रानी -Novel by Shishir Parajuli

—————————————————————————

भाग-१

आकाशले भरखरै घुम्टो खोलेको छ । क्षितिज बाट पनि भरखरै वास्ना ओर्लेको छ । म एकैछिन अघि गोधुलीको यात्रामा निस्किएको थिएँ । अहिले साँझ छिप्पिदै जाँदा म आफ्नो कोठामा फर्किसकेको छु । म गोधुलीको यात्रा बाट फर्कँदा कोठामा लाइन थिएन । मैले मैनबत्ती खोजेर बालेँ अनि कोठाको एक कुना च्यापेर मोबाइलमा ध्यान केन्द्रित गर्न थालेँ । समय बिते संगै केहि घण्टामा मेरो कोठामा बलेको मैनबत्ती निभ्ने आँटेको थियो । कोठामा मैनबत्तीको प्रकाशले देखिए सम्मको ठाउँमा मैले आफ्नो नजर डुलाएँ ।

मेरो आँखा त्यो मैनको छेवैमा राखिएको एउटा फाइलमा पर्यो । त्यहाँ मैले आफ्नो सपनाको फाइल राखेको छु । त्यो फाइल भरि मैले असंख्य सपना सँगालेको छु । यदि सपना देख्नु कमजोरी नै हो भने मैले धेरै कमजोरी साँचेको छु । ति असंख्य सपनाको वरिपरी मेरो जीवन घुमेको छ, बितेको छ । त्यो सपनाको फाइल सधै त्यहि स्थानमा रहन्छ । त्यो फाइल मैले हरेक दिन पल्टाउँछु, यसो हेर्छु अनि फेरी यथास्थानमा राख्छु । त्यो सपनाको फाइल अगाडी ठुला ठुला अक्षरमा लेखिएको छ “रानी” ।

म फाइल खोल्छु । सबै भन्दा अगाडी “रानी ” को फोटो देख्छु ।
रानी! मैले जिवनमा प्रेम गरेकी एकमात्र मान्छे ।

त्यतिकैमा मेरो ढोका बज्यो “ढङ्ढङ्, ढङ्ढङ्, ।

म रानीको फोटो भएको पाना पल्टाएरै राखेको अवस्थामा त्यो फाइल खाटमा राखेर ढोका खोल्न गएँ । ढोकामा दिपेश रहेछ । दिपेश मेरो मिल्ने साथि,क्लासमेट । हामी बस्ने ठाउँ नजिकै थियो । उ भित्र आयो अनि हाम्रो सधैँ जस्तो सामन्य गफगाफ बाट संवाद सुरु भयो । त्यसपछी दिपेश मेरो खाट तर्फ गयो । मैले पल्टाएर राखेको फाइल हेर्यो । फाइल भित्र रहेको रानी को फोटो पनि देख्यो ।

एकैछिन त्यो कोठामा मौनता छायो ।

केहि छिनमा मौनता तोड्दै उसले भन्यो “अझै सम्झी रहेको छौ है यसलाई ?”
“कसरी बिर्सन सक्छु र!” मैले सरल जवाफ फर्काएँ ।
“कती तड्पिन्छौ यसको यादमा ?” दिपेश ले फेरी प्रश्न गर्‍यो ।
“जिवन भर” मैले फेरी छोटो उत्तर फर्काएँ ।

“आफ्नो हाल हेर अतुल, तिमी कस्तो थियौ, कस्तो भयौ । तिमी जस्तो मानिसले यस्तो स्वभाव देखाएको पटक्कै सुहाएन । तिमी यती कमजोर नबन ।” दिपेशले सल्लाह दियो ।

मैले कुनै प्रतिकृया जनाइन । त्यस पछी फेरी केहि बेर मौनता छायो ।

यस पटक पनि मौनतालाई उसैले तोड्दै सोध्यो “तिमीलाई फेरी अरु कोही सँग प्रेममा परेर नयाँ जिवन सुरु गर्न मन लाग्दैन ? के तिमि प्रेममा पर्न चाहान्नौ ?”

म मुस्कुराएँ अनि यसपटक लामो उत्तर दिएँ “मनमा धराप भएपछी यसमा केहि अट्दैन । तिमी प्रेमको प्रश्न गर्छौ ? यहाँ त घृणा पनि अट्दैन । म त्यही धराप बोकेर हिँडेको एउटा भरिया, एक्काइसौँ शताब्दिको द्वारमा उभिएको एउटा आश्चर्य । म त एक कठोर ब्यक्ती जसलाई प्रेममा कुनै चासो छैन र घृणामा पनि । म सम्वेदना विहिन हुँदै गएको एउटा मासुको डल्लो जसलाई जताबाट ठुँगे पनि हुन्छ,कुनै दर्दानुभूति हुनेछैन । धराप मनमा दर्दको स्थान हुन्न । दर्दहीनलाई जसरी चोक्ट्याए पनि हुन्छ तिम्रो खुशि; तिमी खुकुरी बने हुन्छ तिमी नै अचानो बने पनि हुन्छ ।“

“यस्तो सोचाइ नराख अतुल । मुभ अन ।“ यत्ति भनेर दिपेश मेरो कोठाको ढोका बजार्दै बाहिरियो । त्यसपछि म कोठामा फेरी एक्लै भएँ ।
रात छिप्पिदै थियो । खाना पकाएको थिइन । मेरा सम्पूर्ण जोश अनि जाँगर हराइसकेका थिए । यसो खाट मुनि हेरे । हिजो ल्याएको मदिरा बाँकी रहेछ । भोड्का अनि मनमा कसैको पुरानो याद! म एउटा ठुलो चोटको बीच एक्लै जिएको मानिस जसले ति चोट भुली बाँच्न खोज्दा सधै पिउने भएको छु । दिन प्रतिदिन मेरो रगत सुकी खिएको छ अनि मेरो शरीर धुजा धुजा परेको छ । हरेक दिन आँशु बगाएको छु अनि याद भुलाउन गाह्रो भएर मदिराको साथ लिएको छु । मुटु दुख्दै गर्दा अनि आँखा सुक्दै गर्दा म पुराना पल सम्झिन थाल्छु ।

२ वर्ष अगाडिको त्यो यात्रा, त्यो पल । पोखरा देखि काठमाडौं को यात्रा जहाँ मेरो भेट रानी संग भएको थियो । मेरो जीवन बदलेको त्यो पल अनि “अतुल” लाइ बदलेको त्यो पल । दुइ वर्ष अगाडिको त्यो दिन ।

भाग-२:

त्यस दिन विहान ५ बजे नै निद्रा खुलेको थियो । ८ बजे गाडिको टिकट थियो । अझै केहि समय बाँकी छ भनेर निदाउन खोजेँ तर निद्रा लागेन अनि मोबाइल खेलाएर बस्न थालेँ । ६ बजे पछी उठेँ अनि विस्तारै तयार भएँ । मेरो घर पोखराको रामबजार । त्यहाँ बाट घरमा सबै सङ्ग विदावारी भएर काठमान्डौ जाने गाडी चढ्न गएँ । गाडी भित्र गएर टिकट मा सिट नम्बर हेरेँ । सिट नम्बर ५ रहेछ, त्यहाँ गएर बसेँ । छेवैको सिट खाली थियो । एकैछिनमा गाडी भरि मानिस भरिन थाले ।
लगभग सबै गाडी भरिँदा पनि मेरो छेउको सिट भने खाली नै थियो ।

” सिट नम्बर ६ को मान्छे आएन” खलासी कराउन थाल्यो ।
“फोन गर न” ड्राइभर बोल्यो ।

फोन मिलाउनै लाग्दा एक जना किशोरी गाडी चढ्न हतार गर्दै आइन ।

“सिट नम्बर ६ हो ?” खलासिले सोध्यो ।
“हजुर ” ति युवतिले उत्तर दिइन् ।
सेतो टिशर्ट, रातो ज्याकेट अनि तल जिन्स पाइन्ट । झट्ट हेर्दा एकदमै राम्री । गोरि, कालो आँखामा हल्का गाजल पोतिएको थियो । ओठमा लिपस्टिक टल्किरहेको थियो अनि अनुहारमा हल्का मेकअपले उसको सुन्दरता झन बढाएको थियो ।

उ मेरो छ्वैको सिटमा आएर बसी । अब उसलाई सिधै हेरी रहने आँट आएन त्यसैले जुल्काएर बेला बेलामा हेर्न थालेँ ।

बस अब मज्जाले आफ्नो गन्तब्य तर्फ लाग्न थाल्यो । मेरो छेउमा बसेकी युवती कानमा इयरफोन लगाएर सङ्गित मा मस्त थिइ । मलाई न निद्रा लागेको थियो न गित सुन्ने जाँगर । मलाई त केबल ति युवतिलाई हेर्न मन लागिरहेको थियो । तर मन लागेर मात्र के गर्नु ? हिम्मत थिदै थिएन । यात्रा अघी बढ्दै थियो, युवतिको बारेमा जान्न अनि बोल्न नपाएर मेरो खुलदुली बढ्दै थियो ।

केहि बेर पछी उसले इयरफोन निकाली । हामी बिचको मौनता तोड्दै उ बोली “एक्स्क्युज मि! मलाई त्यो झ्याल तिर बस्न दिनु न, यता कस्तो गाह्रो भयो ।”

“हुन्छ, आउनु न” कुनै सङ्कोच बिना उत्तर दिएँ ।
“थ्यान्क यु” युवतिले भनी ।
“यु आर वेलकम” स्वभाविक जवाफ फर्काएँ ।

दुवै जना मुस्कुरायौँ अनि फेरी केहि बेर मौनता छायो ।
यस पटक मौनता मैले तोडेँ ।
“काठमान्डौ सम्मै हो ?”
“हजुर” उसले उत्तर दिइ ।
“अनी तपाइँ नि ?” उसैले प्रश्न गरी ।
“म पनि त्यहिँ हो ।” मेरो स्वभाविक जवाफ आयो ।
“अनी पोखरा चाहिँ घर हो ?” उसले सोधी ।
“हो अनि तपाइँको नि ?” मैले प्रश्न गरेँ ।
“मेरो पनि घर नै हो ।” उसको जवाफ आयो ।
“काठमान्डौँ मा पढ्दै हो ?” म थप जिज्ञासु बने ।
“हो अनि तपाइँ नि ?” उसले प्रश्न गरी ।
“म पनि हो ।” मैले भनेँ ।
“के पढ्नु हुन्छ नि ?” मैले नै प्रश्न गरेँ ।

“एम.बि.बि.यस्” उसले उत्तर दिइ ।

“तपाइ नि ?” उसैले प्रश्न गरी ।
“म इन्जिनियरिङ्ग, पुल्चोक क्याम्पस मा” मैले भनेँ ।

“म चाहिँ धुलिखेल मा” उसले भनी ।
“तपाइँको नाम चाहिँ के नि ?” मैले भने ।
“यत्ती बेर बोले पछी बल्ल नाम सोध्न सम्झिनु भयो ।” उसले अर्कै जवाफ दिइ ।
म हाँसे ।
“रानी सुवेदी ” एकैछिनमा उसले आफ्नो परिचय दिइ ।
“म चाहिँ अतुल घिमिरे” मैले आफ्नो परिचय दिएँ ।

भाग-३:

