनेहरुले त्यही स्कुल जानु पर्थ्यो।नजिक अन्य स्कुल नभएकाले विकल्प पनि थिएन।

बसमा चढेर बोर्डिंग स्कुल जाने मेरो इच्छा थिएन।बा’को हैसियत् पनी थिएन।बोर्डिंग पढ्नेहरु अंग्रेजी बोल्दै हिड्थे।तिनीहरु मलाई अम्रिकाने जस्तै लाग्थ्यो।स्कुलमा कहिलेकाहीँ अम्रिकाने आउँथे।हामीलाई किताब,कापी थमाइदिन्थे।नेपाली पढाउने गोकुल सर सबैलाई एउटा लाईनमा मिलाउँथे।अंग्रेजी पढाउने एम पी सर भने हमेसा अम्रिकानेसँगै फतफतिरहेका देखिन्थे।

सबैको फोटो खिचेर जान्थे ति अम्रिकाने।केही महिना हराउँथे र फेरी आउँथे।कापी पाएको दिन बा’आमा दङ्ग पर्नुहुन्थ्यो।मलाई भने सधैँ कापी मात्रै लिनु परेकाले खास खुशी लाग्दैन’थ्यो।

हामीलाई चिनिया वा जापानी आए पनि अम्रिकाने नै लाग्थ्यो।नरेले कताबाट खैरे भन्न सिकेछ।एकदिन उनीहरु फोटो खिचेर पर पुगिसके पछि नरेले ओ! खैरे भन्दियो।मलाई पनी भन्न लगायो मैले पनी ओह!खैरिनी भनेँ।खै कसले पोल लगाइदिएछ हेडसरले कन्सिरीका रौँ उखेलेर हत्केलामा राखिदिए र भने गनेर अफिसमा आउनु।नरेले पिलपिल गर्यो।मलाई पनी रोउँ रोउँ लाग्यो,तर आँसु खसेन।मैले सात ओटा गनेँ।नरेले एघार गनेछ।बिचराको कन्सिरी रातो देखिन्थ्यो।मेरो पनी उल्का टट्टाएको थियो।

पाहुनालाई खैरे भन्नि?एई सिकाको हो तिमेर्लाई ह्याँ?अब बाट भन्ने कि नभन्ने? यस्तै के के सोधेर सातो लिएका थिए हेडसरले।नरेले बाहिर निस्किए पछी अब त झन् भन्छु, खैरे डैरे।मैले मात्रै सुन्ने गरी भनेको थियो।म त अब नभन्ने कस्तो कन्चट दुख्यो,मैले भनेको थिएँ।

नरे मेरो काकाको छोरो।उमेरले म सरह तर डल्ले।नरेको अनुहार गोलो थियो।गाला बेलुन जस्तै।त्यसैले नरेलाई अरु सबैले फर्सी भनेर नाम काढ्थे।म भने नरे नै भन्थेँ।काका काकीसँग बा’आमाको राम्रो सम्बन्ध थिएन।पटक पटक काकी बाझ्न आइपुग्थिन।म आमालाई सोध्थेँ ‘काकी किन करौछिन आमा?’

‘उसका विष्ट हामीले कमायौ रे सुनिनस?’आमा उल्टो मलाई हप्काउनु हुन्थ्यो।

‘ज्याला गरि खानिलाई जसका मेला पर्यो उसैका गर्नी त होला कत्रो रिस,शत्रु त घरैका छन्’ आमा फतफताउनु हुन्थ्यो।म चुपचाप कतै गईदिन्थेँ।मसँग बोल्ने शब्द पनी त केही हुदैनथ्यो।

मा बि स्कुलमा दसैँ कार्यक्रम हुने भयो।आफु पढ्ने स्कुलमा खास केहि नहुने भएकाले हामी हरेक साल तलको मा बि स्कुलमा जाने गर्थ्यौँ।म,नरे,हरि र अरु अरु पनि सँगै जाने कुरा भयो।सबै एकैसाथ झर्यौँ।बाटो लोकनाथ पण्डितकै घर हुँदै जान्थ्यो।त्यहाँ पुगेपछि आँगन तिर चिहाएँ कोहिपनि देखिन।ऊ त झन् हुने कुरै भएन। उसकै स्कुलमा कार्यक्रम हो।हुरुरु दौडिएर स्कुल पुग्यौँ।चौरमा आठ दस ओटा बेन्च गोलो पारेर राखिएको थियो।सबै केहि न केहिमा व्यस्त थिए।स्टेजको कुर्सीमा क्रमस; त्यहाँका हेडसर,हाम्रो स्कुलका हेडसर,लोकनाथ पण्डित लगायत बसेका थिए।मलाई मेरा बा पनि त्यहाँ हुनु भएको भए नि हुन्थ्यो जस्तो लाग्यो।दसैँ हामीलाई सजिलै कहाँ आउँथ्यो र?बा कतै विष्टका पिंढीमा बसेर मेसिन घुमाउदै हुनुहुन्थ्यो होला।मलाई एक्कासी बा’को माया लागेर आयो।

स्पिकरको आवाजले मेरो ध्यान भंग गरिदियो र त्यहिँको परिवेशमा मुग्ध गराइदियो।

उदघोषकले खै  के के मन्तव्य दियो।।कविता भन्न एक हुल केटीहरु आए।कविता भने।गए।सबैले थपडी बजाए।मैले पनि बजाएँ।

कविता वाचन पश्चात शुभकामना मन्तव्य दिन हाम्रो स्कुलको हेडसर आए।नरेले कोट्याएर घ्याम्पे आयो घ्याम्पे हेर भन्यो।पेट दमाहा जस्तै भए पनि हामीले देखेको ठुलो वस्तु त्यहि घ्याम्पो थियो।त्यसैले हेडसरको नाम घ्याम्पे राखेका थियौँ।

त्यसमाथि नरे कन्सिरीका रौँ गनीरहन्थ्यो हप्ता बिराएर।उसलाई जति रिस अरु कसलाई हुँदो हो।बुढा आएर दिक्क लाग्ने गरि के के फलाकेर बल्ल माईक राखे।साँस्कृतिक कार्यक्रममा मन्तव्य भन्दै घन्टौं लगाउने काम मलाई किमार्थ मन पर्दैनथ्यो तर चुप बस्नुको विकल्प थिएन।

बल्ल उदघोषकले नृत्य प्रस्तुत गर्न बहिनि कोपिला पण्डित आँउदै छिन जोडदार तालीले स्वागत गरौँ भन्यो।यत्रो बेर कुरेर बल्ल डान्स हेर्ने मौका मिल्यो।सब एकाएक तात्तिए र हौसिए।तालिको गडगडाहट सुनियो।चौर भरि उभिएका सबै विद्यार्थी डान्स हेर्न आतुर देखिए म पनि कम्ति आतुर थिइनँ।

ऊ देखापरी।एकबाजी स्टेजलाई ढोगी।कुर्सीमा बसेकाहरुलाई दुई हात जोडेर शिर झुकाई र स्टेजको मध्यभागमा आई।

लौ मेरो सातो गयो।सास अड्केको जस्तो,रोकिएको जस्तो कस्तो कस्तो भयो।मुटु तेज चल्न थाल्यो।निधार रनक्क तात्यो।मलाई हनहनी ज्वरो आएझैं भयो।भर्खर सम्मको भिंडको त्यो हुटिंग मलाई मन नै परेन।कान दुख्यो तालीको आवाजले।पहिलै सबैभन्दा अगाडिको बेन्च ओगटेर नबसेकोमा ग्लानि भयो।कस्तो चुक चुक लाग्यो।स्टेजबाट दश मिटर जतिको दुरीपनि मलाई कोसौं टाढा लाग्यो।खुट्टा कामे जस्ता भए।मेरा आँखा अन्त कतै जान सकेनन् वा जान चाहेनन्।जाउन् कसरि स्टेजको मध्य भागमा एउटा खुट्टा खुम्चाएर टुक्रुक्क बसेकी थिई ऊ अर्थात लोकनाथ पण्डितकि छोरी।मलाई उसको नाम थाहा हुँदो हो त भर्खर मलाई जे जे भयो त्यो हुने थिएन।उदघोषकले कोपिला पण्डित भनेकै थियो नि।मेरो ध्यान कुन्नि कता चर्न गएछ त्यतिबेला।कम्तिमा पण्डित थरले मलाई आकर्षित गर्दो हो।म लख काट्दो हुँ कतै लोकनाथ पण्डितकै छोरी नै त हैन भनेर।त्यो मौकाले डाँडो काटेपछि आएको सुद्दीको के अर्थ?

अलि पहिला त्यो झोलाको फित्ता रफी गरेपछीपनि एकचोटी मेला परेको थियो।त्यो दिन झन् घरमा ऊ मात्रै थिई।बा’लाई र मलाई खाना उसैले त बनाएर खुवाएकी थिई।शनिबारको दिन थियो।ऊ नुहाई धुवाई गरेर घाममा बसेकी थिई।कपाल सुकाएकि थिई।बारीबाट एउटा काँक्रो ल्याएर काटेर खुवाएकी थिई।मैले उसलाई त्यो दिन धित मर्ने गरी हेरेको थिएँ।बा’को आँखा छलेर उसलाई चोरी चोरी हेरेको उसले पनि त थाहा पाएकी थिई।नत्र किन आँखा जुध्दा छोटो मुस्कान दिन्थी?

कम्मरमा दुपट्टा बेर्ने बानि नै रहेछ,त्यो दिन पनि त उसै गरी बाँधेकी थिई।नुहाएर आए पछि त झन् गोरी देखिएकी थिई।केहि नदलिएको उसको अनुहार नहाँसेको बेला भक्तपुरकि कुमारीको जस्तै देखिन्थ्यो।शान्त र भावहिन।जब पातलो ओठ अलिकति मात्र भएपनि चलाउँथी फूल फुलेझैँ लाग्थ्यो।ऊ हरतरहले राम्री देखिएकी थिई त्यो दिन।खाजामा रोटी बनाएकी थिई।रोटी गोला थिएनन् एकातिर चेप्टो परेको रोटी हेर्दै बा’ले नानीको रोटीले धन्न ताउ छोडेर भागेनछ भन्नु भएको’थ्यो।ऊ थोरै लजाएकी थिई।तर हामी सँगै हासेकी थिई।

धनिँया र गोलभेडाको अचार पर्ले पिरो पारेकी थिई।बा’लाई खुब मिठो लागेको थियो तर पिरोले मेरो मुख जलेको थियो।म रातो हुँदै गासै पिच्छे पानी पिउदै थिएँ।उसले त्यो देख्न सकिन सायद एक गिलास मही ल्याएर दिएकी थिई।त्यसपछि मेरो आँत सेलाएको थियो।उसको दया नै सही ममा अर्कै भावना टुसाएको थियो।

उसले  आफ्ना धन्दा सकेर पिंढीमै बसेर हाम्रो काम हेरेकी थिई।जिज्ञासु थिए उसका नजर।उसले बा’सँग हजार प्रस्न गरेकी थिई जस्तै बा’ले कपडा सिलाउन कसरी सिक्नु भयो,हामी किन बाहिरै बसेर खान्छौँ,हामीलाई किन अछुत भनेका आदी इत्यादि।

बा’ले पनि ज्ञानी बालखझैँ उसले गरेका सवालका ठिक ठिक वा भनौं सहि र सत्य जवाफ दिनु भएको थियो।कतिपय जवाफले उसलाई चित्त नबुझेको भाव अनुहारमा देखिन्थ्यो।जातिय विभेद बारे स्कुलमा समेत सामाजिक शिक्षामा पढिएको कुरा उसलाई कसरी थाहा भएन म अलमल्लिएको थिएँ।