हाम्रो संवाद अघी बढ्दै थियो । संवाद कै क्रममा थाहा भयो कि उ पनि चौथो बर्षमै पढिरहेकी रहिछ । म पनि चौथो बर्षमै अध्ययनरत थिएँ । यो कुरा थाहा पाए पछी उसले भनी “अब म एउटा कुरा भन्छु, मान्नु पर्छ है त ?”
“हुन्छ” मैले भनेँ ।
“अब देखी हामी एक अर्कालाई हजुर होईन, तिमी भन्ने ल ।” उसले भनी ।
“हुन्छ” मैले सहमती जनाएँ ।

हामी बिच विभिन्न कुरा हरु हुन थाले । काठमाडौँ आउँदा सम्म हामिले एक अर्कालाई धेरै चिन्ने मौका पायौँ । काठमाडौँ पुगेपछी हाम्रो फोन नम्बर साटासाट भयो । त्यसपछी हामी दुवै आआफ्नो घर तर्फ गयौँ । कोठामा पुगेँ । फ्रेश भएँ अनि भोक लाग्न थाल्यो । लामो यात्राबाट थकित भएको हुँदा मलाई खाना पकाउने जाँगर आएन । त्यसपछी कोठा बाहिर निस्किएँ अनि एउटा होटेलमा गएँ । त्यहिँ खाना बनाउन लगाएँ । खाना तयार नहुँदा सम्म मोबाइल चलाउन लागेँ । फेसबुक खोलेँ । ४ ओटा नोटिफिकेशन, २ ओटा म्यासेज अनि एउटा फ्रेन्ड रिक्वेस्ट आएको रहेछ । एउटा केटा मानिसको फेसबुक मा यो हुँदा अवश्य पनि उसले फ्रेन्ड रिक्वेस्ट नै हेर्छ । मैले पनि त्यसै गरे । रानी सुवेदी नाम गरेको एकाउन्ट बाट रिक्वेस्ट आएको रहेछ । तुरुन्तै एसेप्ट गरेँ । एसेप्ट गर्ने बित्तिकै म्यासेज ३ ओटा देखायो । सबै भन्दा माथी रानी को नाम । तर त्यहाँ म्यासेज होईन, “यु आर नाउ कनेक्टेड अन म्यासेन्जर” भन्दै म्यासेज आएको रहेछ ।

म एक्लै हाँसे । यस पल्ट भने हिम्मत जुटिहाल्यो अनि म्यासेज गरेँ “घर पुग्यौ ?”
केहि बेर कुरेँ,रिप्लाई आएन । त्यस पछी मेरो टेबलमा खाना आयो । मैले मोबाइल बन्द गरेर खाना खाएँ अनि आफ्नो कोठामा गएँ । दिन भरिको यात्राले थकित म सुत्ने तयारी गर्न थालेँ । विस्तारामा पल्टिँदै फेरी फेसबुक खोलेँ । यस पटक रिप्लाई आएको रहेछ । “पुगेँ तिमी नि ?”
“म पनि पुगेँ” मैले त्यत्ती लेखेर हाम्रो त्यो संवाद त्यहिँ टुङ्गाएँ ।

अर्को दिन बाट फेरी मेरो पुरानो दैनिकी सुरु हुन थाल्यो । विहानै कलेज जान्थेँ । दिन भर कलेज मै बिताए पछी बेलुका घर फर्किन्थेँ । अर्को दिन बाट मेरो रानी सङ्ग अलि धेरै नै कुरा हुन थालेको थियो । हामी घण्टौ सम्म फेसबुकमा च्याट गरेर बिताउँने गर्थ्यौँ । हामी बिच विस्तारै फोनमा पनि कुरा हुन थाल्यो ।

हाम्रो पहिलो भेट भएको कारीब एक महिना पछी हाम्रो एक अर्कालाई भेट्ने सहमती भयो । भेट्ने स्थान थियो धुलिखेल ।
शनिवारको दिन थियो । विहानै उठेँ अनि अरु शनिवार जस्तै काम गर्न थालेँ । खान पकाएर खाँदा ९ बजिसकेको थियो । भाडा माझिन । म तयार हुन थालेँ । हिजो भर्खर किनेर ल्याएको नयाँ टि-शर्ट अनि जिन्स पाइन्ट लगाएँ । अरु दिन भन्दा अलि धेरै नै पर्फ्युम छरेँ । आँखामा चस्मा लगाएँ अनि बाइक स्टार्ट गरेर लागेँ धुलिखेल ।

धुलिखेल पुगेर रानी लाई फोन गरेँ । उ आउँदै रहिछ । म धुलिखेल बसपार्क अगाडी बसिरहेको थिएँ । एकैछिनमा केहि टाढा रानी लाई देखेँ । सेतो बुट्टेदार कुर्ता सुरवाल । आँखामा मनमोहक गाजल अनि ओठमा त्यही रातो लिपिस्टिक । गाडिमा देखेको भन्दा आज झनै राम्री देखिएकी थिइ रानी । उ टाढै बाट हाइ गर्दै आइ । मैले पनि हात हल्लाएँ ।
नजिक आएर भनी “धेरै कुर्नु पर्‍यो है ?”

“तिमीलाई त जत्ती कुर्न पनि सक्छु नि” मैले उत्तर फर्काएँ ।

उ मज्जाले हाँसी । उ सँगै म पनि हाँसे ।

त्यस पछी हामी धुलिखेल घुम्यौँ । बाइक मा माथी नजाने भनेर रानी ले भने पछी मैले बाइक तलै पार्क गरेँ । हामी हजार सिँढी चढ्यौँ । दिन भर त्यहिँ बितायौँ । रामाइला गफ हरु भए । यो भेट बाट म उ प्रती अलि धेरै नै आकर्षीत हुन थालेँ । फर्किने बेला उसलाई मैले उसको होस्टेल सम्म बाइक मै छोडिदिएँ । अनि बाँकी यात्रा एक्लै फर्किएँ । त्यस दिन पछी उ सँग मेरो कुरा झन धेरै हुन थाल्यो । हामी एक अर्काको अझै नजिक हुन थाल्यौँ ।

त्यस पछी हाम्रो भेट पनि धेरै पटक भयो । कहिले म धुलिखेल, कहिले रानी काठमाडौँ अनि कहिले हामी गोदावरी त कहिले ककनी । हामी एक अर्का सँग धेरै नजिकीइ सकेका थियौँ । म रानी सँग प्रेममा परिसकेको थिएँ ।

जेठ ११ गते रानी को जन्मदिन थियो । त्यस दिन म रानी लाई सरप्राइज दिने तयारी मा थिएँ । उसलाई जन्मदिनमा सरप्राइज दिनु का साथै मैले त्यसै दिन प्रेम प्रस्ताव राख्ने तयारी पनि गरेको थिएँ ।त्यस दिन म विहानै धुलिखेल तर्फ लागेँ । मेरो मन रोमान्चित थियो । मुटु छिटो छिटो चलेको भान हुन्थ्यो । त्यो रोमान्चकता मिठो पनि थियो अनि मनमा बिझ्दो पनि थियो । मिठो यस अर्थमा थियो कि रानी मेरो हुने कल्पनाले मलाई पहिलोपल्ट न्यानो सपना आँखामा साँच्ने अवसर दिएको थियो । अनि बिझ्दो यस अर्थमा थियो कि मैले सजाएका सपना कुनै तासको महल झैँ भात्किन पनि सक्थ्यो । अथवा भनुँ कुनै वालुवाको घर झैँ एउटा सानो भेलमा बिलाउन पनि सक्थ्यो । तर मान्छेको मन नै त हो, चाहेर पनि नियन्त्रणमा नरहने हुँदा त्यस दिन आँखाले फेरी एउटा न्यानो सपना सङ्गालेको थियो । मेरो हृदय बाट प्रस्फुटित भावना हरु अनि मेरा शब्दहरु सिर्फ एक शब्द बोलिरहेका थिए “रानी” ।

भाग-४:

त्यस दिन म धुलिखेल आइरहेको रानी लाई पत्तै थिएन । मैले रानी लाई केहि हप्ता भेट्न मिल्दैन भनेको थिएँ त्यसैले त्यस दिनको मेरो उपस्थिती नै रानीका लागी सर्प्राइज नै हुने वला थियो । म धुलिखेल पुगेर रानी लाई फोन गरेँ । जन्मदिनको शुभकामना चाहिँ दिइन । उसको कलेज त्यस दिन १ बजे सकिने रहेछ । १ बजे सम्म म धुलिखेल मै बजार डुलेर बिताएँ । उसको लागी केहि कपडा किनेँ । केकको अर्डर काठमाडौँ बाटै फोनमा दिएँको थिएँ । केक तयार रहेछ । त्यो पनि बोकेर उसको कलेज नजिकै पुगेँ । त्यहिँ नजिकैको एक क्याफेमा कपलको लागी भनेर छुट्टै बस्ने ठाउँ बनाइएको रहेछ । एउटा स्पट बुक गरेँ अनि केक त्यहिँ छोडेर रानी को कलेज अगाडी गएँ । उसलाई फोन गरेँ । बाहिर बोलाएँ । अझै पनि उसको जन्मदिनको कुरा मैले थाहा नपाए जस्तै गरिरहेको थिएँ ।

जन्मदिनको कुरा ननिकाली मैले उसँग कुरा गरेँ । हामी दिन भर सँगै बस्यौँ । उसले बेला बेला “अतुल, आज के हो थाहा छ ?”
“अतुल, तिमी केहि बिर्सिरहेको छौ ।” भनेर मलाई उसको जन्मदिनको बारे सम्झाउन खोज्थी तर म अनजान बनिदिन्थेँ ।

बेलुका ६ बज्यो । मैले उसलाई भोक लाग्यो भन्ने बहाना बनाएर क्याफेमा लगेँ । अघी बुक गरिएको स्पट मा गयौँ । एकैछिन उसलाई त्यहिँ पर्खन अनुरोध गर्दै म केक लिन गएँ । केहि बेर पछी केक लिएर आएँ अनि बल्ल जन्मदिनको शुभकामना दिएँ । उ औधी खुशी देखिन्थी ।

“थाहा पाइ पाइ पनि यत्ती बेर कुरायौ है ?” रानी ले प्रश्न गरी ।
“कस्तो लाग्यो त सर्प्राइज ?” हाँसो मिसृत आवाज मा प्रश्न गरेँ ।
“सो स्विट” उसले उत्तर दिइ अनि निकै बेर धन्यवाद का शब्दहरु खर्चिइ । मैले उसका कुरा उत्सुकताका साथ सुनेँ । केक काट्ने काम त सकियो तर त्यो भन्दा ठुलो कुरा मेरो लागी अर्कै थियो । त्यो कुरा थियो रानी को सामु प्रेम प्रस्ताव राख्नु ।

प्रेम प्रस्ताव राख्नको लागी यो भन्दा उपयुक्त दिन, स्थान र वातावरण सायद अरु कुनै थिएन । उसको आँखामा हेरेँ । आँखा के पुरै अनुहार नै हर्सित देखिन्थ्यो । मुहार हेर्दा मन नै आनन्दित हुने खालको थियो । उसले प्रेम प्रस्ताव अस्विकार गर्नै सक्दिन भनेर एक मनले भन्यो तर अर्को मनले अस्विकार गरी भने चाहिँ के भनेर भन्यो । डर, त्रास अनि कौतुहलता सबैले मलाई घेरेको थियो । त्यही पनि हिम्मत जिटाएँ । आफु बसेको स्थान बाट उठेँ । कोट को भित्री गोजी बाट गुलाबको फुल निकालेँ । रानी को हात समातेँ अनि भनेँ “रानी आइ लभ यु ।”

उसका आँखा एक्कासी ठुला भए । अनुहार रातो भयो । वातावरण मौन भयो । मैले उसको हात समातिरहेको थिएँ । तर उ मौन थिइ । एकैछिन पछी रानी बोली “तर अतुल” ।
फेरी मौनता छायो ।

मौनता चिर्दौ मैले भनेँ “तर के रानी ? उत्तर देउ ।”
“अतुल म केहि भन्न सक्दिन” रानी ले जवाफ फर्काइ ।
“किन रानी, तिमीलाई म मन पर्दैन?” मैले सोधेँ ।

“त्यस्तो होईन अतुल । मन पर्नु र माया गर्नु मा त्यत्ती नै फरक छ जती परिरहेको पानी हेर्नु र परिरहेको पानीमा भिज्नुमा छ” रानीले गम्भिर हुँदै उत्तर दिइ ।

“तिमी के भन्न खोज्दै छौ रानी?” मैले प्रश्न गरेँ ।
“मैले यो बारे केहि सोँचेकै छैन अतुल ।” रानी ले आफ्नो हात मेरो हात बाट टाढा लैजाँदै भनी ।

“नो भन्न खोजेको?” मैले सोधेँ ।
“अतुल, प्लिज यो कुरा नगर ।” रानी ले कुरा मोड्न खोजी ।

“यो कुरा नगरे के कुरा गरुँ रानी । यही कुरा गर्नका लागी यत्तिका महिना पर्खेको छु । अब नगरे कहिले रानी?” मैले प्रश्न गरेँ ।
“म तिमीलाई साथी को रुपमा मात्र हेर्छु अतुल ।” रानीले उत्तर दिइ ।

मेरो मुटुमा बज्रपात पर्‍यो । म मौन रहेँ । आफुलाई सम्हाल्न खोजेँ ।
त्यत्तिकैमा रानी बोली “नराम्रो नमान अतुल । आइ एम सरी ।”

मेरो प्रेम प्रस्ताव उसले अस्विकार गरेकी थिइ । करुण चित्कार मनमा लिएर आँशुका थोपाहरुलाई मुटुको घडामा समेट्दै बन्धकी हाँसो उकास्दै मैले भनेँ “हिँड रानी ,तिमीलाई होस्टेल छोडिदिन्छु ।”

उ राजी भइ । मैले बिल तिरेर उसलाई बाइकमा राखेर होस्टेल सम्म पुर्याइदिएँ । उसले बाइ गरी । मलाई केहि प्रतिकृया जनाउने आँट आएन । म भित्रै बाट गलिसकेको थिएँ । म भित्रै बाट चिच्याइरहेको थिएँ तर मेरो चित्कारको कुनै आवाज थिएन, थियो त केबल पिडा । तर बिडम्वना, मेरो चित्कार सुन्ने अनि बुझ्ने कोही थिएन । म चुँडिएको मन बोकेर बाइकमा काठमाडौँ फर्कदैँ थिएन । बाइक हावा सँगै बत्तिदै थियो । मलाई त्यती बेला न ज्यानको माया भयो न त बाटोको चिन्ता नै । म त एकनाश बाइक कुदाइरहेको थिएँ । मैले एउटा भासिएको मन बोकेको थिएँ । प्रेमको एउटा असफल यात्रामा गएर फर्कँदै थिएँ ।

भाग-५:

म जसोतसो काठमाडौँ फर्किएँ । रातको ११ बजिसकेको थियो सिधै विस्तारामा गएँ । पटक्कै निद्रा लागेन । त्यत्तिकैमा मोबाइल बज्यो । फोन रानी को रहेछ । मैले फोन उठाइन । फोन आउने क्रम र मैले फोन नउठाउने क्रम करिब आधा घण्टा सम्म जारी रह्यो । त्यस पछी मैले आफ्नो फोन स्विच अफ गरेँ ।
मलाई मेरो जिवनको पोखरी सुक्खा भएको अनुभुती भईरहेको थियो । मेरो हृदयका कोमल पखेटाहरु खुम्चिएका थिए । मेरो जिवनको सम्पूर्ण मिठास भएको कटुता सुक्खा मरुस्थलमा बदलिएको थियो । मलाई जता ततै बाट कोलाहल उठेर गर्जिरहेको अनुभुती हुँदै थियो ।

मैले रानी सँग सजाएका मेरा कुमारी सपनाहरु मैनबत्ती जसरि पग्लिँदै थिए । मेरो अल्पविकसित सपनाहरुमा ह्वार्ह्वारती आगी लागेको देखेर मेरो मन मैनबत्ती जसरि नै तपतप रोइरहेको थियो । मैले महिनौ देखी थुपारेका मैनकाँडाका झ्याङ्हरु जस्तै सपनामा भरखरै अगुल्टो झोसिएको थियो जुन आगोको लप्काले मेरो सपनाको वस्ती उजाड बनाउँदै थियो ।
मैले त्यस रात त्यस्तै त्यस्तै कल्पनाहरुका बिच बिताएँ । अर्को विहानको झिसमिसेमा त्रासदिको तुवाँलो विच थरथर काप्दै म कलेज गएँ । क्लासमा मलाई पढ्ने जाँगर लागेन । म पहिलो पिरियड को बिचमै क्लास बाट निस्किएँ अनि बाइक लिएर फेरी आफ्नै कोठामा पुगेँ । न भोक, न प्यास अनि न निद्रा । मेरो ज्यान पुरै सुकिसकेको थियो । त्यस दिन भर मैले त्यसरि नै बिताएँ अनि राती बल्ल होटेलमा खाना खान गएँ ।

खाना खाएर फेरी कोठामा गएँ । फोन स्विच अन गरेँ । अनि गित बजाउन थाले । अटो सफल गर्दा सबै भन्दा पहिले बज्यो “गाजलु ति ठुला ठुला आँखा ” । गितले पनि रानी कै सम्झना दिलायो । अनि फेसबुक खोलेँ । फेसबुकमा रानी को थुप्रै म्यासेज हरु आएका रहेछन् ।

“अतुल घर पुग्यौ?”
“अतुल फोन रिसिभ गर”
“आइ यम ओरिड”
“सरी अतुल”
“एक पटक बोल्ने मौका त देउ”
“अतुल फोन अन गर”

उसका यस्तै यस्तै म्यासेज हरुले मेरो म्यासेज बक्स भरेको थियो ।

के रिप्लाई गर्ने दिमाग मा आएन । केहि नलेखी लग आउट गरेँ । एक्कैछिनमा रानी को फोन आयो । यस पटक फोन उठाएँ ।
“हेल्लो”

“अतुल, सन्चै छौ?”उताबाट हतास आवाज आयो ।
“ठिकै छु” मन नलागी नलागी उत्तर दिएँ ।

“कहाँ हराएको तिमी? मलाई कस्तो चिन्ता लाग्यो ।” रानी ले भनी ।
“चिन्ता भएको भए हिजोको कुरा अर्कै हुने थियो होला” म गम्भिर हुँदै उत्तर दिएँ ।

“मैले केहि नसोची कसरी उत्तर दिने त अतुल?” रानीले सोधी ।
“उत्तर त साथी भनेर दिइसक्यौ” मैले भनेँ ।

“तिमीलाई मैले त्यो रुपमा आज सम्म हेरेकै छैन नि त ।” रानी ले भनी ।
“सायद, लायक नै यती को छु ।” मैले उत्तर फर्काएँ ।

“लायक नालायक को कुरा नगर अतुल । तिमी जस्तो राम्रो मान्छे कोही छैन । सायद म नै तिम्रो लायक छैन” रानी ले भनी ।

“नाटक खेल्न रंगमन्चमा जाउ, मेरो मन रंगमंच होइन” यत्ती भनेर मैले फोन काटिदिएँ ।

कसैलाई नपाउँदा जिन्दगी समाप्त त हुँदैन तर त्यसले दिने पिडा चाहिँ औधी धेरै हुँदो रहेछ । म अबको बाटो के भनेर तय गर्न असफल भइरहेको थिएँ । मेरो आगो झैँ जलेको सपना थियो अनि दिन झैँ ढलेको थियो मेरो मायाको संसार । रानी बिना म निशब्द थिएँ । म उ बिना एक्लोपनमा जेलिएको थिएँ । म त उजाड मरुभुमिमा जसरि हराइसकेको थिएँ । मेरा भावना हरु समुन्द्री आँधी सँगै बग्दै थिए । मेरो तकदिरले आज खुशी छुटाएर मलाई रुवाएको अनुभुती भइरहेको थियो । एउटा सुनौलो कल्पना गर्दै फुलेको फुल जस्तो मेरो जिवनलाई भुमिमा खसाएर कुवाएको भान हुन्थ्यो ।

सधैँ यस्तो गरेर त हुँदैन भनेर म भोली पल्ट बाट पुरानो जिवन शैलिमा फर्किने कोशीश गर्न थालेँ । रानी लाई जती सक्दो आफु बाट टाढा राख्ने कोशीश गर्थेँ तर फोन स्विच अन गरे पछी उसैको फोन आइ हाल्थ्यो अनि फेसबुक खोले उसैका म्यासेज आइहाल्थ्यो । यस्तो क्रम धेरै दिन देखी चलेपछी म रानी को बारेमा सोँच्न बाध्य भएँ । यदी माया नै नभएको भए यत्तिका दिन सम्म मलाई किन सम्पर्क गर्न खोज्थी ? जे सुकै होस एक पटक उसलाई आफ्नो कुरा सुनाउन मैले मौका दिनु पर्छ भन्ने लाग्यो ।

भाग-६ :

अर्को दिन फोन अन गरेँ । विहानै कलेज गएँ । सबै पिरियड पढेर कोठामा फर्किएँ । त्यसको केहि बेरमै मोबाइलको घन्टी बज्यो । फोन रानी को रहेछ । यस पटक अरु कुनै विचार नगरि फोन उठाएँ ।
“हेल्लो”
“हाइ अतुल । प्लिज म सँग बोल” सुरुमै उसले बोल्न आतुर रहेको प्रस्टाइ ।
“बोल्दै छु ।” मैले भनेँ ।

“आइ यम रियल्ली सरि अतुल ।” रानी रोएको जस्तो आवाज आयो ।

“किन रोएको” मैले सोधेँ ।
“एक पटक मलाई भेट अतुल । प्लिज” उसले भनी ।

“भेटेर के फाइदा छ र?” मैले भनेँ ।
“एक पटक भेटेर मेरो कुरा सुन” रानी ले रुन्चे स्वरमा भनी ।
“कहिले भेट्ने अनि कहाँ?” मैले सोधेँ ।

“भोली । म काठमाडौँ आउँछु” रानी ले भनी ।
“पर्दैन । म धुलिखेल आउँछु । दुख नगर ।” मैले भनेँ ।

भोलिपल्ट हाम्रो धुलिखेल मै भेट्ने सहमती भयो ।
अर्को दिन म विहान कलेज गएँ अनि दुइ पिरियड पढेँ । १० बजे पछी खाना खाएर म धुलिखेल गएँ । धुलिखेल पुगेर रानी लाई फोन गरेँ । उसले अस्तिकै क्याफेमा बोलाई । त्यो क्याफे को त्यही ठाउँमा म पुग्दा रानी बसिरहेकी थिइ ।

झट्ट हेर्दा आँखा फुलेका देखिन्थे । अनुहारको चमक हराएको थियो । एकोहोरो भुइँतिर हेर्दै थिइ । उसलाई त्यो अवस्थामा देखेर म अचम्मित भएँ ।

“रानी” म उसको नजिक पुगेर बोलेँ ।
“हँ, हजुर । आयौ” रानिको आत्तिएको आवाज आयो ।
“सन्चै छौ?” उसैले सोधी ।
“ठिकै छु । तर तिमीलाई सन्चो छैन” मैले भनेँ ।

“होईन म पनि ठिक छु ।” रानी ले भनी ।
म केहि बोलिन । केहि बेर मौनता छायो । मौनता तोड्दै उसैले भनी “तिमी मसँग कती रिसाएको ?”