मलाई लागेको थियो उसलाई छूत अछुत,जातको खाडल र त्यो खाडलमा बसेर आफ्नो सामाजिक दाईत्व पुरा गरिरहेका हामी जस्ता दलित, ऊ र ऊ जस्ता तथाकथित ठुलो जातकाहरुसँग निर्वाहमुखी जीन्दगी बाँची रहेका छौँ – थाहा थिएन।

वा थाहा दिइएको थिएन।त्यसदिन उसका बा’आमाको अनुस्पस्थितिले उसलाई हामी अछुतसँग बसेर गफिने सुअवसर मिलेको थियो।अझ उसले हर्लिक्सको सिसीमा गाडेको मुलाको अचार खुवाएकी थिई।त्यसअघि कयौँ दफा खाना खाने समयमा पण्डितनिले दुई टुक्रा हालिदिने मन सम्म गरेकी थिईनन्।कस्तो छुच्चो स्वभाव।कस्तो लोभ।

त्यसदिनका उसका हरेक क्रियाकलाप मेरा स्मृतिमा एक पछि अर्को गर्दै आए।स्पिकरमा गीत बज्न थाल्यो,

आज बाह्र हाते पटुकीको कुरा गर मायालु

मलाई छम छम छम नाच्न मन लाग्यो

मेरा आँखा टक्क उसमा अडिए।स्थिर।उसले आफ्नो कम्मर यसरि नचाएकी थिई कि मानौँ ऊ रबरले बनेकी होस्।

हत्केला र औँलाले आफु प्रति सबैको ध्यान तानेकी थिई।भिंड बाट सुसेली र तालिको वर्षा भईरहेको थियो।

म उसका अनुहारमा देखिएका भावहरु हेरेर असिन पसिन हुँदै थिएँ।सिनेमामा नायकसँगै हाँस्दै हाँस्दै नाच्ने नायिका भन्दा कुनैपनि कोणबाट उसमा कमि थिएन।घरि घरि मलाईनै हेरेर नाच्दै छे जस्तो भान भईरह्यो।ऊ गीतका ताल सँगै सम्पूर्ण स्टेज घुम्थी।आँखाले केहि भनिरहेछन् जस्तो लाग्थ्यो।माहोल बेस्सरी तातिएको थियो।मलाई किन किन इर्स्या लाग्यो।यति धेरै मान्छेले उसको नाच हेरेकोमा मलाई लाज लाग्यो।मैले मात्रै हेर्न पाएको भएपनि हुने नि जस्तो लाग्यो।

नरे पछाडीबाट उफ्री उफ्री सुसेली रहेको थियो।मलाई कत्तिपनि मन परेन। रिस पनि उठ्यो।नसुसल भनेँ पनि तर आवाज म आफैँले पनि सुनिन नरेले के सुनोस्।म त्यो लाज,त्यो असहजता र मुख्यत भिंड देखि उठेको रिस कम्तिमा नरेमा उतार्न सक्थेँ, हात घुमाएर हरिको ढाड पछाडी लगें र चिमोटी दिएँ नरेको तिघ्रामा।जाँघेले नछोपेको तिघ्रालाई सामान्य भन्दा गतिलो असर पर्यो।नरेको सुसेली बन्द भयो।म खुशी भएँ।

स्टेजमा ऊ अन्तिम पटक फनन घुमेर पसारो परि।स्पिकर बन्द भयो।तालिको वर्षा भयो।ऊ नउठेसम्म मलाई फेरी औडाहा भयो।उसले लगाएकी फरिया थोरै माथि सरेर घुँडा सम्म पुगेको थियो।सेता पिडुँला देखिएको थियो।म चाहन्थेँ कि ऊ उठिहालोस ताकी फरिया माथि सरेको अरु कसैले चाल नपाओस।मैले यति सोची सक्दा उसले उभिएर कम्मरमा हात राखी सकेकी थिई।उदघोषक ऊ नजिक आईसकेको थियो।म खुशीले गदगद भएँ र हू हु हु गर्दै ताली बजाएँ।हुनु के थियो र, भिंड त अघिनै शान्त भईसकेको रहेछ।यति बेला चिच्याउने सिर्फ म एउटा रहेछु।भिंड मलाई हेरेर हाँस्यो।म सरमले भुतुक्कै भएँ।ऊ पनि हत्केलाले मुख छोपेर हाँसिरहेकी थिई।यो कस्तो ठिस काम गरियो जस्तो भयो।घामले घोचेझैँ भयो,मुख सुक्यो,पिसाब पनि लाग्यो,त्यहाँ मुख देखाउनै मलाई हम्मे भयो।दौडिएर गएँ पिपलको रुख पछाडी।पिपलले मलाई निक्कै बेर लुकाई राख्यो।

साँझमा नरेले सोध्यो “तँ किन भागिस?”

-कहाँ भागेँ म?

-मैले देखेको हुँ ।झुट नबोल।तँ कार्यक्रममा थिईनस्।

उसका सवाल जायज थिए।मसँग जवाफ थिएन वा भनौँ उसको चित्त बुझ्ने खालको जवाफ थिएन।

पखाला लागेर हो।मलिनो स्वरमा भनेँ।उसले अलिक नाक खुम्चायो।मेरो शिर देखि पाऊ र पाऊ देखि शिरसम्म एक फन्को आँखा घुमायो र भन्यो कती छेर्न सक्दो रैछस् मुजी।

अहिले निको भईसक्यो, भनेपछि ऊ सहज भयो।

त्यो दिन मेरो मनमा भएको उथलपुथल,मेरो मुटुले दौडिएको म्याराथुन,मेरो शरीरले बढाएको तापक्रम आदिले मेरो अनुहारमा पहिले नदेखिएका अनौठा भावका रेखाहरु कोरिएको आमाले चाल पाउनु भयो।

ति रेखा सजिलै मेट्न के गर्नुपर्थ्यो म अनभिज्ञ थिएँ।फेरी त्यस्तो त मलाई पहिलो पटक न भएको थियो।म त्यसै त्यसै फुरुक्क थिएँ।आँखा मुस्कुराई रहेका थिए।शरीर हल्का भएको महशुस गर्दै थिएँ।

मेरा कानमा त्यहि गीत बजी रहेको थियो।कति सुरिलो र मिठो भाका।शब्दका जादु र ति जादुलाई उसले आफ्ना नृत्यबाट कति सजिलै प्रस्ट्याई दिएकि।ओहो! यो के भयो मलाई।म आकाशमा उड्दै छु जस्तो लाग्यो।नाच्न नजान्ने मलाई उसैले नाचेझैँ नाच्न मन लाग्यो।जता ततै झलमल्ल देखेँ।आँखाले उसलाई हर चिजमा खोज्यो।अरु दिन गोठमा गएर बाख्रालाई खोले पानि दिन मलाई कहाँ त्यसरी जाँगर चल्नु?त्यो दिन एक्लै जान मन लाग्यो।गीत गुनगुनाउदै,

नौमती र पन्चे बाजा

बज्छ मनमा लाग्छ लाज

तिमि लाउँछौ मोहनी

 सुर न तालको मेरो मनले गुनगुनाएका यी पंक्तिमा ऊ पुन: नाच्न थाली।मलाई ऊ लजाएको ख्याल आयो तत्क्षण मेरो शरीर फुलेको आभास भयो।टाउको फुलेर अजङ्गको भयो।कता कता बाट बतास छिरेर अन्त कतै बाट फुत्त निस्किएझैँ भयो।हाय!यो कती मिठो अनुभूति।अगेनो बाट मुस्लो बनेर उडेको धुवाँ सोही गीत गुनगुनाउदै नृत्यरत बाहिरियो।केहिदिन अगाडी जन्मिएका पाठाका आँखामा नौलो संसारको चमक टल्किएझैँ झलझली बलेकी कोपिलालाई मैले यत्रतत्र बेपर्वाह उफ्रिरहेको देखेँ।मनको आँगनमा यो कोपिला फूल बनेर प्रेमको सुवासले मलाई लठ्याउन अभिशप्त देखेँ।

त्यो साँझ आमाले साँझको बत्ति बालेपछि पहिलो पटक मस्तिष्कमा भगवानका साथमा ऊ पनि आई।भगवानका साथमा आएर हुनुपर्छ ऊ आएपछि जाँदै गईन।मेरो त्यो छटपटी आमालाई अनौठो लाग्नु स्वभाबिक थियो।

-के भो भन् त -सोध्नु भयो।

अब के भयो भन्नु?मेलो मेसो पाईन।आखिर ठ्याक्कै भएको के थियो म आफैलाई पनि कहाँ थाहा थियो र?म त फगत चङ्गा बनेर उडिरहेको मनबाट निर्देशित थिएँ।आफ्नो सोचमा परिपक्वता आएको देख्दै थिएँ।कम्तिमा मेरा हाउभाउले त्यत्ति त बताउदै थियो।यधपी आमाको प्रस्नका जवाफका लागी मनले फेरी बालक बन्न प्रेरित गर्यो,जो आवस्यकता पनि बनिदियो।

-पेट दुखिराछा,पखाला पनि भयो- भनेँ।

अक्सर मेरो पेट खराब भइराख्ने हुनाले यो बाहानाले सजिलै काम गर्थ्यो।मलाई सम्झना छैन त्यसअघि आमालाई झुटो बोलेको तर म साँचो बताउन सक्ने अवस्थामा थिईन।हुनसक्छ मलाई प्रेम नै भएको हो भन्ने बोध मैले गरेको भए नरेलाई ढाँटे पनि आमालाई साँचो बोल्दो हुँ।तर त्यसो हुन सकेन।होस् कसरि,टुसाउदो प्रेम आफैँपनि माटो छेडेर बाहिर निस्किन धरमर गर्दो रहेछ।टुसाई सकेपछि यदी उचित सम्भार नगरे माटो भित्रै खरिन सक्ने रहेछ।प्रेम त अकबरे खुर्सानी जस्तै,जसलाई नमिठो भन्ने मान्छे भेटेकै छैन साथै पिरो छैन भन्ने पनि त भेटेको छैन।प्रेममा त अनगिन्ति स्वाद आफैँभित्र समाहित गर्न सक्ने तागत पो रहेछ।

प्रेमले झुट बोलाउदो रहेछ।नदुखेको पेट दुखाउदो रहेछ।हाय!यो प्रेम।

मलाई केहिपनि खान मन त यसै थिएन।बिमारीको बाहाना गरेपछि खाने कुरा पनि भएन।आमाले तातोपानी र बिरेनुन ल्याईदिनुभयो।आमाको ममतामयी आग्रहका बाबजुत पनि अन्न खाईन।

-दस थरि खाईस होला अनि पेट नदुखे के दुख्छ तेरो?आमाको स्नेह कोठाभरि गुञ्जियो।

बिरेनुन र तातो पानीले निको पार्ने रोग लागेको थिएन मलाई।आँखामा निद्रा भन्ने आएन।फिटिक्कै आएन।मलाई त्यहि गीत फेरी सुन्न मन लाग्यो।उसले नाचेको फेरी हेर्न मन लाग्यो।आफुले मात्रै हेर्न मन लाग्यो।अब आईन्दा उसले सबैका सामु ननाचिदिए नि हुन्थ्योझैँ लाग्यो।मनमा के के कुरा खेलेर गए पत्तो पनि भएन।जे जे हुँदै थियो हतारमा हुँदै थियो।गतिशील थियो।घरि भित्तामा टाँसीएका पत्रिका त घरि सिलिङ हेर्दै,पटक पटक कोल्टे फेर्दै,बारम्बार ट्वाईलेट जाँदै त्यो रात मैले आफुलाई बिर्सिदिएँ।आफ्नो हैसियत बिर्सिदिएँ।आफु एउटा गरिब दमाई मात्रै हुँ भन्ने पनि बिर्सिदिएँ।मैले आफु रवी परियार हुँ भन्ने समेत बिर्सिदिएँ।कोपिलाले ममा रातभरी राज गरि र आफु सुस्तरी म भित्र फूल्दै छु भन्ने जानकारी गराउन कतिबेला सपनामा देखापरि पत्तै भएन।

बिहान आमाको कचकचले ब्युँझिएँ वा ब्युँझिए पछी कचकच सुनेँ कुन्नि,आमा कुखुराको खोरबाट फतफताउदै हुनुहुन्थ्यो।

“चाड आईसक्यो,बाऊ सँगै मेला गएनि चारमाना अन्न भित्रिदो हो घराँ।एत्रो भाको लाठे घाम दैला ठेलां आईपुग्दा सम्म पसारिन सरम लाग्न पर्छ कि पर्दैन?”