“छैन रिसाएको । किन रिसाउनु ।” मैले झुटो जवाफ दिएँ ।
“झुट नबोल” उसले मेरो झुट समाती ।

“अतुल, मैले तिम्रो बारे यस्तो रुपमा कहिल्यै सोचेकै थिइन । म त तिमीलाई केबल एक साथी को रुपमा हेर्थेँ । तिम्रो प्रेम प्रस्ताव मेरो लागी अप्रत्यासित थियो । मैले त्यस्तो कुराको कल्पना पनि गरेकी थिइन । एक्कासी तिम्रो प्रस्तावको उत्तर पनि दिन सक्दिन नि होईन र? मलाई पनि सोच्ने समय चाहिन्छ । तिमी यसरि रिसाएर सम्पर्कविहिन हुँदा मलाई कती पिडा भए होला त्यो सोच्यौँ ? तिम्रो मन दुखेको छ मैले बुझ्छु अतुल तर मेरो पनि त मन छ, होईन र ? के मेरो मन दुख्दैन र ? के मेरा भावना हरु छैनन् र ? मलाई तिम्रो त्यत्ती नै चिन्ता लाग्छ जती पहिले लाग्थ्यो । तिमी यती दिन हराउँदा म कती तड्पिएँ, तिमी कल्पना गर्न सक्छौ ? म अरु कसैलाई माया गर्दिन अतुल । यो कुरामा चाहिँ तिमी ढुक्क बन । तिमी एकदमै राम्रो मान्छे हौ भनेर पनि मलाई राम्ररी थाहा छ । सायद तिमी भन्दा राम्रो मैले अरु कोही पाउँदिन होला अतुल तर यो समय मलाई ठिक लागेन । अझै केहि समय कुरेको भए सायद आजको हाम्रो संवाद अर्कै हुने थियो होला । सम्बन्ध बनाउने कुरा कुनै मजाक त होइन नि अतुल । यो कुरा तिमी भन्दा राम्ररी कसले नै बुझ्न सक्छ र । सम्बन्ध बनेर मात्र पनि हुँदैन, मजबुत पनि हुनु पर्छ । मैले यत्तिकै यो प्रेम प्रस्ताव स्विकार गर्न त सक्दिन नि अतुल ।” रानी ले गम्भिर कुरा गरी ।

रानी ले प्रेम प्रस्ताव अस्विकार गरे पछी एकोहोरो बनेर हिँडेको मलाई रानी को कुराले मन छोयो । उसका हरेक कुरा ठिक लागे । कतै गल्ती मैले नै गरिरहेको त छैन भन्ने पनि लाग्यो ।

“तिम्रो कुरा ठिक हो रानी” यत्ती भनेर म मौन भएँ ।
“अतुल, तिमी मसँग एउटा वाचा गर ।” रानी ले भनी ।

“कस्तो वाचा रानी ?” मैले सोधेँ ।
“तिमी अब मसँग पहिले जसरि नै बोल्नेछौ ।” रानी ले भनी ।
केहि नसोची मैले हुन्छको भावमा टाउको हल्लाएँ ।

“टाउको हल्लाएर हुँदैन, भन्नु पर्छ” उसले भनी ।
त्यस पछी मैले उसँग पहिले जसरि नै बोल्ने वाचा गरेँ ।

भाग-७ :

त्यस दिन रानी लाई होस्टेल सम्म पुर्याइदिएँ । त्यस पछी म काठमाडौँ फर्किएँ । फर्किदैँ गर्दा मेरो मनमा अनेक थरि कुरा हरु खेले । रानी लाई भेट्नु भन्दा अगाडी सम्म एकोहोरो भावनाको बाढी उर्लिएर निरिह पशु झैँ रेटिएको मेरो मन अब भेष फेर्न थाल्दै थियो । म कोठामा पुगेपछी रानी प्रती सकारत्मक हुँदै गएँ ।

अर्को दिन बाट म रानी सँग फेरी पहिलेको जसरि नै कुरा गर्न थालेँ । मानौँ कि केहि भएकै छैन, त्यसरि नै रानी र म बिच कुरा हुन्थ्यो । म भन्दा पनि रानी अझै उत्सुक हुँदै मसँग कुरा गर्थी । दिन प्रतिदिन हामी अझै नजिक हुँदै गयौँ ।

मेरो मनको एकान्तको तलाउ माझ अनायासै तरङ्ग उठेको थियो, लाग्थ्यो कुनै अतृप्त रागले सङ्गितको कर्णप्रिय स्वर पाएको थियो । तर फेरी जब रानी र मेरो सम्बन्धको सिमा कृतृम बगैँचाको स्पर्शभित्र रोए जसरि याद आउँथ्यो, तब फेरी लाग्थ्यो कि कुनै मौसम छरपस्ट हुँदै हारेको छ ।

यसरि नै रानी र म विच केहि महिना सम्म लगातार कुराकानी भए । एक दिन फेसबुक खोल्दा रानी को म्यासेज देखेँ ।

“रिक्वेस्ट एसेप्ट गर त” म्यासेज मा लेखिएको थियो ।
मैले बुझिन । “कुन रिक्वेस्ट ?” प्रश्न गरेँ ।
“फ्रेन्ड रिक्वेस्ट हेर त” उसको म्यासेज आयो ।
त्यस पछी फ्रेन्ड रिक्वेस्ट हेरेँ । सुवेदी रानी नाम गरिएको एकाउन्ट बाट रिक्वेस्ट आएको रहेछ । एसेप्ट गरेँ ।
“किन अर्को आइडि” मैले प्रश्न गरेँ ।
“अब त्यसैमा बोल्ने” उसले भनी ।
“किन ? यो के भयो ?” मैले प्रश्न गरेँ ।
“केहि भएको छैन ।” उसले प्रस्ट्याइन ।
“अनी किन अर्को आइडी त ?” मैले फेरी प्रश्न गरेँ ।
“त्यो आइडी मा तिमीलाई मात्र एड गरेकी छु । अब यो चलाउँदिन । त्यो मात्र चलाउँछु । तिमी सँग मात्र बोल्छु । तिमी सँग बोल्दै गर्दा अरुको म्यासेज आएको मलाई मन पर्दैन ।” उसले प्रस्टाइ ।

मैले लामो हाँसो हाँसे । च्याटमा पनि अनि वास्तविक रुपमा पनि । उ अर्को आइडी बनाएर के दर्शाउन खोज्दै थिइ भन्ने चाहि मैले बुझिन । यसमा खुशी हुनु कि नहुनु मैले बुझ्न सकिन । अर्को दिन बाट उसको अर्को आइडी बाट म्यासेज आउन थाल्यो । हामि घन्टौ सम्म कुरा गर्थ्यौ । एक दिनको कुरा हो रानी ले फोन गरि ।
मैले फोन उठाए । “हेल्लो”
“हेल्लो अतुल” रानी बोलि ।
“कहाँ बाट सम्झियौ?” मैले प्रश्न गरे ।

“नाटक नगर । बरु भन अब तिम्रो छुट्टी कहिले छ ।“ रानी ले भनि ।
“किन र?” मैले प्रश्न गरे ।
“खुरुक्क भन न “ रानी झोक्कीई ।
“अब त शनिवार नै हो “ मैले उत्तर दिए ।
“त्यसो भए शनिवार धुलिखेल आउ ।“ उसले भनि ।

मैले सहमति जनाए । त्यो हप्ता शनिवारको दिन कुरेर नै बित्यो । शनिवार विहान उठेर सबै भन्दा पहिले दैनिक कार्य हरु गरे । त्यस पछी खाना पकाएर खाए । अनि रानी लाइ फोन गरे ।

“कति बेला भेट्ने हो?” मैले प्रश्न गरे ।
“११ बजे हिंड ” उसले भनि ।

उसले भने अनुसार नै म ११ बजे हिड्ने गरि तयार हुन थाले । म उसको होस्टेल अगाडी पुग्दा १ बजेको थियो । उसलाई फेरी फोन गरे ।
“कहाँ आउँ म?” मैले प्रश्न गरे ।
“त्यहि क्याफे मा” उसले उत्तर फर्काइ ।

म क्याफे मा पुगे । उ मैले उसलाई प्रेम प्रस्ताव राखेको ठाउँमै बसेकी रहिछ । म त्यहीं पुगेँ । एकैछिन सामान्य कुराकानी भयो । खाजा अर्डर गर्यौं । धेरै बेर त्यहीं बिताए पछी रानी ले भनि “ म एउटा कुरा भन्छु ल “

“जति ओटा कुरा भने पनि भन “ मैले भनें ।
“आफुलाई सम्हाल नि” रानी ले भनि ।
“सम्हाली हाल्छु नि “ मैले भनें ।
“एकैछिन पख है त” रानी ले भनि ।

उ यत्ति भनेर केहि पर गइ । एकछिन फर्किईन । मैले मोबाइल चलाउन थालें । केहि बेर पछी रानी को आवाज आयो “अतुल पछाडी फर्क त”
म पछाडी फर्किएँ । रानी मुस्कुराई । आफ्नो ढाडमा लुकाएर राखेको हात अगाडी ल्याई । उसको हातमा गुलाबको फुल थियो ।
“ आइ लाभ यु अतुल” रानी ले भनि ।

मलाइ मेरो अगाडी भईरहेको दृश्य माथि पत्यार लागेन । यहि स्थान थियो जहाँ मैले रानी लाइ पहिलो पटक प्रेम प्रस्ताव राखेको थिएँ । स्थान उही थियो, मानिस उही थिए तर प्रस्ताव राख्ने व्यक्ति भने फरक ।

सबै कुरा पहिले जस्तै भए पनि एउटा कुरा फरक भयो । उसले प्रेम प्रस्ताव अस्विकार गरेकी थिइ, मैले अस्विकार गर्ने कुनै सम्भावना थिएन ।
म खुशी ले आफ्नो स्थान बाट उठें । अनि चिच्याउन थालें “ आइ लाभ यु टु रानी । आइ लाभ यु टु “
हामी दुवैको अनुहारमा छुट्टै चमक थियो । हामि दुवै औधि खुसि थियौं । मेरो कल्पना भन्दा पनि परको कुरा मेरै अगाडी भईरहेको थियो ।