मलाई लाग्यो आज मेरो खैरियत छैन।घाम झलमल्ल लागि सकेछ।साँच्चै म अबेर सम्म मस्त निदाएछु।अब आमालाई फकाउनु कसरि?साँच्चै पेट दुखेको हुँदो हो त उल्टै घुर्की देखाउँदो हुँ तर बिनाकारण त्यसो गर्न मेरो ईमानले दिएन।त्यो संस्कार पाएको पनि थिइन।

लुसुक्क आमा भएतिरै गएँ।मलाई देख्नुभयो तर बोल्नु भएन।खुबै भलाद्मि पाराले सोधेँ “माताश्री केही बोलि बक्सदै होइसिन्थ्यो कि?”आमाले ठुला आँखाले हेर्नुभयो।“माफ गरी बक्सियोस्,श्रवणशक्तिमा कमजोरी आएछ।हुकुम बक्सियोस् सेवामा हाजिर छु।”

-डुमका छाना मुनि जन्मिएर राजाका भाषा बोल्छस्?

आमाले हाँस्दै भन्नु भयो।आमाले हाँसिदिदा मेरो संसारनै उज्यालो हुन्थ्यो।जहाँ जन्मिएपनि आफ्ना स्थितिमा हामीपनि राजा नै हौँ।हाम्रा आवस्यकता थोरै छन्।थोरैमा धेरै रमाउन सक्छौँ हामी।जे छैन त्यसको वास्तवमै जरुरत कहिल्यै परेन।मिठो खाना र एकसरो फेरफार लगाउन नै दुख गर्न पर्ने हामीलाई त्यो भन्दा परको चाहना राख्न जरुरि पनि थिएन।किनकि थाहा थियो त्यो पुरा हुन सक्दैन।सबै रहर कहाँ पुरा हुन्छन र।

आमा रिसाउँदा रिसाउँदै हाँसी दिनुहुन्थ्यो।कुखुरालाई दाना दिएर मैले बाख्रा छोडी दिएँ।आमाले पिंढी लिप्नु भयो।मेरो सानो घर चिटिक्क देखियो।आमालाई फोहोर देख्न हुँदैनथ्यो।म पनि ध्यान दिन्थेँ।हाम्रो घर सधैँ सफा रहन्थ्यो।धेरै जसो गाउँले लाई आमा दमिनी हैन जस्तै लाग्छ रे।यो दमाईको जात फोहोरी भएपनि माईली दमिनी कति सुघर सफा गर्छे भन्छन रे।खै आमाले गर्ने घरको सफाई,भगवान प्रतिको आस्था,मिठो वचन,सहयोगी मनले दमिनी हुनबाट रोकेन।अछुतको पर्खाल भत्काएर मान्छेको जात हो अरु न कुनै जात र न कुनै वर्ग भन्न सकेन।जी हजुरी नगरी हिड्न पाउने अधिकार फर्काउन सकेन।

काम सकेर म हातमुख धुन धारमा गएँ।पानी भर्नेहरुको भिंड थियो।सबै नहिँडे सम्म कहाँ छिर्न पाईन्थ्यो र?यत्तिकै फर्किएँ।

-फेरी धारामा गैस्?कति भन्नु विहान चोखो पानी थाप्नेको लर्को हुन्छ नजा भनेर!भनेको मान्न छोरा।

आमाले दिक्क मान्दै भन्नु भयो।मलाई धारामै गएर हातमुख धुन,नुहाउन,पानीसँग खेल्न मन लाग्थ्यो।ढुंगेधारामा हेलिनुको मज्जा घरमा जगले पानि खन्याउनुमा कहाँ थियो र?तर मैले जात नै त्यहि पाएको छु जो निर्धक्क धारा पँधेरामा सम्म जान पाउदैन।

यो कस्तो विडम्बना?यो सब किन र केका खातिर?यो निषेधको अव्यवस्थाले आखिर फाईदा कसलाई होला?

सार्वजनिक स्थानमा समेत समान सहभागिताका लागी लड्नु पर्ने र त्यसले दिने आत्मसम्मानको चोट हामि अछुत भनिएका बाहेक अरुले के बुझ्लान्?बा’आमालाई आफ्नो जातका नाममा पाईएको उपहासको बानी परेको हुनसक्छ वा त्यसको प्रतिकार पछि निस्कन सक्ने परिणामको बोध भएको हुनसक्छ।त्यसैले यथास्थितिलाई चुपचाप स्विकार्नु भएको हुनसक्छ।तर मलाई सबै अवस्थामा यो स्विकार्न कठिन हुन्थ्यो।विशेषगरि धारा पँधेरा र मठ मन्दिरमा।के जात के वर्ण के वर्ग एउटै समाजमा बस्ने सबैलाई समान हक छैन ति स्थानमा उपस्थित हुन र उपयोग गर्न?

म मनमनै भनिरहन्थेँ “मलाई दलित भन,दमाई भन,डुम भन,अझ दरिद्री भन,भलै वचनका प्रहार धारिला र चोटिला हुन् म सहुँला तर मलाई अछुत नभन।मलाई निषेध नगर।म सँगै बसेर खान नहिच्किचाउ।मलाई छुँदा कसैको केहिपनि बिग्रिदैन किनकि म पनि तिमि जस्तै मान्छे हुँ।तर मरो यो मनको अनुरोध,यो दुखाई,यो अधिकारको आवाज साँच्चैको आवाज बनेर निस्किन सक्दैनथ्यो।कारण मेरो यो आवाजमा आवाज थपेर बुलन्द बनाउन सक्ने अर्को कोहि थिएन।मेरो मनको आवाज ओठबाट भित्र भित्रै दबिन्थ्यो।

हामी बिचमै बोलेर अवस्था फेरिन्न भन्ने गलत धारणा बनेको थियो।के यो जात र यो वर्ग निर्धारण गर्न कुनै क्रान्ति भएको थियो होला र आज यो मेटाउन क्रान्तिको आवस्यकता परोस्?तानाशाहतन्त्र,धर्म-संस्कार,श्रम,भू-बनोट र छालाकै आधारमा ओठे उर्दी न भएको हो र लुटिएको हो मानिस भन्ने जात साथै जबर्जस्ति थमाईएको हो कुजातको उपनाम।

मेरो मगजमा यो समाजको सबैभन्दा ठुलो अपराध हो भन्ने चेत तब बसेको थियो जब लालीआमैलाई उनकै आरनमा निर्ममतापुर्वक होमियो र कुँजो बन्न बाध्य पारियो।कारण अरु के हुन हुनसक्थ्यो?कारण के चाहिन्थ्यो र उपल्लो जात लिएकाहरुलाई?बस् आमैको गल्ति यत्ति भयो कि उनले कमिनी भएर जन्म लिईन।गाउँमा एउटा मात्र पँधेरो थियो तर गाउँले सबैको भएन त्यो पँधेरो।अछुत भनिएकाहरुले तल फाँटमा बग्ने खोलाबाट पानी उपयोग गर्नु पर्थ्यो।अछुतले पँधेरोबाट पानी उपयोग गरेमा पँधेरो बिटुलिने निच र हदै सम्म गिरेको सोच व्याप्त थियो।कसैलाई हेक्का थिएन कि पानी जस्तो अत्यावस्यक कुरामा बन्देज गर्नु मानव हुनुको औचित्य गुमाउनु सरह हो।

सधैँ एकनास किन हुन्थ्यो र?नजिकको पँधेरो छोडेर खोला बाट पानी पिएर कपाल फुलाएकी लालीआमै खोला सम्म पुग्न सकिनन्।खोला घर सम्म आएन।प्यास मेट्नु थियो।समानताको प्यास,सहअस्तित्वको प्यास,कुजातको सँज्ञाले मरुभूमि बनाएको आत्म सम्मानको प्यास।त्यो प्यास,त्यो तृष्णा मेट्न लालीआमैको गाग्रो पँधेरोमा पस्यो।लाग्यो एउटा हिम्मत पौडी रहेछ,लाग्यो एउटा कु-सँज्ञा पखालिई रहेछ,लाग्यो युगौँ देखी गाडिएर बसेको कु-सोच र कु-संस्कार पनि थोपा थोपा बनेर रछ्यान बाट बगेर विलिन भैरहेछ।लाग्यो गाग्रोले मानवता उभाएर ल्यायो,एकता भरेर ल्यायो।अँधेरो रातमा लालीआमैको मुजै मुजाले भरिएको अनुहारमा खुसीको रोशनी देखियो।

आमैलाई लाग्यो यो गाग्रोको पानी गाउँभरी बाडौं र भनौँ हेर मैले छोएको पानीमा स्वाद फेरिएको छैन।मैले छोएको पानीले पनी प्यास मेट्दछ।यस्तो लाग्दै थियो भोली बिहान हुने उज्यालोमा लाली आमै चोखिएर उठ्ने छिन्।आमैको यो आत्मविस्वास पँधेरो भित्र शान्त बसेको पानीमा सपाट देखियो।गाग्रो कम्मरमा राखिरहँदा लालीआमैले देखिन जुन पनि पानीमाथि बसेर मुस्कुराई रहेथ्यो।सायद भनिरहेथ्यो अमृत बोकेर गयौ आमै।

गाग्रो भरी अमृत नभएर विष बोकेर गएकी रहिछन भन्ने कुराको जानकारी भोलि पल्टको घामले लिएर आयो।आरनमा हँसिया अर्दापी रहेकी लालीआमैलाई आरनमै डढाएर आफुलाई सबै भन्दा माथिल्लो जातको मान्ने सोमनाथ पण्डितले धर्म,संस्कार रिवाज र समस्त मानवताको अर्को आहुती दिए।फेरी धर्मको खिल्ली उड्यो,मानवता पातालमा भासियो र अन्धविस्वासको अर्को कुरुप दाग बस्यो जो लाली आमैका पाखुरामा आज सम्म छ।निकै वर्ष पहिला घटेको त्यो घटना मस्तिष्कमा सधैँ ताजा रहन्छ किनकि त्यो घटना आफूमाथि नघट्ने ग्यारेन्टी थिएन।

दशैँ आँगनमै आईपुग्यो।बा’आमाले मेलापात गरेर मासु,चामल,गेडागुडी ,पिठो,आलु ईत्यादि सामलको जोहो गर्नु भएको थियो।जो सधैँको काम हो।व्यस्तता हो।बाध्यता हो।

त्यो दशैँमा खै कसले एकजोर कपडा पठाई दिएछ।जिन्सको पाइन्ट र मखमलको चेक सर्ट।गाउँमा कोहि कोहीका घरमा एकाध पटक लगाएपछि ति कपडा पुराना मान्ने चलन थियो।भलै ति कपडा अझै टिकाउ किन नहुन।त्यसरी पुग्ने हरुलाई त्यो सामान्य कुरा हुन्थ्यो।नपुग्ने हरुलाई चलन,चल्ती र प्रथाले रुवाउँथ्यो मात्रै।

कति यस्ता दशैँ आएर गएका थिए,जहाँ रौनक भन्दा रुवाई धेरै हुन्थ्यो।बा’आमालाई लाग्थ्यो एउटा छोरोलाई एक धरो लाउन र मिठो खान दिन सम्म सकिएन।धिक्कार्नु हुन्थ्यो आफ्नो लाचार जीन्दगीलाई।कोही कोही दया गरेरै पठाई दिन्थे।जसरी आएपनि आफ्ना लागी कपडा आउँदा मन पुलकित भईहाल्यो।तर उमेर बढ्दै आउँदा त्यो खुशीमा असहजता र मागेरै लगाउनु पर्नाको आत्मग्लानीको सानो सानो घेरा बस्दै आएको थियो।भन्न त भन्थेँ म अर्काले लगाएको कपडा लगाउदिन तर आफ्नो थिएन लगाउनुको विकल्प पनि त थिएन।

तिनै कपडा नयाँ भईहाले,लगाएर मावली गएँ।अरु त खास के हुनु थियो र आखिर मावली पनि त उस्तै चपेटामा हुन्थे।खान लाउन कै धौ धौ।यधपी दशैँको दक्षिणाको भने आस रहन्थ्यो।पाईन्थ्यो पनि।सदाझैँ त्यो दशैमा पनि पाईयो।सोचेँ एउटा घडी किन्छु।कालो रंगको राती बत्ति बल्ने मिल्किने घडी।मन फुरुङ्ग भयो।अझ नरेलाई लगाएर देखाउछु भनि सोच्दा त कतिबेला बजार जानु जस्तो भयो।

बा’ले पनि केहि भन्नु भएन।मावल बाट फर्किएको भोलि पल्टै चार दोबाटोको घडी पसलमा म घडीहरू हेर्दै थिएँ।साहुले हेर्दा राम्रा तर महँगा घडी देखाउँदै थिए।आफुसँग भएको रकमले घडी किनेर घर पनि पुग्नु थियो।सेल र केराउको तरकारीको रहर पनि मेट्नु थियो।आईसक्रिम पनि खानु थियो।फेरी आएर खाउँला भन्दा अर्को दशैँ पर्खिन पर्थ्यो।अरुका जसरि मेरा बा’ले बजार घुमाएर खर्च गर्न कसरि सक्नु।त्यसैले हेर्दा राम्रो र अलि सस्तो घडी किनेँ।नाडीमा बाँधेपछि बजार भरि आफुले मात्रै घडी लगाएको छु जस्तो लागी हाल्यो।कसैले आफूतिर हेरे भने घडी नै हेरे कि जस्तो लाग्थ्यो।म भित्र केहि महिना देखी बेग्लै चंचलता आउन थालेको थियो।एकैछिनमा फुरुक्क पर्नु,एकैछिनमा अकारण दुखि हुनु,झनक्क रिसाउनु,फेरी सम्हालिनु,कपाल बारम्बार मिलाउन मन हुनु,माया प्रेमका गीत सुन्नु आदि आदि स्वत हुँदै थिए।

मलाई लाग्दै थियो म भित्रको त्यो फुच्चे रवि,त्यो बालख बिस्तारै छुट्दै छुट्दै गई रहेछ।घडी लगाएपछि झन् भुइँमा खुट्टा अडिएन।उफ्रिदै हिड्न मन लाग्यो तर गर्न सकिन।कसैले सोधे पनि हुन्थ्यो नि घडी पो लगाएको भनेर।कसैले सोधेन।यत्तिकैमा कोपिला सम्झिएँ।ओहो उसलाई सुनाउन पाए कति खुसि हुँदी हो।हुन त उसको नाडीमा मैले पहिल्यै घडी देखि सकेको थिएँ।सायद मेरो यो खुसीमा खुसि भएर साथ देलि भन्ने धमिलो ईच्छाले हौसिएँ लगत्तै त्यसले अर्को वेचैनी बढायो।उनलाई भेट्ने हतारो बढायो।

फुटपाथमा हिड्दै थिएँ।दशैँको अन्तिम चहल पहल छिटफुट देख्न सकिन्थ्यो।धुँवा उडाउँदै बजारनै थर्किने गरि दौडिएका बाईक हेरेर लाग्यो यो जुनीमा त चढ्न सम्भव छैन हेरेरै चित्त बुझाउछु।बाईकको पछाडी बसेर कालो चस्मा लगाएर मुखमा सल बेरेर कपाल हावामा छोडेका केटीहरु देख्दा कोपिला लाई सम्झिएँ।कल्पना गर्थेँ त्यो चलाउनेवाला आफु अनि आफ्नो ढाडमा टाँसीएकि कोपिला।कस्तो रोमान्चक कल्पना।म सपना देख्न भन्दा कल्पना गर्नमा रुचि राख्थेँ।सपना त नआउन पनि सक्छ।कल्पना त आफुले गर्ने न हो।आफूखुसी गर्न सकिन्छ।र त्यो कल्पनामा रोजेको जीवन जीउन सकिन्छ।

उत्साह,खुसि,उमंग र उत्तेजनाले म सिमलझैँ हलुका भएर उड्दै थिएँ।चटकेको चटक हेरेँ।भिडभाड हेरेँ।मान्छेको हतारो कत्ति हो कत्ति लाग्यो यसरी नै दौडादौड गर्दा गर्दै जीन्दगीले विश्राम लिन्छ र वास्तवमा बाँच्नु पर्ने जीवन जीइएकै हुँदैन।बजारभरि डुलेर सेल र केराउको तरकारी खाएर म घर फर्कदै थिएँ चोकको दोकानमा पण्डितनि लाई देखेँ।यो मन खै किन त्यस्तो भएको थियो कि पण्डितनिलाई देख्दा पनी कोपिलाको सम्झना घनिभूत भैदिन्थ्यो।एउटा अप्रत्यासित डरले झ्याप्प झम्टिन आउँथ्यो।झट्ट छोडीदिन्थ्यो।एउटा खुसि रुपी हर्मोन तत्काल बनेर रगत सँगै बगेर अनुहारका नसाहरुमा दौडिएको भान हुन्थ्यो।

डर यसकारण हुन्थ्यो कि कतै मेरो मनमा उम्रिएकि कोपिला उनकी आमाले देख्ने त हैन?कतै व्यक्त गर्न नपाउँदै यो प्रेम जस्तो केही भैरहेथ्यो म भित्र हराउने त हैन?जुन जात लिएर म जन्मिएँ,जुन थर मेरो नामको पछाडी जोडिएको छ त्यसको लाचारी र विवशतालाई बिर्सिएको आरोपमा म लगायत परिवार समेत छिन्न भिन्न हुने त हैन?यो डर सधैँ उही घनत्वमा रह्यो मेरो मन मस्तिष्कमा।फेरी यो सबैबाट थोरै पर खुसि जस्तो केही लहलह गर्दै हल्लिरहेको देख्थेँ जहाँ कोपिला हुन्थिन।मनमा एउटा प्रेमिल ध्वनि बज्न सुरु हुन्थ्यो जसले भनि रहन्थ्यो म छु नि प्यारा,नडराऊ।त्यो आभाषनै पर्याप्त थियो तमाम छेकबार र तगाराहरुलाई पन्छाउँदै सारा दुनियाँ सँग युद्ध लड्न।त्यसैले मलाई प्रेमको शक्तिमा कता कता विस्वास लाग्न थालेको थियो।जसले मलाई हिम्मत दिन थालेको थियो।आफुलाई बिर्सन सक्ने हिम्मत।जातको विभेदकारी जङ्गलमा आगो लगाउन सक्ने हिम्मत।निषेध र निस्तेजको समाजमा उपस्थितिको हिम्मत।मनले गलत हुँदै छ भनेर कता कता चिमोट्न थालेपनी म चुपचाप अगाडी बढीरहेँ।

हुनेखाने हरुका लागी दशैँ अर्कोसाल पनी उही उमङ्ग बोकेर आउने वाचा सहित बिदा भयो।हाम्रालागी त उही

विवशता,रहर,खाँचो,बाध्यता,आँसु,आदि ईत्यादी लिएर आउनु नै थियो।आईहाल्थ्यो।तर मेरो मनले त्यसको खास चिन्ता राखेन।स्कुल सुरु हुनासाथ मलाई कोपिलालाई देख्न हतार हुन थाल्यो।देखिरहूँ जस्तो,हेरिरहुँ जस्तो,केही नबोली मुस्कुराई रहुँ जस्तो,आँखा आँखाले पलपल कुरा गरुन जस्तो कस्तो कस्तो,त्यस्तो हुनथाल्यो।बा’लाई भन्ने हिम्मत आएन आमालाई भनेँ,

‘म त अब तलको स्कुलाँ पड्ने’

किन ह्याँ के भो? – आमा।

केई हैन,मलाई तलै गएर राम्रो सँ पड्न मन लार।

नाटक नगर है छोरो।पड्नेले जाँआ नि राम्रो पड्च।- आमा।

नाई म जाने हो।बा लाई भन्दिनु न।- मेरो आग्रह।

ठुलो कक्षा पड्न जानुपरी हाल्च अईलै केको जिद् होर? – आमा।

कसैगरी कुरो मिलेन।आफ्नो मनको हाल आमाले पनि नबुझेकोमा रिस उठ्यो।मगज खलबलियो।कतै केही नगरी ओछ्यानमा पल्टिएर दिन बिताएँ।पहिलो पल्ट लाग्यो आमाले मलाई माया गर्नु हुन्न रैछ।मैले पनी आमालाई माया नगर्दो रैछु।मुटु भित्र अरु कसैको आगमन भएपछि यहाँसम्मको सोचले घेर्दो रहेछ।यो मायाले मलाई के बनाउन थाल्यो गाँठे।के के हुँदै छ मेरो मस्तिष्कमा?यस्तो त म कहिल्यै थिइन।के प्रेमले यो हद सम्म परिवर्तन गराउँछ र मान्छेलाई?म यही कुरामा घरी खुसि हुने घरी चिन्तित त घरी सोच शुन्यताले घेरिएँ।साँझमा बा आएपछी आमाले मेरो दिन भरिको कर्तुत बताईदिनुभयो।बा रेडियोमा ‘घटना र विचार’ सुन्दै हुनुहुन्थ्यो।आमाको कुरालाई खास महत्व नदिएपछि,

– हैन यी बाउछोरा किन यसरी बिग्रिएका अचेल?चुलामा अगुल्टो ठोस्दै आमा बोल्नुभयो।

बा अझै बोल्नुभएन।

-हैन मेरो कुरो नसुन्या हो कि तङ्ग नलाको हँ?आमाको आवाज रवाफियो।

सुकेको खुर्सानी भुटुनमा परेपछि बा’को खोकी निस्कियो।एक लप्को खकारले मुख भरियो।

-अब त्याँड थुक्ने हैन नि सागमा पर्च आमाले टोक्नु भयो।

बा जुरुक्क उठेर रछ्यानमा जानु भयो।

-परेको उस्तै,जन्मेको उस्तै,अलिकति सफा सुग्गर नचाहिनि कस्तो सुँगुर बुद्धि गाँठे।आमा फतफतिनु भयो।

-‘के गर्छेस त तँलाई यहि सुँगुरको माया लायो त’भन्दै बा मझेरीमा बस्नु भयो।

आमा अगेनोतिरै फर्किएर मुसुमुसु हाँस्नुभयो।देखेर मलाई मज्जा आयो र लाग्यो मेरा बा आमाले जति एक अर्कालाई माया कसैले गर्दैन।