त्यस पछी केहि बेर कुरा गरेर हामि त्यहाँ बाट निस्कियौँ । उसलाई आफ्नो बाइकमा चढाएँ । आज रानी पछाडी बस्दा अरु दिन भन्दा छुट्टै अनुभूति भईरहेको थियो । उ आज अझै टाँस्सिएर बसेकी थिइ । उसले मेरो काँधमा हात राख्दा पनि मायाको स्पर्श जस्तै लाग्दै थियो । उसका हरेक शब्द शब्दमा मायाको अनुभूति भइरहेको थियो । मेरो अनुहार मुस्कानले भरिएको थियो । लाग्दै थियो रानी को होस्टेल कतै टाढा होस् । मलाइ उ संग छुट्टिन मन नै थिएन ।

भाग-८ :

त्यस दिन खुशी साथ काठमाडौं पुगेँ । मनमा छुट्टै उत्साह अनि उमङ्ग थियो । त्यस दिन देखि मा एउटा तरंगित मन बोकेर हिड्न थालेँ । म धेरै पछी खुशी भएर आफ्नो जीवन जिउन थालेको थिएँ । म रानीको सागर जस्तै मनमा पौडिन थालेको थिएँ । म उसको मनमा माछाको जीवन बाँच्दै थिएँ । म रानी भित्रै हराउन थालिसकेको थिएँ । उसका मृगका जस्ता आँखाले मेरो मन दिन प्रतिदिन लोभिंदै गएको थियो । उसका सुकोमल औंला र त्यसबाट मैले पाउने स्पर्शले उप्रती मेरो माया झन् झन् बढाउंदै लागेको थियो । हाम्रो भेटघाट हुने क्रम पनि बढ्दै गइरहेको थियो । गोदावरी, गार्डेन अफ ड्रिम्स अनि धुलिखेल हाम्रो बाक्लो भेटघाट अनि घुमघाम हुने ठाउँ थिए ।

एक दिनको भेटमा कुरै कुरामा रानी ले भनि “तिमि बिनाको समय किन यति लामो लाग्छ अतुल ?”

एकैछिन सोचेर मैले उत्तर दिएँ “तिमि सँगको लामो समय चाहिँ किन यति छोटो लाग्छ रानी?”
“खुब जानेको छौ जवाफ फर्काउन त” रानी ले हाँस्दै भनि ।

हामि बीच कुरा हुँदै जाँदा आकाश गज्रिरहेको थियो । लाग्थ्यो अब कुनै पनि बेला पानी पर्न सक्छ । नभन्दै त्यस्तै भयो, केहि छिनमै पानी पर्न थाल्यो । हामि संग छाता थिएन । अनि नजिक कतै ओत लाग्ने स्थान पनि थिएन । अब हामि संग भिज्नु बाहेक केहि उपाए थिएन । पानी मा भिज्दै गर्दा रानीको मुहार हेरे । लाग्दै थियो मौसम संगै रानी पनि रोम्यान्टिक भएकी होलि । उ निथ्रुक्क भिजेकि थिइ । उसले लगाएका वस्त्र उसको शरीर संगै चपक्क टाँसिएका थिए । म एक्कासी उसले लुकाएर राखेका उसका अंगहरु नियाल्न पुगेँ । मलाइ उसको शरीर संग होइन उ संग माया थियो त्यसैले आफ्ना पापी नजर उसको शरीर भन्दा टाढा पुर्याएँ । तर एक्कैछिनमा रानी म संगै टाँस्सिन आइपुगी । अब मेरो धैर्यताले सिमा नाघ्दै थियो । उसको काँधमा हात राखें अनि विस्तारै उसको कपाल तिर हात सुम्सुम्याउन थालें । उसको मुहार हेरें, उसले आफ्नो आँखा बन्द गरेकी थिइ । मैले उसका हात समाते अनि उसलाई अझै नजिक ल्याए । उसले आफुलाई मेरो हातमा आत्मसर्पण गरि । वातावरण शान्त थियो । कोहि बोलेको थिएन, आवाज थियो त केवल पानी को अनि तीव्र वेगमा चलेको चिसो हावाको ।

मैले माथि आकाशमा हेरे अनि भगवानलाई धन्यवाद दिएँ । त्यति बेला दिल, दिमाग के चल्यो थाहा भएन म उसको ओठ चुम्न पुगेँ । रानी ले सुरुमा केहि प्रतिक्रिया जनाइन, न सकारात्मक न नकारात्मक तर केहि छिन पछी उसले पनि मेरो साथ दिन थालि । उ मसंग अझै टाँस्सिन थालि अनि मेरो पनि एक केटा मानिसको मन त हो, अरुले जे गर्थे त्यहि गरें । उसका कामुक ओठ र मेरो ओठ एक अर्कामा हराउन थाले । हाम्रो मन एक अर्कामा हराउन थाल्यो । हामीले निकै बेर सम्म त्यसरी नै एक अर्काको ओठ संग मित लगायौ । एकैछिन पछी पानी रोकियो अनि हाम्रो मित पनि । हामि एक अर्काको साम्पिप्य बाट छुट्टियौ । मैले रानी लाइ आज म संगै बस्न आग्रह गरें । उसले मानिन । विभिन्न वहाना हरु बनाउन थालि । एकैछिन पानी रोकिएको थियो, हामि काठमाडौ आइपुग्यौ ।

काठमाडौं पुग्ने बित्तिकै फेरी ठुलो पानी पर्न थाल्यो । मैले बाइक लाइ सिधै आफ्नो कोठा तर्फ लगे । पानि नरोकिदा सम्म रानी मेरो कोठामा बस्न राजि भइ । हामी दुईको शरीर पुरै भिजेको थियो । कोठामा पुगेर लुगा फेर्न मसंग त लुगा थियो तर रानी संग थिएन । उसलाई सुरुमा टावेल दिए अनि दराज खोले । उसलाई गिफ्ट दिन भनेर केहि दिन अगाडी उसको लागी कपडा किनिदिएको थिए । उसलाई त्यहि कपडा दिए । उ चिसो मौसम मा भए पनि रातो वन पिसमा सजिई । तिघ्रा सम्म त कपडा ले छोप्थ्यो तर तिघ्रा मुनि त्यसले छेक्ने कुरा भएन । त्यो स्थितिमा त्यहि कपडामा बाहेक चित्त बुझाउने विकल्प नभएकाले उसले चित्त बुझाइ । मैले पनि कपडा फेरेँ ।

एकैछिन कुराकानी भए पछी मैले रानी लाइ भने “जाडो भए होला है ?”
“होइन खुब गर्मि भएको छ ।“ रानी ले रिसाए जसरि उत्तर दिई ।
“त्यसो भए त्यो कपडा को काम भएन ।“ मैले दोहोरो अर्थ लाग्ने कुरा गरें ।
“चुप लाग है नत्र कुटाइ भेट्लाउ नि” रानी ले भनि ।
“कुट्न आउँदा मेरो हात बाट छुट्न नसकेमा म जिम्मेवार छैन है ।“ म पुरै मुडमा थिएँ, जवाफ पनि त्यस्तै दिएँ ।

“जाडो भएको बेला जे पायो त्यहि नबोल त “ रानी ले भनि ।
“जाडो भएको भए पनि म छदै छु नि “ मैले फेरी त्यस्तै उत्तर दिए ।

रानी रीसाई अनि मलाइ पिट्न भनेर आइ । मैले त्यहि बेला उसको हात समातें । एकैछिनमा उ दिउसो जसरि नै मेरो हात सामु आत्मसमर्पण गर्न विवश भइ । हाम्रा ओठ फेरी मित लगाउन थाले । न उ रोकिई अनि न त म नै रोकिएँ । दिउसो हाम्रो मन एक भएको थियो अनि ओठले मित लगाएका थिए । अहिले हाम्रो आत्मा पनि एक भए अनि हाम्रो शरीर मित लगाउन पुगे । राति पानी रोकियो । उसले धुलिखेल नगए पनि आफ्नो अंकल को घर भए पनि जाने पर्ने बताई । मैले उसलाई बाइकमा बालाजु सम्म छोडिदिए जहाँ उसको अंकलको घर थियो । म घर फर्किएर पानी लाइ धन्यवाद दिएँ । त्यस दिनको घटनाले रानी प्रति अझै माया बढेको अनुभूति भइरहेको थियो । केहि समय सम्म कुनै एउटा कल्पनामा मात्र सिमित थियो हाम्रो सम्बन्ध तर त्यस दिन हाम्रो सम्बन्धले नयाँ आयाम छोएको आभास भइरहेको थियो । म अत्याधिक खुशी थिएँ, आफ्ना लागि, रानीका लागि अनि हाम्रा लागि, हाम्रो सम्बन्धका लागी ।

भाग-९ :

समय संग रानी र् मेरो सामिप्यता झनै बढ्न थाल्यो । लाग्थ्यो जीवन मा अब कुनै दुख अनि पिडा भन्ने कुरा नै छैन । एउटा खुशी जीवन बिताउँदै थियौ रानी र म । अन्तिम बर्समा अध्यानरत रहेकाले मलाइ पढाइको छाप पनि अलि धेरै नै थियो । कलेज बाट थकित अवस्थामा कोठामा फर्कनुपर्थ्यो । यसरि थकित अवस्थामा च्याटमा बस्नु र रानी संगै फोनमा बोल्न मलाइ मज्जा लाग्थ्यो । यो काठमाडौं को बिरानो ठाउँमा मा मैले एक जना यस्तो साथि भेटेको थिएँ जसलाई म जीवन साथि को रुपमा हेर्न थालिसकेको थिएँ ।

एक दिन रानी ले मलाइ बागबजार मा भेट्न बोलाइ । हाम्रो भेट नभएको केहि हप्ता भएको थियो त्यसैले यस भेटलाई लिएर मा अलि ज्यादा उत्सुक थिएँ । म ठिक पाँच बजे म त्यस क्याफे मा पुगेँ । उ त्यहिँ क्याफेमा कुरिरहेकी रहिछ ।किन-किन रानी लाइ देख्न साथ रमाइलो अनुभूति भयो । आफैँ भित्र एक किसिमको उर्जा थपिए जस्तै लाग्यो । मलाइ देखेर रानी मुस्कुराई । क्याफेमा मधुरो आवाजमा कुनै अंग्रेजी गित बजिरहेको थियो । गीतले प्रेमिकालाई प्रेमीले अनुनय- विनय गरेको भाव दिन्थ्यो । म क्याफेमा रानी बसिरहेको कुनामा पुगेँ । एकैछिन गफगाफ भयो । टेबलमा कफी पनि आइसकेको थियो । हामि भने गफमा मस्त थियौँ । त्यो साँझ मलाइ असाध्यै रमाइलो लागिरहेको थियो ।

केहि बेर पछी रानी ले भनि “अतुल एउटा कुरा भन्छु ल”
“भन न “ मैले उत्तर फर्काएँ ।
“मलाइ आजकल घर जाने मन लाग्दैन “ रानी ले गम्भीर हुँदै भनि ।
“किन के भयो?” मैले प्रश्न गरें ।
“घरमा मलाइ बिहे गर भनेर हैरान बनाइसक्नु भयो “ रानी ले भनि ।
“बिहे? अहिल्यै?” मैले प्रश्न गरे ।

“अँ, त्यस्तै भन्नु हुन्छ “ रानी निराश बनि ।
“अहिल्यै बिहे किन नि?” मैले प्रश्न गरे ।
“ज्योतिसिले मेरो बिहे २३ वर्ष भित्र गर्नु पर्छ नत्र अर्को १० वर्ष सम्म जुर्दैन भनेको छ रे “ रानी ले भनि ।
म एकैछिन मौन रहें । मैले केहि सोच्नै सकिरहेको थिइन ।
“तिमीले सम्झाउन सकेनौ?” मैले प्रश्न गरें ।
“लाखौ कोशिश गरिसकेँ । कोहि मान्नै तयार छैन । अर्को १० वर्ष कुर्ने कुरा हुँदैन भन्नु हुन्छ । म अब ५ महिनामा २३ बर्सकी हुन्छु अनि त्यति समय भित्र बिहे गर्नु पर्छ ।“ रानी ले भनि ।

“तर अहिल्यै त हामि पढ्दै छौ । अब १ महिनामा बल्ल मेरो पढाइ सकिन्छ व तिम्रो त अझै १ वर्ष पढ्ने बाँकी छ । अहिल्यै कसरि बिहे गर्ने ?” मैले आत्तिदै प्रश्न गरें ।
“घरमा कोहि मान्ने तयार छैन अतुल । जति सम्झाउने कोशिश गरेपनि कोहि मेरो कुरै सुन्दैन ।“ रानी ले भनि ।
“अब के गर्ने त?” मैले सोधे ।
“आफ्नो घरमा कुरा राख । हामि बिहे गरौ ।“ उसले भनि ।
“तर रानी अहिल्यै बिहे गरेर हाम्रो करियर नि?” मैले प्रश्न गरे ।

“त्यसो भए विकल्प के छ त अतुल । कि मैले अर्कै संग विहे गर्नु पर्यो कि तिमि नै चाहियो । मैले अरु संग विवाह गर्न सक्दिन ।“ उसले भनि ।
“तर रानी अहिल्यै मा तयार नै भएको छैन ।“ मैले भने ।
“तयार त म पनि छैन । बाध्यता हो मेरो पनि ।“ उसले भनि ।
“तिम्रो घरमा मेरो बारे भन्यौ?” मैले सोधे ।
“छैन । अर्कै केटा खोज्दै छन् । छिटो गर अतुल नत्र हामि दुवैको जीवन अन्धकारमय हुनेछ ।“ उसले भनि ।

त्यत्तिकैमा उसको फोन बज्यो ।
“बाबाको फोन “ उसले भनि ।
एकैछिन फोनमा बोले पछी उसले मेरो अनुहार हेरी अनि आँशु झार्न थालि ।
“के भयो रानी? किन रोएको?” मैले सोधे ।
“केटा भेट्टीयो रे । भोलि हेर्न आउंदैछ रे ।“ उसले रुँदै भनि ।

भाग-१० :

म रानीको कुरा सुनेर झनै आत्तिएँ । के गर्ने कसो गर्ने मैले सोच्ने सकिरहेको थिईन । एकैछिनमा रानी क्याफे बाट केहि नबोली निस्किई । बाहिर निस्किने बित्तिकै उ स्कुटर स्टार्ट गरेर छिनभरमै विलिन भइ । म पनि क्याफेमा बिल तिरेर आफ्नो कोठामा गएँ । रानी लाइ फोन गरे तर उसले फोन उठाइन । निकै बेर सम्म प्रयाश गर्दा पनि उता बाट रानी को आवाज आएन । म झनै आत्तिन थालें । न म अहिल्यै बिहे गर्न सक्थे अनि न त रानी लाइ गुमाउन नै ।

केहि दिन रानी सम्पर्कविहीन भइ । एक हप्ता पछी रानी को फोन आयो । उसले मलाइ भेट्न बोलाइ । म उसलाई भेट्न बालाजु पुगे । रानी ले मलाइ एउटा क्याफेमा बोलाएकी थिइ । म त्यही क्याफेमा पुगे । क्याफेमा पुग्दा रानी लाई देखिन । म उसले भनेको समय मा नै त्यहाँ पुगेको थिएँ त्यसैले उसलाई फोन गरे । उसले आफु त्यहाँ आउन अझै एक घण्टा लाग्ने कुरा बताई । म एक घण्टा उसलाई कुरेर बसेँ तर उ आइन । रानी को आगमनको प्रतिक्षामा मा थाकिसकेको थिएँ । उसलाई फेरी फोन गरें । उसले अब एकैछिनमा आउने कुरा बताई । तर अझै एक घण्टा सम्म उ आइन । म उसलाई अझै कुरौ कि त्यहाँ बाट निस्किउ दोधारमा थिएँ । त्यत्तिकैमा क्याफे अगाडी एउटा कार रोक्यो । कारको अगाडिको ढोका बाट एक जना केटि निस्किई । त्यो केटि रानी नै थिइ । उसले कार बाहिर निस्केर कार भित्र रहेको मानिस तर्फ हात हल्लाइ । उसले बिदाइको हात हल्लाएकी थिइ ।

मैले आफ्नो आँखाले भ्याए सम्म हेर्दा कार भित्र रहेको मानिसलाई देखेँ । भर्खरको केटो जस्तै देखिन्थ्यो जसलाई मैले आज सम्म देखेको थिइन । रानी ले मलाइ आफ्ना सबै साथि र आफन्त मलाइ चिनाएकी थिइ । त्यो व्यक्ति उसको साथि अनि आफन्त कोहि होइन भन्ने अनुमान लगाउन मलाइ मुश्किल भएन । केहि बेरमा रानी म बसिरहेको ठाउँमा आइ ।
“हाइ अतुल “ उसले भनि ।
“हाइ” मुस्कुराउदै उत्तर दिएँ ।
उसले केहि प्रतिक्रिया जनाइन । उ आफ्नो मोबाइल तर्फ नै ब्यस्त देखिन्थि ।

“यत्तिका दिन कहाँ हराएको?” मैले प्रश्न गरें ।
“अलि बिजी थिएँ ।“ उसले मोबाइल तर्फ हेर्दै उत्तर दिई ।
“मलाइ भन्नु पर्दैन ?” मैले सोधे ।
“किन भन्नु पर्यो र” उसले भनि ।
म उसको व्यबहार देखि अचम्मित थिएँ । उसले मेरो अनुहारमा एक पटक पनि हेरेकी थिइन । उ त केवल आफ्नो मोबाइल तर्फा हेर्दै थिइ ।

“मोबाइल बन्द गर्न मिल्दैन?” मैले सोधे ।
“मिल्दैन “ उसले भनि ।
म अझै अचम्मित हुन थाले । मैले चिनेको रानी र यो व्यवहार देखाउने रानी अर्कै हो कि जस्तो लाग्दै थियो ।
“अघि कसको कारमा आएको ?”
“ए देख्यौ?” उसले प्रतिप्रश्न गरि ।
“नदेखेको भए प्रश्न गर्थे र?” फेरी मैले प्रश्न गरे ।
उ केहि बोलिने । आफ्नो हातमा रहेको मोबाइल टेबलमा राखी अनि आफ्नो ब्याग खोलि । ब्याग बाट उसले एउटा विवाहको कार्ड निकाली अनि मलाइ दिई । अनि भनि “हो यहि संग आएकी “
कार्ड हेरे । अगाडी रातो अक्षर ले अतुल घिमिरे लेखिएको थियो । भित्र कार्ड खोले ।

कार्डमा लेखिएको थियो “ हाम्री आयुष्मती सुपुत्री सुश्री रानी सुवेदी को कोटेश्वर निवासी श्री घनश्याम खरेल तथा श्रीमती दुर्गा कुमारी खरेल का आयुष्मान सुपुत्र श्री सैलेश खरेल का साथ सु-सम्पन्न हुने शुभ-विवाह को सुखद उपलक्ष्यमा आशिर्वाद बक्सिन यहाँहरुको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।“

विवाहको मिति मङ्सिर २७ गते लेखिएको थियो । मङ्सिर २७ अर्थात हाम्रो भेट भएको दिनको ठिक ३ महिना पछी । त्यो कार्ड देखेर मेरो आँखा बाट आँशु खस्यो । रानी लाइ हेरें । उ मोबाइलमा हेरेर मुस्कुराउँदै थिइ । म केहि बोल्ने सकिन । उसले कसरि यति ठुलो निर्णय गरि भनेर म अचम्मित भएँ । मलाइ मेरो अगाडी भएका कुरा देख्दा बिश्वास लागिरहेको थिएन ।

“यो के हो रानी?” मैले प्रश्न गरे ।
“पढ्न आउँदैन र?” उसले भनि ।
“यत्ति ठुलो निर्णय एक्लै लियौ ?” मैले प्रश्न गरें ।
“एक्लै होइन, घरका सबै जनाले लिएको निर्णय हो ।“ उसले भनि ।
“अनि मलाइ एक पटक पनि केहि सोधेनौ ?” मैले प्रश्न गरे ।
“तिमिलाइ किन सोध्नु । हामि बीच जे थियो त्यो बिर्सिदेउ । अब नयाँ जीवन सुरु गर अनि मलाइ पनि नयाँ जीवन सुरु गर्न देउ ।“ उसले भनि ।
“तिमि खुशी छौ ?” मैले प्रश्न गरें ।
“एकदमै खुशी छु । तिमि संग हुँदा भन्दा पनि धेरै ।“ उसले भनि ।

उसको उत्तर ले मेरो मुटुमा छुरा रोपे जस्तै अनुभव भयो । हिजो सम्म मलाइ कहिल्यै नछोड है भन्ने मानिस आज अर्कै संग विवाह गर्न तयार भइसकेकी रहिछ ।

भाग-११ :

त्यस पछी रानी चुप छाप लागेर बाहिर निस्किन खोजि । मैले जति रोक्न खोजे पनि उ रोकिईन । जाँदा जाँदै एउटा कुरा चाहिँ भनेर गइ “ मलाइ अब बिर्स अतुल, म अरु कसैको भईसके । मलाइ आफ्नो जीवन स्वतन्त्र रुपमा बाँच्न देउ । तिमि पनि आफ्नो जीवन स्वतन्त्र बनेर बाँच । खुशी भएर जीवन बिताउ । आज बाट म संग सम्पर्क गर्ने प्रयाश नगर । मेरो बिहेको दिन म तिमीलाई कुरिरहनेछु ।“

उसले बिहेको दिन मलाइ कुरिरहनेछु त भनि तर उसलाई के थाहा म त उसलाई आफु बेहुला बनेर जन्ती कुराउन चाहन्थे । तर उसले निम्तो भने उसको सिउँदो अरु कसैले रंगाएको हेर्न थियो । केहि छिनमै रानी मेरो नजर बाट विलिन भइ । फाटेको मन अनि चुडीएको मुटु बोकेर म आफ्नो कोठामा पुगेँ । धेरै दिन देखि मलाइ खाना खान पनि मन लागिरहेको थिएन । रानी को एक्कासी बदलिएको स्वभाव ले म टुटिसकेको थिएँ । पेट खालि थियो तर खाने मन थिएन । थाल भरि खाना थियो तर मा अरुचि अनि धोकाले अघाएको थिएँ । रानी र मेरो जीवन बनाउन खोज्दा खोज्दै सबै क्षण, सबै समय अनि सबै दिन हरु कटे । तर अहिले अन्तिम मा आएर उसले आफ्नो जीवन अरु कसै संग बिताउने निधो गर्न पुगी ।