-राम्रो सँ पड्च भने जाओस् न त हुन्दे।लामो सास फ्याँक्दै बा बोल्नु भयो।मेरो त्यो रात अँध्यारो बिना नै कट्यो।

*******************************************************

कक्षाको माहोल नै अलग थियो।माथि स्कुलमा सबैभन्दा सफा सुकिलो लगाउने म नै थिएँ तर यहाँ त सबैभन्दा फोहोरी देखिएँ।अरुका कपडा नयाँ नै देखिन्थे मेरो सिवाए।औकातको पनि ठाउँ हुने रहेछ।म भन्दा कमजोरका अगाडी मात्रै म अब्बल देखिईने रहेछु।तर भिडमा जाने हो भने,प्रतिस्पर्धामा जाने हो भने मैले आफुमा हर तरहले परिवर्तन ल्याउनुको अपरिहार्यता कक्षाको पहिलो बसाईले दर्सायो।उही गाउँ,उही ठाउँ,उही गाउँले,उही पाठ्यक्रम तर चमक अलग।सीकाई अलग।पहिलो दिन भएर पनि होला मलाई उत्तिको हेयको दृष्टिले कसैले हेरेन।कतिपय चिनजानकै केटाहरु थिए।नौलो लाग्नु पर्ने कारण बाँकी रहेन।अग्लो र दुब्लो ज्यान कक्षाको सबैभन्दा पछिल्लो बेन्चमा टेसिएको थियो।बेञ्च पार्टर थिए सुकुलाल श्रेष्ठ र प्रभु दाहाल।मेरो थरले अरु भिन्न थरका मित्र पायो।भिन्न जातको सङ्गत पायो।सम्भवत पहिलो पटक म आफु भन्दा ठुलो जातका दुई हस्तिसँग काँध जोडेर बसेको थिएँ।यसले उनीहरुलाई पनि कतै असहज गराएन भन्ने सम्म मैले बुझेँ।

चौरासी जनाको त्यो कक्षाकोठामा कोपिला केटी तर्फको हारको अघिल्तिर बाट तेस्रो बेन्चको भित्तामा बस्दि रहिछन्।निकै बेरको सकस पछि आँखाले यत्ति पत्ता लगायो।मलाई डर जस्तो,उत्साह जस्तो,थकाई लागेजस्तो,मुख सुकेजस्तो हुनथाल्यो।जब म कोपिलाको अनुहार सम्झन्छु किन यस्तो हुन्छ होला।मेरो प्रेमको एकोहोरोपनले आफूभित्र गतिलो जरा गाडी सकेको मलाई थाहा थियो।त्यो जराले मेरो प्रेमको भूगोल बाँध्न सक्ला कि नसक्ला?मेरो मनले बढाउन थालेको हिम्मतलाई उपल्लो जातको पहिरोले कुल्चन लाग्दा ढाल बनेर छेक्ला कि नछेक्ला?यस्ता प्रस्न आफैँ जन्माउँदै आफैँ जवाफ दिँदै मन हाजिरी जवाफमा लिप्त भैदिन्थ्यो।

घडीमा चार र टिनीनिनिनीनी घन्टी एकैसाथ बज्यो।स्कुल एकैसाथ हुलमुलमा हेलियो।मलाई लाग्यो कोपिलाले मलाई पर्खिनेछिन।मेरो पहिलो दिनको बारे सोध्नेछिन।तर त्यस्तो भएन।मेरा आँखालाई धागोले उनेर आफ्नो केशसम्म लगेर जोडिदिए पछि उनि सरासर घर तर्फ लागीन।कक्षामा खासै होहल्ला र चकचक नगरेकी कोपिला मस्त गफिँदै र हाँस्दै हिडिरहेकी थिइन्।मैले पछ्याई रहेँ।बाटो छोट्टीदै गयो।उनीसँग हिँडेकाहरुले आ-आफ्नो गोरेटो समाते।मेरो त कहाँ जानु थियो र?उनकै करेसो हुँदै उँभो लाग्नु जो थियो।उनको आँगनमा टेक्न लामो लामो ढुँगाका तिन ओटा खुड्किला बनाईएको थियो ।तलबाट पहिलो खुड्किलोमा उभिएकी कोपिला मलाई केही भन्दै वा सोध्दै थिइन्।म फेरी भर्खर तारिएको जलेबी जस्तो भएँ।शरीर रातो, तातो र कता कता बटारिएको थियो।मन त यसैपनि जलेबी नै हुने भैहाल्यो।

-कस्तो लायो हाम्रो स्कुल?उनले सोधेकी रहिछन।

-राम्रो।मैले भनेछु।

-किन लास्ट बेन्चआँ बसेको नि?उनको अर्को प्रस्न रहेछ जसमा मैले आफ्नै सैलिमा थोरै चिन्ताको र चित्त नबुझाईको स्वाद थपिदिएँ किनकि उनले मलाई कक्षामा देखेकी रहिछन्।आहा त्यसपछि त्यो प्रस्नको मिठास जलेबी सरह भैगयो।

-खाली तेहीं थ्यो तेई भर।आज्ञाकारी बच्चाले हर सवालको ठिक ठिक र अबिलम्ब जवाफ दिएझैँ उनको प्रस्नको जवाफ दिएँ।

उनि खुड्किलो उक्लिएर आँगनमा पुगिन।मलाई हेर्दै नहेरी पिंढीमा पुगिन।मैले देखेँ उनले ढोका बाट भित्र पस्नु अघि एक नजर म उभिएको दोबाटोमा पुर्याइन।नजर फर्काईन।र अलप भईन।

यो प्रकियाले अरु दुई साल बितायो।ति दुई वर्षमा मुस्किलले मैले दुई पटक उनि सँग नजिक हुन खोजेँ हुँला।म मा हिम्मत किन नआएको होला?कोपिलासँग सामान्य भन्दा सामान्य शब्द बोल्न पनि मलाई गाह्रो पर्थ्यो।जिब्रो थपक्क टाँसिएर बसिदिन्थ्यो।कहिलेकाहीँ गृहकार्यका विषयमा कुरा गरिन्थ्यो।कपि साटा साट गरिन्थ्यो।उनको कपि लिएर घर गएको दिन उनैलाई लिएर गएको आभाष हुन्थ्यो।भरिएका पाना होस् या खाली,म प्रत्येक पन्ना पल्टाउँथेँ जहाँबाट उनको सुगन्ध आउँथ्यो।कतै मेरो नाम लेखेकी त छैनन् भनेर एक एक कुना हेर्थें।आफ्नो कपी फिर्ता लिएको दिनपनि उस्तै हुन्थ्यो।केही लेखेर छोडेकी त छैनन् भनेर सम्पूर्ण पन्ना खोतलेर हेर्थें।केही लेखिएको हुँदैनथ्यो तर उनको उही सुवास,उही सुगन्ध टाँसिएको हुन्थ्यो जो म सुँघेर थाक्दिन थिएँ।

मनमनै म बाट म हराउन थालेको त करिब तिन वर्ष भैसक्या थियो यधपी शारीरिक रुपमा भने भर्खर देखापर्न थालेको थियो।घरमा टिभी आएको थियो।म खेत खन्न,मेला जान,सोतर काट्न,पर्खाल लगाउन जान्ने भैसक्या थिएँ।जसले बा’लाई सबैभन्दा सहज पारिदिएको थियो।सिलाउन भने उत्ति राम्रोसँग सिक्न सकेको थिइन।कमाउन सक्ने भएकाले बा’लाई एक प्रकारको सुकुन मिलेको थियो।जिल्ला स्तरीय परिक्षा आयो जसले अन्य परिक्षाले भन्दा भिन्न रुपले सतायो।सबै तयारीमा लागे म पनि पास त गर्नुपर्छ भनेर लागेँ यधपी कोपिलाको सङ्गतले मेरो स्तर सुध्रिएको थियो।मैदानमा उत्रिएपछि जतिनै अब्बल भएतापनि हार्ने डर हुँदोरहेछ।त्यहि डरले डोराएर जीततर्फ लाने रहेछ कि त?कोपिलाले आफ्नो परिक्षा राम्रो भएको सुनाईन।सुनेर मेरो पनि राम्रै भयोहोला भन्ने लाग्यो।

नतिजा नआए सम्म स्कुल जान परेन।म कोपिला प्रति झन् झन् आकर्षित हुँदै गईरहेको थिएँ।हरपल उनैलाई देख्न मनलाग्नु यो कस्तो मन?शनिबार टि.भीमा हेर्ने सिनेमामा पनि उस्तै तड्पन देखाउँछ,उस्तै पर्खाई,उही चाहना देखाउँछ।कहिलेकाहिँ लाग्छ मेरो कथा फिल्मका रुपमा आईरहेछ।मेरैलागी गीतहरु लेखिएका हुन्।मेरैलागी गाईएका हुन्।तर भिन्नता एउटा थियो कि ति नायकहरु म जसरी डराउँदैनन्।ति निर्धक्क गफिन सक्छन आफ्नी मनकी प्रेमिकासँग।म मात्रै किन यस्तो भएँ भनेर घोत्लिन थालेँ।जसरी ति नायकहरुले आफ्नो नजिकका मित्रहरु सँग मनको हाल बताउँछन् उसै गरी मैले पनि कसैलाई भन्न पाए सायद यो समस्याको सामाधान हुँदो हो झैँ लाग्यो।नरेलाई सबैकुरा बताउने निर्णय गरेँ।

-किस्न मन्दिराँ पुजा लाउने रे,सबैले सकेको रकम दिनु भन्या छन्।अर्को एकदिन बा’ले सुनाउनु भयो।

-हामी न पुजा गर्न पाउछम् न छिर्न पाउछम् किन दिनु?मैले भने।

-यो केटोको बुद्धि  कैले आउच हँ?मन्दिराँ दिनी हो,भगबानका लागी।पुजा आजा गर्न मन्दिराँ छिर्न पर्दैन।मनाँ हरी भएसी भो।आमाले कराउनु भयो या सम्झाउनु भयो मैले बुझिन।पाँच सय बिस दिने कुरा भयो।अर्थात किनेर खाने हो भने बिस किलो चामल आउने पैसा आफुलाई निषेध गरिएको एउटा मन्दिरका लागी खर्चिने भईयो।

यो वितृष्णा केही हप्ता अगाडीको घटनाको आलो घाऊ मेरो मनमा गाडिएको भएर हो।त्यहि कृष्ण मन्दिरको मर्मत सम्भारको कुरा भएछ।मन्दिरको चारै तर्फ ढुङ्गाको पर्खाल लगाउने काम आयो।म पर्खाल लगाउन सिपालु भएकाले ठेकेदारले आग्रह गर्यो।स्कुल जानु थिएन आउछु भनेँ।काम सुरु भएको दिन सोमनाथ र उसका आसेपासे आएर अछुतले पर्खाल लगाउन नमिल्ने उर्दी जारी गरे।सोमनाथ उही मान्छेको खोल ओढेको राक्षेस हो जसले लालीआमैलाई आरनमा डढाएको थियो।उसको अगाडी कसले के बोलोस्।मैले पसिना बगाएर खान पनी नपाउने यो समाज देखी घृणा लाग्छ।के थाहा फेरी अछुतले यो धर्तीमा छुनु हुँदैन भन्दै आउन बेर छैन।अछुतले फेरेको सास यो हावामा घोलिएको छ अब सास फेर्न पाईदैन भन्न के बेर?अछुतका आँखाले देखेका हर चिज बिटुलिए आँखा फुटाऊ भन्न के बेर?

दुख यसकारण लाग्छ कि यसको विरुद्धमा बोल्ने कोही छैन।पुछार लागेर हिड्नेहरुलाई पनि सोमनाथ आफ्नो घरमा छि छि र दुरदुर गर्छ।कम्तिमा तिनीहरुले त यो विभेदलाई बुझ्नु पर्छ?तर उनीहरु त्यसरी हेपिएर आउँदा पनि दिमागको ढकनी खुल्दैन र फेरी आफु भन्दा तल्लो जातलाई उही व्यबहार र उही वचनले डस्छन्।त्यो दुखाई बुझेकाले,त्यो पीडा सहेकाले फेरी किन अर्कालाई उही पीडा दिन्छन् होला?किन उसैगरी दुखाउँछन होला?कसरी मान्दो हो त्यो मनले?के कसैको मन पत्थरले बनेको हुन्छ होला र?

छेउछाउ बसेर बा’आमा कृष्ण भजन सुन्नु हुन्थ्यो।खुसि मान्नुहुन्थ्यो।मलाई भने कोपिलालाई नदेखेकोमा तनाव थियो।पुजा सुरु भएको हप्ता बितिसक्दा पनि कोपिला मन्दिर आईनन्।लेखनाथ पण्डित भने चौबिस घण्टा खटिएका थिए।मैले पण्डितनि लाई पनि देखिन।यो त अचम्मै भयो।गाउँमा यत्रो पुजा हुँदा पण्डितनि नदेखिनु मेरो लागी नौलो विषय भैगयो।त्यो भन्दा ठुलो त कोपिला किन आईन भन्ने चिन्ताले कोतर्यो।केटाहरु उफ्रिने,चुरोट तान्ने,मुढा बालेर धुनी जगाउने,गाँजा भाङ तान्ने गरेर रात बिताउने गर्थे।म भने बिहान होस् या दिउँसो,आरतिको समय होस् या भजन,कृष्ण लिलाको नाटक होस् या कथा वाचन हर पल कोपिलाको प्रतिक्षामा हुन्थेँ।

-पण्डितनि लाई त देखिएन नि आमा यो पालिको पुजामा सोधेँ।

-अब किन चाहियो तलाई किन आईनन भनेर?कपडा धुन बसेकी आमा टक्क अडिएर मलाई हेर्दै भन्नुभयो।

-हन इत्तिकै- भनेँ।

-छोरी भका आमाहर्का अनेक काम आउँछन्।रित चलाउनु परिगो।जोड जोडले साबुन दल्दै उही रफ्तारमा फेरी बोल्नु भयो।

म वाल्ल परेँ।

-कति मैलो गराको रछ यो कात्रो।आमा एक्कासी रिसाउनु भयो।मेरो जिन्सको पाइन्ट धुन आमालाई सधैँ गाह्रो लाग्थ्यो।मैले आमाको थाकेको अनुहार हेरेँ।गलेका पाखुरा हेरेँ र मनमनै भने आमा आइन्दा लगाउँदिन।

‘छोरी भका आमाहर्का अनेक काम आउँछन्।रित चलाउनु परिगो।’आमाका यी शब्द मेरो टाउकोभन्दा माथिबाट उडेर गयो र घरि घरि टाउकोमै बस्न आयो।आखिर यसको मतलब के हुन सक्छ?पण्डितनि के को रित चलाउँदै होलिन?प्रस्न माथि प्रस्न थुप्रिन थाल्यो।एक झल्को मात्रै देख्न पाए हुन्थ्यो झैँ भयो।तर पाईन।यो वेचैनीले दृढता जन्मायो।आत्मबललाई तिखार्यो र तय गर्यो अब कोपिलालाई जहाँ जहिले भेटेपनी मेरो मनको हाल बताउने छु।प्रेम प्रस्ताव राख्नेछु।अब यो तड्पन र यो छटपटी बराबरी बाँड्ने आग्रह गर्ने छु।मनमा टुसाएकि कोपिलालाई ढकमक्क फुलेको हेर्ने छु।सोचेको कहाँ पुग्छ र।चाहेको कहाँ गर्न सकिन्छ र।आँटेको कहाँ पुरा हुन्छ र।यो त सिनेमामा मात्रै सम्भव रहेछ।सकिन मैले फेरी मनको हाल बताउन न त पुजामा मन्दिर किन नआएको नै  सोध्न सकेँ।कोपिलालाई पाउन,उनलाई आफ्नी प्रेमिका भन्न र उनि सँगै जीवन बिताउन आँट गर्ने म र त्यसका खातिर संसार सँग लड्छु सम्म सोच्न सक्ने म उही कोपिलाकै अगाडी कमजोर हुन्छु।भिजेको रुमाल झैँ लल्याक लुलुक हुन्छु।प्रेमले कमजोर पनि बनाउने रहेछ।म कोपिला भन्दा कयौँ गुणा कमजोर भएँ।

रिजल्ट आयो नि था पायौ?भन्दै हँसिलो मुहार लिएर एकाबिहानै कोपिला मेरो आँगनमा आईपुगिन।मलाई लाग्थ्यो उनलाई मेरो घर कुन हो थाहा छैन।मलाई गलत सावित गरिदियो उनको आगमनले।

कहिले?सोधेँ।यो पटकको मेरो ओठ काँपेको थिएन।शरीर हल्लिएको थिएन।मेरा आँखा उनका आँखामा बसेका थिए।

हिजो आएछ हामी पास भयौँ।उनले जीतको खबर सुनाईन।कोपिलाले खुसि भएर मेरो आँखामा हेरेर बोलेको हजारौँ पटक भयो होला बस मैले नदेखेको रहेछु।मैले नबुझेको रहेछु।

ल गज्जब भएछ नानी।बा’ले भन्नु भयो।

उ क्षणभरमै जान्छु ल भनेर गई।जाँदा मलाई पनि साथमा लिएर गई क्यारे दिन भरि मैले उनलाई देखिरहेँ।

कक्षा नौ सुरु भएर निकै पर पुगिसकेको थियो।म फेरिएको थिएँ।मेरो शरीरले भिन्न ढाँचा ल्याएको थियो।नरेसँग फाँटको खोलामा गएर निवस्त्र पौडिने काम रोकिएको थियो।यसैपनि घरको जिम्मेवारी लिन थालेको थिएँ।उमेर भन्दा पहिलै दौडिएर परिपक्वताले जीतेको थियो।समाजलाई झन् झन् नजिक बाट प्रतक्ष नियाल्न सक्ने भएको थिएँ।मान्छेले गर्ने व्यवहारको सही ढङ्गले पहिचान गर्न सक्ने भएको थिएँ।केहिसाल अगाडी सम्म मनमा आउने समाज र कुथिति प्रतिको विद्रोह उस्तै थियो तर व्यवहारिकताले केही अलग गराएको थियो।आत्मसमर्पण नै नभए पनि त्यहि समाजमा रहनका खातिर केही सम्झौता गर्दै थियो मनले।परिवर्तन एक रातमा एक्लो व्यक्तिले ल्याउन सक्ने हैन रहेछ।परिवर्तन भनेको जसलाई चाहिएको हो र जसले दिन पर्ने हो त्यहाँ बाट जन्मने रहेछ।विडम्बना छूत र अछुतको समागम आज सम्म हुन सकेन।पारस्परिक चेतले नछोएसम्म यो अरु कयौँ युग पार गर्ने निश्चित छ।यस्तो चेतनाले भरिएको थिएँ म।

कोपिलासँग निर्धक्क बोल्न सक्ने भएको थिएँ।आँखामा हेरेर गफिन सक्थेँ।मलाई लाग्थ्यो उनको पनि सबै भन्दा नजिकको साथी म नै हुँ।उनले मसँग गर्ने हरेक कुराकानी,उनको हेराई,उनले म सँग दुखाउने चित्त,मसँग राख्ने आसा,र म माथि गरेको भरोसाले धेरै कुरा बोल्दै थियो।यिनै सिलसिलाले सम्बन्धको मुल खाँबो गाडिसकेको थियो,यत्ति बुझ्न सक्ने भएको थिएँ।हामी बिच जातको कुरा कहिल्यै उठेन।सायद यहि कारण हुन पर्छ हाम्रो आपसको दुरी छोट्टीएको।म सँग हुँदा कोपिलाको मुहारमा आउने खुसीले मेरो आत्मबल बढाएको थियो।धैर्यता सिकाएको थियो र हर पल हर क्षेत्रमा हुने अपहेलना र उपहासलाई सहन सक्ने बनाएको थियो।

मङ्सिर तिन गते शुक्रबारको दिन स्कुलबाट पिकनिक जाने कुरा भयो।दक्षिणकाली।सबैजना जाने नै भईयो।चिसो मौसम हल्का सुरु भैसकेकाले सबैले स्वेटर र ज्याकेट भिरेका थिए।दुईवटा बस आयो।मलाई कोपिला सँगै बसेर जान मन थियो।नरेलाई सबै कुरा निकै पहिला नै बताई सकेको थिएँ।ऊ त मलाई सताउनु परेमा अथवा म बाट केही काम लिनु परेमा कोपिला भाउजुलाई भन्दिन्छु नि भनेर तर्साउन थालेको थियो।मलाई रिस र खुसि दुबैले एकसाथ अंकमाल गरिदिन्थे।नरेले कोपिलालाई  हकले भाउजु भन्न पाएको दिन मैले हकले मेरी श्रीमती भन्न सक्थेँ।यो चानचुने कुरा थिएन।

कोपिला,सुजिता,सरु,कोमल सँगै आए।म र अरु केटाहरु बसमा सामान लोड गर्दै थियौँ।मलाई हतार हुँदै थियो बस भित्र छिरेर कोपिलालाई सँगै बस्ने आग्रह गर्न।नरेले ठ्याक्कै बुझिहाल्यो।

-जा मुजी तेरो मनको कुरो मैले बुजें! मेरो ढाडमा धाप मार्दै नरे बोल्यो।

-बिहान बिहानै तेरो मुखमा कागले हग्छ है?नरेको बातै पिच्छे छाडा बोल्ने बानीले धेरै पटक अफ्ठेरोमा पारेको थियो।कम्तिमा आज कोपिलाको आगाडी शालीनता देखाओस् भनेर त्यति भनेँ।

-तँ जा न जा!भाउजु भित्र कुर्दै हुनुहुन्छ मुजी।मलाई हेर्दै नहेरी नरे फेरी बोल्यो।

म दगुरेर बसभित्र छिरेँ।कोपिला मध्यभागतिर साथीहरु सँगै बसिसकिछन्।देख्नासाथ मिठो मुस्कानले हिर्काईन।मैले पनि त्यहि कपि गरेँ।सिट ओगटेर बसिसकेकी कोपिला लाई साथीहरु छोडेर पछाडिको सिटमा आऊ भन्न कसो कसो मनले मानेन।उस्तो दुखि पनि भईन न त खुसि नै।

गाडी लाग्ने केटीहरु उल्टी हुँदैन भन्दै पाउँ खाँदै थिए।केटाहरु हल्ला गर्दै थिए।केहीबेरका लागी अन्ताक्षरी चल्थ्यो फेरी रोकिन्थ्यो।फेरी चल्थ्यो।रोकिन्थ्यो।जसमा म सामेल थिइन,उता कोपिला पनि सामेल थिईनन्।खै उनि कुन सोचमा डुबेकी थिईन कुन्नि?उनले कपालमा सिऊरिएको प्याजी गुलाफ हेरेरै मेरो यात्राले गन्तव्य भेट्यो।

-मन्दिर जाम न।स्पिकरको तार मिलाउँदै थिएँ कोपिला आएर भनिन्।

-अरे! पहिला चना र ब्रेड खाने अनि जता जता गएनी पाईन्छ।भनेँ।

-नाई के!खार पुजा गर्नु हुन्न।गर आईहाल्ने के।प्लिज न।

आहा!उनको आग्रह।लाग्यो उनि यसैगरी गनगन गरिरहुन।म चुपचाप सुनीरहुँ।फेरी उनि रिसाउन या रिसाएको अभिनय गरुन।मलाई झट्का लागोस्।उनि चुप बसुन,दृष्यमा सन्नाटाले राज गरोस् तर उनका आँखाले चाहिँ भनिरहूँन् जाम न हिँड ।त्यसपछि बल्ल उनलाई दाहिने पारेर कुम जोड्दै हिडौँ।हो कल्पनाको यस्तो पहाड ठडियो मेरो अगाडी।चिसो सिरेटोले पनि मेरो समर्थनमा आफ्नो वेग बढायो।बादलले छोपेको सुर्यले आफ्नो अनुहार देखायो।तर न्यानोपनको कुनै गुञ्जायस थिएन।

-रवि,कस्तो वाल्ल परेको के?जाम न छिटो।उनको आवाजले यथार्थताको जमिनमा पछार्यो।कल्पनाको पहाड भत्कियो।पहिरो गयो मनको एउटा कुनामा यधपी उनका आँखाले भनिरहेथे,जाम न हिँड।

एई!पुजा गर्न भनेर त त्यस्तो मिठो पाउँ नखाई आको म।चन्चले हुँदै बोलिन।

ए हो?मैले उनको सिको गर्दै उस्तै पारामा र उही लवजले सोधेँ।

अनि त? उनले भनिन्।लगत्तै! आम्मा मलाई जिस्काको रछ।पन्जा लगाएको हत्केलाले मेरो कोखमा चिमोटिन।के चिमोटियोस्।त्यो छुवाईको कसरी वर्णन गर्न सकिएला र?