यत्तिकैमा धेरै दिन बिते अनि केहि हप्ता पनि । रानी मेरो सम्पर्क मा आइन । उसको फोन सधै स्विच अफ भानिरहन्थ्यो अनि फेसबुक पनि चालु अवस्थामा थिएन । म उसको यादमा दिन-प्रतिदिन तड्पीदै थिएँ । यहि विविध कारण हरुले म प्रेम प्रति घृणा गर्न थालिसकेको थिएँ । यहि घृणा लाइ मनमा लिएर म बाँच्दै थिएँ । रात पर्यो कि मदिरा पिउनु अनि त्यो पोखरा काठमाडौं सम्म को यात्रा सम्झनु मेरो दिनचर्या बनिसकेको थियो । म हरेक दिन यसरि नै त्यो पोखरा देखि काठमाडौं को यात्रा सम्झिने गर्थे अनि मदिराको मात संगै म मेरो र रानी को क्याफेमा भएको अन्तिम भेट सम्म सबै सम्झिन थाल्थे । हरेक दिन यहि सम्झिदा सम्झिदा एक महिना भन्दा धेरै समय नाघिसकेको थियो । यहि पिडा मनमा हुदा हुदा पनि मेरो इन्जिनियरिंग को पढाइ सकिसकेको थियो । त्यस पछी म दशैँ को लागि आफ्नो घर गएँ; पोखरा । घर पुगेपछि मैले आफ्नो सबै पिडा लुकाएर सबैलाई खुशि अनुहार देखाउन थालें ।

दशैँ को रमझमका बीच मैले जागिर पनि पाइसकेको थिएँ । यसै बीच घरमा ठुलो कुरा चल्यो । मलाइ पनि बिहे गर्ने कि भनेर प्रश्न गर्नु भयो । म प्रेम देखि डराएको मानिस बिहेको कुरा सुन्दा झनै डराएँ । मैले यत्ति चाडै बिहे गर्दिन भन्दा पनि घरमा सबैले समस्या देखाउन थाल्नुभयो । घरमा हजुरआमा बिरामी हुनुहुन्थ्यो । हजुरआमा को इच्छा भनेको नाति को बिहे भएको देख्नु रहेछ । उहाँ असाध्यै बिरामी भएकाले पनि उहाँको इच्छा पुरा गर्न मैले जति सक्दो छिटो बिहे गर्नु पर्ने हुन्थ्यो । घरमा मेरो बिहे गर्ने भनेर देखाइएको अर्को कारण थियो ग्रह दशा । २४ बर्स भित्र बिहे नगरे त्यस पछी गरिने बिहेको घरबार राम्रो हुँदैन भनेर ज्योतिसिले भनेको रहेछ । दुइ-तिन जना ज्योतिसिले त्यहि कुरा दोहोर्याएका रहेछन । कोहिले २२ वर्ष कोहिले २३ तकोहिले २४ वर्ष । त्यसैले मेरो घरका सबै जना मेरो बिहे छिटो भन्दा छिटो गरिदिने पक्षमा हुनुहुन्थ्यो ।

मेरो सामु यी सबै कुरा राखिएपछि मा पनि सोच्न बाध्य भएँ । रानी को घात ले फाटेको मन लाइ कसैले सिउनु जरुरि थियो तर मलाइ अरु कसै संग मायामा पर्छु जस्तो लागेको थिएन । अनि कसैलाई श्रीमती को रुपमा भित्र्याए पछी पनि उसलाई माया गर्न नसक्दा हामि दुबैको जीवन बर्बाद हुछा भनेर मैले सोचेको थिएँ । तर घरमा धेरै प्रेशर दिए पछी म बिहे गर्न तयार भएँ किनकि रानी लाइ पाउने आशा मैले मारिसकेको थिएँ । उसको बिहे छिनीइसकेको थियो त्यसैले पनि म यो निर्णय लिन बाध्य भएँ । म बिहे गर्न राजि भएको देखेर मेरो घरमा सबै जना औधि खुसही हुनुहुन्थ्यो ।
घरमा सबैले खुसि साटासाट गरिरहदा मेरो फोन बज्यो । फोन कुनै नयाँ नम्बर बाट आएको थियो । मैले फोन उठाए ।

“हेल्लो “
“हेल्लो, अतुल हो?” उता बाट आवाज आयो ।
“हो, तपाइँ नि ।“ मैले सोधे ।
“म प्रियंका । रानी को साथि ।“ उसको उत्तर आयो ।
“तिमि कहाँ छौ? तिमि संग छिटो भन्दा छिटो भेट्नु पर्ने छ । सबै कुरा फोनमा भन्न सक्दिन । तर पर्सि सम्म मलाइ जसरि भए पनि भेट ।“ उसले भनि ।

“के काम होला? म काठमाडौं बाहिर छु ।“ मैले भने ।
“त्यसो भए भोलि काठमाडौं आउ अनि पर्सि मलाइ भेट । तिमीलाई रानी को माया लाग्छ भने तिमीले यत्ति गर्ने पर्छ । कुरा रानी कै बारे हो ।“ उता बाट आवाज आयो ।
रानी संग भएको प्रेम माथि प्रश्न उठेकाले मैले भेट्दिन भन्न सकिन ।
“हुन्छ, म भोलि नै काठमाडौ आउँछु ।“ मैले उत्तर दिएँ ।

भाग-१२ :

म अर्को दिन काठमाडौं पुगेँ । घरमा सबैलाई जरुरि काम पर्यी भन्ने वहाना बनाएर म आएको थिएँ । अर्को दिन मैले प्रियंकालाई फोन गरे । उसले मलाइ कुपण्डोल को एउटा क्याफेमा बोलाइ । म त्यो क्याफेमा पुगेँ । त्यहाँ एउटा टेबलमा चिर परिचित अनुहार बसेको जस्तो लाग्यो । रानी को फेसबुकमा त्यो केट संग खिचेको धेरै फोटो थियो । उ नै प्रियंका होला जस्तो लाग्यो । उसको नजिक गएँ अनि चिनजान भयो । मेरो अनुमान ठिक रहेछ, उ नै प्रियंका रहिछ । केहि बेर सामान्य कुराकानी भयो अनि हामीले दुइ ओटा कफी पनि अर्डर गर्यौं ।

“अब मुख्य कुरा नै गरौ ।“ उसले भनि ।
“हुन्छ गर न ।“ मैले भनें ।
“तिमि अझै रानी लाइ माया गर्छौ ?” उसले सोधी ।
“सधै भरि गरिरहेने छु ।“ मैले उत्तर दिएँ ।
“अब रानी लाइ पाउँछु जस्तो लाग्छ र?” उसले सोधी ।
“माया भन्ने कुरा अर्को लाइ पाउँछु र पाउँदिन भन्ने कुरामा भर पर्दैन । यो त प्राकृतिक कुरा हो, आफै हुन्छ ।“ मैले उत्तर दिएँ ।
“रानी को त बिहे हुन लागेको छ नि “ उसले भनि ।
“निम्तो पाएको छु । यो भन्दा ठुलो बिडम्बना के होला र । “ मैले भनें ।
“तिमीलाई पनि रानी ले माया गर्छे ।“ उसले भनि ।
“मजाक नगर ।“ मैले भने ।
“मजाक गर्ने भए तिमीलाई पोखरा बाट यहाँ बोलाउने थिइन । “ उसले भनि ।

“माया गर्छे भनेर कसरि भन्न सक्छौ ?” मैले प्रश्न गरें ।
“उसको हरेक शब्द शब्द बाट थाहा हुन्छ ।“ उसले भनि ।
“त्यसो भए बिहे गर्न किन लागि त ?” मैले प्रश्न गरें ।
“तिम्रो लागि ।“ उसले भनि ।
“मैले बुझिन नि ।“ मैले भने ।
“भोलि दिउसो १ बजे यहि ठाउँमा आउ । म रानी लाइ लिएर आउनेछु अनि सबै बुझ्नेछौ ।“ उसले भनि ।

त्यसको केहि बेर पछी हामि छुट्टियौ । म भोलि को दिनको पर्खाइमा बस्न थालें । म अर्को दिनको पर्खाइमा बस्न थालेँ । हरेक सेकेन्ड बिताउन गाह्रो भइरहेको थियो । रानी लाइ भेट्न पाउँछु भनेर मेरो मन खुशी थियो । अझ प्रियंकाले रानीले अझै तिमीलाई माया गर्छे भनेको सुन्दा मेरो मनमा कौतुहलता बढिरहेको थियो । निकै कस्ट संग त्यो रात बिताएँ । अर्को दिन दिउसो १ बजे कुर्न पनि धौ धौ नै पर्यो । ११ बजे आफ्नो कोठा बाट निस्किएँ । त्यस पछी बिस्तारै म कुपण्डोल तर्फ गएँ । १२ बजे म कुपण्डोल को क्याफे मा पुगिसकेको थिएँ ।

म रानी र प्रियंका लाइ कुरेर बसेँ । उनीहरु ठिक १ बजे क्याफे मा आए । खैरो कपडामा सेतो बुट्टा भएको स्कर्टमा रानी आइरहेको देखेँ । पहिले भन्दा दुब्लाएको जस्तो लाग्यो । अनुहारको चमक उस्तै थियो । ति गाजलु आँखाले मलाइ फेरी आकर्षित गरिहाले । एकैछिनमा उनीहरु मेरो नजिक आए । प्रियंका ले मलाइ पहिले हाइ भनि । मैले पनि उसलाई हाइ फर्काएँ । त्यसपछि रानी हल्का मुस्कुराई अनि भनि “हाइ अतुल,सन्चै छौ?”
“हाइ । सन्चो बिसन्चो के छ चाहिँ आफैँ विचार गर ।“ मैले भनें ।
उ मौन भइ । त्यत्तिकैमा प्रियंका ले भनि “त्यहि कुरा गर्न त तिमिहरु भेट हुँदै छौ ।“

एकैछिन सामान्य गफगाफ भयो त्यसपछी मैले भनें “मलाइ किन बोलाएको?”
“रानी ले तिमीलाई माया गर्छे भन्ने देखाउन ।“ प्रियंका ले भनि ।
“मायाको आभास मैले अस्तिनै गरिसकेँ । उसले आफ्नो विहेको कार्ड थमाउने बेलामा ।“ मैले भनें ।
“त्यो विहेको कार्ड तिन ओटा मात्र छापिएको थियो । एउटा मेरो घर, अर्को केटाको घर अनि अर्को तिम्रो हातमा पुर्याउनका लागि । अरु कसैलाई विहेको बारेमा थाहा छैन ।“ रानी ले भनि ।
“भने पछी मेरो मुटुमा अलि छिटै छुरा रोप्न खोजेको “ मैले भनें ।
“त्यस्तो होइन, मेरो विहे क्यान्सल भइसक्यो ।“ रानी ले भनि ।
“क्यान्सल? किन?” मैले प्रश्न गरें ।
“मन एक जना संग भए पछी जीवन अर्को संग कसरि बिताउन सकिन्छ र?” रानी ले भनि ।