-अरु कसैलाई गर्न नपर्ने पुजा तिम्लाई परेको है?

-उम्! कारण छ के।

-के कारण?

मन्दिर नजिक पुगेका थियौँ।उनले पछाडी भिरेको झोलाबाट पुजा सामाग्री निकालिन।फूल देखि पाला सम्म बोकेकी रैछिन ।जुत्ता खोलिन।गलाको मफलर खोलिन।धुप सल्काईन।मैले हेरीरहेँ।यहाँ कहिल्यै नभएको काम हुँदै थियो।मैले छोएको पुजा सामाग्रीले कोपिला मन्दिरमा पुजा गर्न लाग्दै थिइन्।

ल तिमिपनि जुत्ता खोल।उ:त्यो पानीले हात पखाल।र यो नरिवल लिएर आऊ।मलाई थाहा छैन किन हो कोपिलाले यी सब मेरा आँखामा एक पटक पनि नहेरी भनिन।उनि थोरै हतारमा,थोरै अत्यासमा र थोरै भय मिस्त्रित हाउभाउमा थिइन्।हुनसक्छ उनले सास रोकेर राखेकी हुन्।बिहानीको त्यो चिसोले मेरो छातीलाई हुरहुरी बाल्दै थियो।अप्रत्यासित,अनपेक्षित,अस्वीकार्य र असामाजिक काम हुँदै थियो मन्दिर परिसरमा।केहीबेर अघिसम्म पुतली जस्तै चन्चल गर्दै र बोल्दै हिँडेकी कोपिला यतिबेला पूर्णत फेरिएकी थिइन्।म लहरै बलिरहेका दियोहरु नियालिरहेको थिएँ।वास्तवमा के हुँदै छ भनेर बुझ्न सम्म नदिई कोपिलाले मलाई मन्दिरको द्वार सम्म घचेट्ने चेष्टा गरिन।

-कोपिला म त्याँ जान हुन्न।

-कसले भन्यो हुन्न?

-तिम्लाई था छ त कोपिला।

-म सँग हुँदा तिम्लाई कतै छेकबार छैन।तिम्लाई निषेध छैन।बुझ्यो नि?

कोपिलाको अनुहारमा रगतको बाढी आएझैँ लाग्यो।मलाई के र कसरी प्रतिक्रिया जनाउने सुझेको थिएन।

-पहिला ह्याँ पुजा गरौँ अनि म भन्छु।हुन्छ?कती मायालु तरिकाले सोधीन।हुन्छ?

मैले बोल्नु केहि थिएन,गर्नु केहि थिएन सिवाय उनको सिको गर्नु।उनले मुर्तिका जहाँ आफ्ना हातले छुन्छिन त्यहाँ छुनु।उनले जहाँ फूल चढाऊँछिन त्यहाँ फूल चढाउनु।बस्।मैले जीवनमा पहिलो पटक मन्दिर भित्र गएर,भगवानका मुर्ति छोएर,भगवान लाई नजिक बाट नियालेर पुजा गरेँ।

बाहिर निस्किएर कोपिलाले मूल ढोकाको ठेलामा नरिवल फुटाईन।त्यसबाट निस्किएको केहि थोपा पानी मन्दिरमा छर्कीदिईन र केही थोपा मेरो शिरमा।त्यतिबेला उनि भन्दै थिइन् ‘मेरा लागी तिमि कहिल्यै अछुत थिएनौ,छैनौ र कहिल्ल्यै हुने छैनौ।तिम्रो आफ्नो मनमा भएको त्यो जातको मैलो र तिमीले बोकेर हिँडेको दलितको उपनामलाई मैले यो जलले मेटाई दिएकी छु।मलाई बाँकी दुनियाँ र तिम्रो सम्बन्धको बारेमा केही भन्नु छैन तर मेरो लागी तिमि म बराबर छौ,मेरो लाएक छौ र मेरो मनले तिमीलाई आफ्नो बनाउन चाहेको छ।रवि! आई लव यु।’

उनका ति शब्दहरुले मलाई के भयो कुनै मेसो भएन।म सायद त्यो भित्रको भगवान जस्तै बनेछु कि त,पूर्णत स्थिर,शान्त र भावहिन।

मैले वर्षौँ देखि चाहेको,एउटा मिठो पलको उदघाटन भएको थियो।कोपिलाको हिम्मतले आकास छोएको थियो।म प्यारालाईसिसको बिरामी जस्तो भएको थिएँ।फर्कदै गर्दा कोपिला पुन चन्चलताले भरिएकी थिइन्।यस्तो लाग्थ्यो उनको वदनबाट हजारौँ किलोको भार हटेको छ र मन बादल बनेर उडी रहेको छ।उनको अनुहारलाई सन्तुष्टिको कुहिरोले छपक्क छोपेको छ।उनि बोलिरहने मुडमा थिइन्।बिना सवालका जवाफ दिईरहेकी थिइन्।

किस्न पुजाको अगिल्लो दिन मेरो फस्ट टाइम पिरियड भयो।बिना प्रसंग उनले यो बताईन।

मैले एक झट्का लगाएर उनितर्फ़ हेरेँ।फिस्स हाँसे।उनले पन्जा लगाएको दाहिने हत्केलाले ओठ छोपिन।सम्भवत उनलाई लाजको एउटा धर्को मेटाउनु थियो।

त्यसपछि बाहिर निस्किन मिलेन।मन्दिर जान पाइन।तिमीलाई सम्झी रहेँ।तिम्रा आँखाले मलाई खोजिरहे होलान जस्तो लागी रह्यो।

मलाई थाहा छ तिमि पनि मलाई माया गर्छौ।गर्छौ नि है रवि?

-कसरी देखाउँ कोपिला? सासको लामो सर्को सँगै यती निस्कियो ओठको बाटो भएर।

-जसरि तिमीलाई आउछ।कती छिटो फर्काइन यो जवाफ।

-मेरो तरिका तिमीलाई मन परेन भनेनी?

-मलाई सम्पूर्ण तिमि मन पर्छ,जसमा तिम्रा तौर तरिका पनि पर्छन।

यतिबेला मैले संसार जिते जस्तो अनुभव गरेँ।आखिर कोपिलाले पनि यसरी सोच्दी रहिछन मलाई कसरि थाहा होस्?लगत्तै मनले फेरी गाउँमा पुर्यायो।कसैले देखे सुनेको भए मेरो र कोपिलाकै पनि के हुन्छ होला?

-तर कोपिला मैले मन्दिर छिरेर पाप गरेँ।एउटा अनिश्चित भवितव्यको सम्भावनालाई टेकेर भनेँ।

-मन्दिर छिरेर पाप हुँदैन धर्म हुन्छ रवि।यदी पाप नै भएछ भनेपनि हाम्रो आधी आधी भाग आउँछ।

उनले यो लाइन यसरी भनिन कि मानौँ उनि कुनै सुपरस्टार कलाकार हुन्।बस् त्यहाँ बनावटी मुस्कान थिएन,आवाज थिएन र हडबडाहट थिएन।हामी गफिदै मन्दिरको उत्तर तर्फको सिंढी उक्लदै थियौँ।

-भगवान सँग के माग्यौ?उत्साहित हुँदै सोधिन।

-भगवानले मागेको दिने भए माग्दो हुँ।भनेँ।

-दिने नदिने अलग भयो नि।भन न के माग्यौ?

यदि मागेको पाईन्थ्यो भने मेरो जीवन र अस्तित्वको सबैभन्दा ठुलो दाग मेरो यो जात मेटाउने शक्तिको माग गर्थेँ।मलाई र म जस्ता लाखौँलाई तथाकथित जातकै आधारमा गरिने अपहेलना,अभद्रता,उपहास र उपेक्षाको अन्त्य माग्थें।न्यायको भिख माग्थें लाली आमै र उनको जस्तै शारीरिक र मानसिक रुपले विक्षिप्त बन्न बाध्य बनाईएका लाखौँ आमैका लागी।

श्रम स्वतन्त्रता र कमाएर खाने अधिकारमाथिको सिन्डिकेट भत्काउने साहस माग्थें।यत्ति भन्नु थियो तर त्यो समय कहाँ यो सबका लागी थियो र।त्यो बिहानीले मेरो जीवनकै दिशा परिवर्तन गरेको थियो।सकिन भन्न यी सब मनमा दबिएर बसेका कुण्ठाहरू।

तर उनका सवालमा भएका नम्रता,उत्सुकता र मासुमियताले यति नभनी रहन सकिन कि मैले खास केही मागिन।जे माग्नु थियो त्यो मैले भगवान सामु पुग्नु अगावै पाई सकेको थिएँ।उसैले त मलाई भगवान समक्ष पुराई।तर एउटा कुराको आग्रह गरेको छु।त्यो के हो भने भगवान आफैँले त तिमीलाई बनाएन। उसको कालिगढले बनाएको हो।मेरा लागी यति सुन्दर व्यक्ति बनाईदिएकोमा त्यो कालिगढलाई धन्यवाद भनिदिनु भनेँ।

सुनेर कोपिला एक सेकेण्डका लागी ठुलो आवाजले हाँसिन र निकैबेरका लागी रोईरहिन।रोई रहिन मेरो छातीमा टाँसीएर।

त्यसपछिका दिन र रातले आफ्नो उपस्थितिमा प्रतिक्षा र तड्पनको कोसेली ल्याउन थाले।दिनले रातको प्रतिक्षा गराउँथ्यो जहाँ कोपिला मेसेन्जर बनेर रातभरी टिंग टिंग बझ्थिन।फेरी रातले दिनको प्रतिक्षा गराउँथ्यो जहाँ ट्युसन र कक्षा,चौर र डाँडा,जङ्गल र खोला,भोक र तिर्खा एकै भैइदिन्थे।एकसाथ भैईदिन्थे।हाम्रो सम्बन्धले एउटा बलियो नाम पाएको थियो त्यो पनि विधिबत् रुपले कालिलाई साक्षि राखेर।त्यति भएर पनि यो प्रेम परेवाका जोडी बनेर उड्न सक्दैनथ्यो।मयुरको प्वाँख बनेर फिजिन सक्दैनथ्यो।यसलाई बचाउन लागि लुकाउन जरुरि थियो जो हामीले गरिरह्यौ।लुकाईरह्यौ।