“बुझ्ने गरि भन । सबै कुरा भन ।“ मैले भनें ।
“तिमीलाई के लाग्छ अतुल, म तिमीलाई एक्कासी माया गर्न छोड्छु होला र? तिमि संग मैले मन मात्र होइन शरीर पनि साटेकी थिएँ । म त्यति चरित्रहीन थिएँ होला र? म तिमीलाई नै माया गर्थे अनि अझै पनि तिमीलाई नै माया गर्छु अतुल । घरमा विहेको कुरा चलेको त तिमीलाई भनेकै थिएँ । घर बाट मलाइ त्यो केटा संग विहे गर्न दवाव आयो अनि मैले त्यति बेली तिम्रो बारेमा घरमा सबै कुरा राखें । तर मेरो घरको कोहि पनि तिम्रो र मेरो सम्वन्ध स्वीकार्न तयार हुनुभएन । हामीलाई मेरो परिवार द्वारा छुट्याउन खोजियो ।“ रानी ले भनि ।

“किन के गर्यो र ?” मैले प्रश्न गरें ।
“तिम्रो र मेरो परिवारको पहिल्यै देखि चिनजान छ । चिनजान भएको त राम्रै कुरा थियो तर सम्बन्ध धमिलिएको हुनाले हामीलाई कुनै हालमा साथ रहन नदीने निस्कर्षमा मेरो घरका सदस्यहरु पुग्नु भएको थियो । मेरो ठुलो बुवाको छोरी जो मेरो दिदि पर्नुहुन्छ उहाँको विहे तिम्रो दाइ संग छिनिएको थियो । तिम्रो दाइ अर्थात तिम्रो पनि ठुलोबुवाको छोरा । तिमीलाई पक्कै याद होला तिम्रो दाइको विहे छिनिएर पछी क्यान्सल भएको?” रानी ले भनि ।

“थाहा त छ तर तिम्रो घर सँगै भएको थियो भन्ने ख्याल गरिन ।“ मैले भनें ।
“ख्याल मैले पनि गरेकि थिइन । पाँच बर्स अगाडिको कुरा हो अनि अहिले दिदीको अर्कै ठाउँमा विहे भइसक्यो त्यसैले पनि मलाइ खासै ख्याल भएन । तर जब तिम्रो नाम मैले मेरो घरमा राखें सुरुमा त सबैले केटालाई चीनौं भन्नुभयो । मैले तिम्रो बारे भन्दै जाँदा उहाँहरुलाई तिमि त्यहि परिवारको हौ भन्ने शंका लागेछ । अनि मेरो कुरा सुन्दै जाँदा र उहाँहरुले सोधखोज गर्दा तिमि त्यहि परिवारको रहेको थाहा पाउनुभयो । त्यो विहेमा हाम्रो तिर बाट सबै तयारि लगभग सकिएको बेला तिम्रो दाइले विहे गर्न मन्न्नुभएको थिएन । सबैलाई निम्तो दिईसकेपछी गरिएको त्यस्तो निर्णयले मेरो परिवार अझै पनि क्षद-विक्षद रहेछ । अनि त्यस्तो गर्ने परिवारमा फेरी छोरी दिन हुँदैन भन्नु भयो । मैले सम्झाउन खोजें तर कोहि मेरो कुरा सुन्न राजि भएन अनि म विवश भएँ त्यो गर्न जे मैले तिम्रो साथ गरें । तर तिमीलाई मैले भुल्न सकिन अतुल । तिमीलाई विहेको कार्ड दिने कुरा मैले मेरो परिवारले भनेको मानेको हो । खासमा कार्ड दुइओटा छापिएको हुन्छ तर तिमीलाई म बाट टाढा गराउन तिन ओटा कार्ड बनाइयो । मैले तिमि संग विहे गरे तिमीलाई नै नराम्रो हुन्छ भनेर मलाइ धम्कि पनि आयो अनि म विवश भएँ तिम्रो लागि यो सबै गर्न तर तिमीलाई कहाँ बिर्सन सक्थें र अतुल । कुनै हालमा सकिन । अनि मेरो परिवारलाई कसरि फकाउन सकिन्छ भनेर सोच्न थालें । तिम्रो सहयोग लिने सोचेकी थिएँ तर तिम्रो अगाडी कुन अनुहार लिएर जाउँ भनेर मैले तिमि संग सम्पर्क गरिन । पछी मैले सबै बुझ्दा तिम्रो बाबा र ठुलोबुबा धेरै पहिले देखि छुट्टै बस्नु हुँदो रहेछ । मैले यहि कुरा आफ्नो घरमा राखें । तिमि हरु संगै बस्ने होइन त्यसैले त्यो परिवार नै फरक हो । यो निर्णय अतुल को परिवारको होइन भनें । सुरुमा कोहि मान्न तयार भएन तर पछी छोरी खुशी हुन्छे भने मान्नै पर्यो भन्नुभयो । त्यो विहे क्यान्सल हुनुमा तिम्रो परिवारको हात थिएन भन्ने बुझेपछि मेरो परिवारका सबै मानिस तिमि संग नै विहे गराइदिन राजि हुनुभयो । अनि अर्को ठाउँमा मैले विहे गर्दिन भनेर त्यो विवाह को तयारि रोकिदिएं ।“ रानी ले आँशु चुहाउँदै भनि ।

उसको कुरा सुनेर मैले पनि खुसीको आँशु झार्न थालें । केहि बेर पछी उ आफ्नो ठाउँ बाट उठी अनि मेरो नजिक आइ । अनि मेरो हात समाती र भनि “आइ स्टिल लभ यु अतुल । विल यु म्यारी मी?”

भाग-१३ : अन्तिम भाग:

उसको कुरा मैले कसरि नकार्न सक्थें र, मैले यत्ति धेरै माया गरेको मान्छेले मेरै अगाडी विवाहको प्रस्ताव राख्दै थिइ । उसलाई मैले अंगालोमा बेरे । हामि दुवैको आँखाबाट निरन्तर आँशु बग्न थाल्यो ।
“यस्,आइ विल म्यारी यु रानी “ मैले उसलाई भनें ।
यत्ति भनेपछि रानीले मलाई अझै बेस्सरी अंगालोमा बेरी । मैले प्रियंकालाई हेरें, उ पनि आँखा बाट आँशु झार्दै थिइ । एकैछिन पछी मैले क्याफेमा भएका सबैले हामी तिर नै हेरेको देखेँ । त्यस पछी म उसको अँगालो बाट छुट्टिएर क्याफेमा बिल तिरें । बिल तिरेर पछाडी फर्कंदा क्याफेमा रहेका सबै मानिस रानी संगै उभिएका थिए । उनीहरु सबैले हामीलाई विवाहको शुभकामना अनि वधाई दिन थाले । उनीहरु सबै रानी कै साथि रहेछन् । त्यस पछी रानी ले भनि “अब तिम्रो घरमा पनि कुरा राख, हामी संग धेरै समय छैन ।“
“म भोलि नै पोखरा गएर मेरो घरमा कुरा राख्छु ।“ मैले भनें ।
“आज तिमि मेरै घरमा बस । मेरो घरमा सबैले तिमीलाई बोलाउनु भएको छ ।“ रानी ले भनि ।

मलाइ उसको घर जान अफ्ठ्यारो लाग्यो । मैले उसको घर नजाने बताएँ तर उसको बुवाले फोन गरेर नै मलाइ बोलाएपछि मैले जाँदिन भन्न सकिन । म बेलुका रानी को घरमा पुगेँ । घरमा सबैले मलाइ धेरै नै आदार गर्नुभयो । मलाइ ज्वाईंको रुपमा घरमा सत्कार गरिंदै थियो । घरका सबै सदस्य संग मैले खाना खाएँ । मैले त्यस रात रानीको घरमा बिताएर भोलि पल्ट पोखरा गएँ । पोखरा पुगेर मैले मेरो घरमा सबै कुरा भनें । घरमा सबै जना मेरो कुरामा सहमत हुनुभयो । रानी लाइ वुहारी बनाएर मेरो घरमा भित्र्याउन तयार हुनुभयो । त्यसको भोलिपल्ट फेरी म मेरो घरका सम्पूर्ण पुरुष सदस्य संग काठमाडौं गएँ । हामी सबै रानी को घरमा उसको हात माग्न गयौं । मेरो परिवार संग कुनै समस्या भएन अनि मेरो ठुलोबुवाको परिवारले ले दाइको विहेमा जे भयो त्यसको लागि माफी माग्नुभयो ।

हामि सबै जना धेरै नै खुशी थियौ । हाम्रो विवाहको मिति पनि त्यहि दिन छिनोफानो गर्ने कुरा भयो । मङ्सिर ७ गते रानी र मेरो विहे गरिने साइत निकालियो । हाम्रो विवाह मङ्सिर ७ गते गर्ने सहमति भयो । त्यस पछी हामी पोखरा फर्कियौं अनि विवाहको तयारि गर्यौं । विवाह भव्य गर्ने भनेर तयारी पनि त्यहि अनुसारको भयो । मङ्सिर ७ गते कुर्नु धेरै लामो समय लाग्यो । तर अन्तत त्यो दिन आउनु नै थियो, आयो । हामी पोखरा बाट जन्ती लिएर काठमाडौं पुग्यौं । रानीको घर पुग्दा त्यहाँ पनि धेरै नै रमझम देखियो । विवाह रानी को परिवारको तर्फ बाट पनि भव्य बनाउन कुनै कसर बाँकी नराखिएको देखियो । हाम्रो त्यस दिन विवाह पनि गयो । बाजा को धुनमा म आफ्नै विवाहमा खुब नांचे ।

त्यस दिन मैले आफुले माया गरेकी मान्छे पाउँदाको अनुभूति कस्तो हुँदो रहेछ भनेर थाहा पाएको थिएँ । केटि तिरको परिवार होस् वा त केटा तिरको, सबैको अनुहारमा ठुलो खुशी देखिन्थ्यो । रानी लाइ मेरो घरमा भव्य रुपमा वुहारीको रुपमा भित्र्याइयो । घरमा सबैलाई रानी धेरै मन परेको थियो । सर्वगुण सम्पन्न वुहारी पाएको भनेर मेरो घरमा सबै जना खुशी हुनुहुन्थ्यो । एक हप्ता पछी रानी र म काठमाडौ फर्कियौं । त्यस पछी म अफिस जान थालें अनि रानी होस्टेल गइ । केहि समय पछी रानीको पढाइ पनि सकियो । उ डाक्टर भइ । मैले पनि त्यति बेला सम्म राम्रो आम्दानि गर्न थालिसकेको थिएँ । हामी त्यसपछि सधैं संगै बस्न थाल्यौं । हाम्रो जोडी देखेर दुनिया आकर्षित हुन्थे । हामी बिच कहिल्यै कुनै मनमुटाव आएन । हरेक पाइला पाइलामा हामीले एक अर्काको साथ दिन थाल्यौं । हाम्रो मायाले संसारका सबै कुरालाई जित्यो । उ मेरो जीवनको रानी भइ । उ मेरो घरको पनि रानी नै बनि । उसलाई सबैले असाध्यै माया गर्नुहुन्थ्यो । हामि दुइको वर्तमान त सुनौलो थियो नै तर भविस्य अझै सुनालो बनाउने कल्पना गरेर हामि सधै हरेक कदम कदम मा एक अर्काको साथ मा रह्यौं । हाम्रो त्यस्तो सम्बन्धले विजेता भने एउटा कुरा निस्कियो; माया । मायाको जित भयो । खुशीको जित भयो अनि हाम्रो ओरालो लाग्न थालिसकेको जीवनको ठुलो जित भयो । एउटा सुन्दर अनि सुनौलो संसारको सुरुवात भयो ।

    -शिशिर पराजुली

समाप्त 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button