एसएलसी सकेर कोपिला बिहान बिहान कलेज जान थालिन।र दिउँसो सीलाई बुनाईको तालिम लिन थालिन।पण्डित परिवारलाई दमाईले गर्ने काम आफ्नी छोरीले गरेको कसरी निको लागोस।उनीमाथि बन्देजको प्रहार भयो।यो काम आफ्नो जातले गर्ने काम नै भनेर रोक्ने प्रयास गरियो।कोपिलाको विद्रोही आवाज आफ्नै घर भित्र गुञ्जिन थाल्यो।यो जात कसको हो?कसले बनाएको हो?कसले के गर्ने के नगर्ने भनेर निर्धारण कसले गर्ने हो?को अछुत हो,को दलित र कुजात हो कसले छुट्याउने?जस्ता प्रस्नहरु पण्डित घरमा बर्सिन थाले।त्यसको परिणाम निस्कनु थियो निस्की त हाल्यो।हाम्रो मित्रतालाई सानै देखि देख्दै आएका लोकनाथ पण्डितले मेरो घरमै आएर धम्की दिएर गए कि अब उपरान्त कोपिलाको आसपास नदेखिनु।यो सबै मेरो सङ्गतको असर हो भन्ने उनको ठम्माई थियो।।कोपिलालाई निस्कन पूर्णत निषेध गरियो।उनको फोन जफत गरियो।

भर्खर मेरो बाल्यकालको प्रेमले जवानीको खुड्किलोमा पाईला राखेको थियो।समाजमा कतै मेल नखाने,कसैले नस्विकार्ने हाम्रो प्रेममा पुन उही जातको तरबार पर्यो।बा’आमाको म प्रति भएको भरोसा पनि कतै डगमगायो।

तैलेँ आफ्नो औकात बिर्सिस केटा,गल्ति गरिस।तेरो यो गल्तीले लहराले पहरा तानेझैँ हामी सबैलाई तानेर कहाँ पुर्याउला?किन सोचिनस हाम्रा बारेमा?बा भन्दै जानुभयो।बोल्दै जानु भयो।गाउँमा कसैलाई थाहा नभएको बा’को तम्बाकु तान्ने बानि जो बा’लाई पिर,चिन्ता र आक्रोसले छोपेको बेलामा चाहिन्थ्यो त्यसले बुङ्ग बुङ्ती धुवाँ उडाउन थाल्यो।त्यहि धुवाँ हुनसक्छ आमाले दिएको संस्कार पनि डढेर निस्किएको हो कि?घरि घरि सोही धुवाँ भयको बादल बन्दो हो र आँखाले वर्षात गराउँदो हो।अनवरत बगिरहे आमाका आँखापनि।

अकस्मात यो के भयो भनेर परिस्थिति बुझ्न खोज्थेँ,कोपिला आँखाभरी आएर बसिदिन्थिन।एकातिर बा’आमा लोकनाथसँग माफी मागेर अब उपरान्त कोपिलालाई नभेट्ने र जे जस्तो सम्बन्ध छ त्यो सकिएको बताउनु बाहेक अरु कुनै उपाए नभएको भन्दै टोकी रहनु हुन्थ्यो।उता गाउँमा नसोचिएको हल्ला सल्लेरीको आगो सरि फैलीएछ।

माईला दमाईको छोरोले लोकनाथ पण्डितकि छोरीलाई सीन्दुर हाली सक्यो रे।

अभावले,दुखले,जन्मिएर सुकिसकेका रहर हरुले,जातको अपहेलनाले र केहि दिन अगाडीबाट मेरो यो कदमले चर्काएको बा’आमाको छाती ईत्यादिले अब मेरो घरमा आगो लाग्न यत्ति हल्ला पर्याप्त थियो।अब म र मेरा बा’आमा पनि लालीआमैको अवस्थामा पुग्न तयार हुनु थियो।आखिर भयोपनि त्यस्तै।लोकनाथ र उनका छोराहरु,सोमनाथ र उनका आसेपासे,रमिते अरु गाउँले हुरुरु घरभित्र पसे।सोमनाथले मेरो कपाल मुठ्याएर आँगनसम्म घिसार्यो।गल्ति गरो एल्ले एकबाजी माफी दिनुस्, बा हात जोड्दै हुनुहुन्थ्यो।आमाका आँखा असारको बलेसी भएको थियो।म सँग आफ्नो सफाईमा बोल्नु केही थिएन सिवाय आफ्नो प्रेमको वकालत गर्नु जो म गर्न सक्ने अवस्थामा थिईन।

हेर माईला मेरो नुन खाएर मेरै घरमा पस्ने हिम्मत जो तेरो छोरोले गर्यो,यो माफीको लाएका छैन।तेरो ठाउँमा अर्को कोही थियो भने यतिबेला डाँडो कटाई सक्थेँ तँलाई एउटा मौका दिन्छु,तेरो यो छाउरो लाई गाउँ बाट धपाई हाल।एल्ले यो गाउँ फर्किन नपाओस्।यो गाउँमा अरुपनि छोरीचेली छन्।यो कुजातको भर छैन।लोकनाथ पण्डितले कानुन बनायो सुनायो र गयो।म जाउँ कहाँ?मलाई बा’आमाले जा भनुन कहाँ?त्यो पनि कहिल्यै नफर्किने गरि?कहाँ छ त्यो बाटो जसले मलाई कहिल्यै नफर्किने बाटो लिएर जान्छ?

तर म निस्कनु थियो बिना गन्तव्य,बिना बाटो।आमाको विलापले मुटु झिकेर झोलामा राखिदियो।बा’को आसा र किस्मतको टोपी शिरबाट झर्यो।अनि मेरो?मेरो के हुनु थियो अरु?जो नास भयो समग्र मेरो भयो।

म मेरा बा’आमाको बुढेसकालको लौरो भाँचेर लागेँ विवशताको उकालो।निकै माथि पुगेर हेरेँ गाउँलेहरु हात हल्लाई रहेथे कि थपडी बजाई रहेथे कुन्नि?

कोपिलाको त्यो लामो मेसेज पढेपछि झरे या पढीरहँदा झरिसकेका थिए,आँसुको एउटा बहाव गालाबाट चुहिएर छातिसम्म पुगीसकेछ।यो दुई वर्षमा कोपिलाले पाएको दुख मैले भोगेको भन्दा अजङ्गको थियो।आफ्नै घरमा कैदी जसरी बस्नु पर्नाको चोट कति ठुलो होला?मेरो प्रेमको कदर स्वरूप यो हद सम्म रहेर,लाल्छना सहेर,बा’आमा,दाजुहरु लगायतका हरुको अनेक भनाई सहेर पनि आजको मिति सम्म कोपिलाले देखाएको स्नेह र प्रेम म अरु कहाँ पाउन सक्थेँ होला।सोच्ने कतै ठाउँ थिएन बस अब त्यो समय आएको थियो जो हाम्रो सगोलको सपना थियो।जुम्ल्याहा सपना थियो।कोपिला लाई विधिवत् रुपले कोपिला परियार बनाउन त्यहि ठाउँ गएँ जहाँ कोपिलाले आफ्नो प्रेमको दियो सल्काएकी थिइन्।दक्षिणकालिको मन्दिर।

दृष्यमा लगभग दुरुस्तै काम हुँदै थियो जो कोपिलाले पिकनिकको दिनमा गरेकी थिईन।फरक एउटै थियो,आज कोपिलाले मेरो ठाउँ लिएकी थिईन मैले कोपिलाको।सम्पूर्ण पुजा मैले चाहे अनुसार भयो।शिरमा सिन्दुर लगाउन मैले अबिर लाई चुट्कीमा लिएँ।कोपिलाले आफ्नो ब्याग बाट एउटा सानो बट्टा निकालिन जो पिकनिकको दिन उनले पुजा गरेर पुन ब्यागमा राखेकी थिईन।मैले त्यो के हो भनेर सोधेको थिएँ।समय आए पछि बताउँछु भनेकी थिईन।सिन्दुरको बट्टा रहेछ।समयले बताई हाल्यो।मलाई रुन मन लाग्यो।ओठ कापेँ।हात उनको शिर सम्म पुग्न सकेनन्।बरु ति कोमल पाऊमा गएर अडिए।कोपिला हच्किन्।के गरेको पागल।सिन्दुर पाऊमा हैन शिरमा लगाउनु पर्छ बुद्धु।मुस्कानका साथ उनले गरेको यो गालि जस्तै माया जस्तै केहिले हातलाई एकाएक सिउँदो भर्न लगायो।भर्यो।अब प्रतिक्षा थियो एउटा परिवर्तनको।

कोपिला टेलर्स एण्ड बुटिक लेखिएको फ्लेक्स बोर्डमा धुलो धेरै जमेकाले पुछ्न भनेर म पानी र रुमाल लिएर बाँसको भर्याङ्गमा उभिएको थिएँ।

-अरे भएन यो फ्लेक्स हटार आल्मुनियमको होडिंग बोर्ड राख्नु परो।हाम्रो सटरसँग जोडिएको किराना पसलका साहु बोले।

-भनेको मान्ने भए पो।कोपिलाले फेरी ठाउँ पाइन् यत्ति बोल्नलाई।उनको पटक पटकको आग्रहलाई मैले यसै टार्दै आएको थिएँ।जब मौका मिल्थ्यो सुनाई हाल्थिन।भनेको मान्ने भए पो।

मैले फेरी सुनेको नसुनेझै गरेँ।पुछ्दै थिएँ हातबाट रुमाल झर्यो।

-त्यो रुमाल देउ त।कोपिलालाई अह्राएँ।

-उहुँ नदिने।रुमाल टिपेर खोकिलामा हात राखेर मुस्कुराउँदै मलाई हेरिन।

-ह्या नजिस्क त,छिटो देउ।

-उहुँ नदिने।

-म तल आउनु परेको हो?धम्कीको आवाजमा भनेँ।

-हो।उनि झन् के कम।

म हारेर त्यहि भर्याङ्गमा बसेँ।सडक छेउमा केटाकेटी खेल्दै थिए।सेतो वस्त्रधारी एउटी महिला परैबाट हाम्रो क्रियाकलाप नियाली रहेकी थिईन।मैले उनलाई देखेको चाल पाएपछि उनि पसल अगाडी आईपुगिन।कोपिला भित्र पसिसकेकी थिईन।उनिपनी भित्रै छिरिन।फेरी केहीबेरमै निस्किहालिन।बिचरी भर्खर विधवा भएकी रैछिन,मेरो मनको लख।तर हैन रहेछ,उनि निस्किँदा पछ्यौरामा ओम शान्तिको ट्याग देखेँ।

महिलाले खेलिरहेका केटाकेटीहरु नजिक पुगेर म पनि खेलौँ?भनिन।केटाकेटीहरु बोलेनन्।उनले सबैको नाम सोधिन्।भएका मध्ये एउटाले बतायो परिवर्तन परियार।ति महिलाले उसको मुहार सुमसुमाईन।ऊ हुरुरु दगुरेर मामु भन्दै कोपिलालाई अंगाल्यो।खै किन हो कोपिला घरि मलाई त घरि ति महिलालाई हेर्दै आँसु खसाली रहेकी थिईन।म हतारिएर झरेँ र सोधेँ के भयो प्यारी?चोर औँलाले देखाउँदै भनिन- दिदि

ति महिला पर पुगिसकेकी थिईन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button