साउने झरी 

रातको मध्यप्रहर, ठुलो आवाजमा बादल गर्ज्यो, गडम्म…गड गड…..गडम्म । बादलका गर्जनहरु आकाशका एक कुनाबाट अर्को कुनासम्म ध्वनी तरंगको रुपमा फैलियो र शुन्यमा बिलायो । कमलाले बिस्तारै आँखा खोली । कोठाको चारैतिर हेरी केहि देखिन । चकमन्न कालो रातमा बाहिर बारीमा मकैका पातहरु बजेको सुनिन्थ्यो, शायद पुर्वीया हावा चलेको थियो । झ्यालको सानो चेपबाट बाहिर उज्यालो देखियो मिलील्ल…..मिलीक्क…. । उसले डरले आँखा छोपी । फेरि बादल गर्ज्यो ..गड्या……. । धेरै बेरको यो शिलशिलापछि बिस्तारै पानी छिट्टायो । कमलाले भयभित मन एकातिर पन्छाएर कोठाको झ्याल खोली । शितल हावाको एउटा झेाकाले उसलाइ छोएर बिरानो भयो । उसको निधारमा सलबलाइरहेका केशराशीहरु सपक्क मिलेर बसे । ऊ निश्चल मुस्कान ओंठमा च्यापेर टोलाइरही । चकमन्न कालो रात, त्यसमाथि पानीको एकोहोरो झरी, उसलाइ बिरक्त लागेर आयो । खुशी मन छिनमै दुखी भयो । उसले ओछ्यानमा घुँडा टेकी र झ्यालमा दुवै कुहिनाहरु अडाएर बाहितिर हेरिरही ।

कति छिट्टै उसका जीवनका चौधवटा बसन्तहरु बितेछन, उसले पत्तै पाइन । सिमलचौरको ठुलो चौरीमा खेलेर बिताएको बालापनका दिनहरु उसले बिर्सनै नसक्ने दिनहरु थिए । नजिकै स्कुल भएपनि उसले पाँच भन्दा बढि पढ्न पाइन । उसले न त मिठो खान पाइ, न त राम्रो लाउन नै । सधैं हाड छाला घोटेर काम गर्नु उसको बाध्यता थियो । गोरी, कलिली ऊ, उसलाइ काम गर्नुभन्दा पनि पढ्न नपाउनुको पिडा थियो । ऊ राम्री थिइ, बिस्तारै यौवना हुँदै थिइ । शायद त्यसैले धेरैको नजर उसको मुहारमा अडिन्थे । ऊ बालसुलभ हाँसो हाँसेर टाढा भइदिन्थी । उसलाइ हेर्नेहरु उसको निश्चल हाँसोको अगाडी घाइते बन्थे । तर कमला स्वयंलाइ भने यो कुराको पत्तोसम्म पनि थिएन । ऊ बारीका पाटाहरुमा यताबाट उता दौडिन्थी, छिनमै एउटा घरबाट अर्को घर पुग्थी । साथीहरुको लहै लहैमा कतिपटक त आरु, आँप पनि चोरी उसले । धेरैपटक त आरुको हाँगा भाँचिएर लडेकी पनि थिइ ऊ । अकस्मात उसलाइ हातको घाउ याद आयो, एकपटक आरुको रुखबाट खस्दाको चोट । उसले हातमा भएको सानो खत हेरि, सुम्सुम्याइ र घोरिइ निकैबेर । आज कमलाले यस्तै जीवनका कुराहरु मनमा खेलाइरही र सुस्ताइरही । ऊ व्युँझेपछि निदाउन सकिन । हजार कोशिस गर्दा पनि उसको आँखामा निद्रा परेन । उसले आज दिउँसो तल्ला घरे काँइली भाउजुले भनेको बिहेकेा कुरा पनि सम्झी । “केटो राम्रो छ, इन्डीयामा जागिरे छ, तिम्लाइ त हाताँ राखेर पाल्छ, खान, लाउन याँ को जस्तो दुख हुन्न बुझेउ ।” काँइली भाउजुको कुरा उसको मानसपटलमा दौडिरह्यो ।

भोलिपल्ट बिहान अबेरसम्म ऊ सुतिरही । बाहिर अझै नि मसिनो झरि पर्दै थियो । “सातदिन सात रात पर्छ कि के हो झरी नि ” आमा भुतभुताउँदै कमला सुतेको ठाउँमा आइन । कमलाको पारा देखेर आमा दंग परिन । कमला सिरानीतिर खुट्टा पसारेर सुतेकी थिइ । उसको ओछ्यानको तन्ना सब खुम्चीएको थियो । अेाढ्ने तल झरेको थियो । रिसले आमा बोलिन, “के हो कमला,उठ्ने बेला भएन तेरो ? ”
कमलाले आँखा खोल्दै भनि “अ अ …उठ्ने हो अब, कति बज्यो ? ”
“आठ बजिसक्यो । उठ् पानी लिएर आ कुवाबाट । अनि के हो पारा ? के गरि सुत्या यो ? ”
“गरम भएर ……, रातभर निन्द्रा परेन । बिहानीपख पो निदाएछु । ”
“के सम्झेर बसिस त रातभर ? ”
कमलाले आमाको पछिल्लो कुरामा बिबाद गर्न चाहिन र जुरुक्क उठी । यस्ता खप्की त कति हो कति ? कमलाले ती सब भोगिसकी । तैनि कमला सरस र सरल छे । उसलाइ सँाच्चै भन्दा रिसाउनै आउँदैन । दुइवटा भाइ, एउटी बहिनीलाइ ढाडमा राखेर खेलाउँदा उ रमाइलो मान्छे । तीनले उसका घाँगरमा गर्दिएको पिसाबले पनि ऊ दुखी हुन्न । बरु हाँसीखुशी घर लिप्न भ्याउँछे, भात पकाउँछे । पानी घाँस सब गर्छे । एउटा घरै धानेर बसेकी छे कमला । साँच्चै कमला चौध बर्षमै चालिसकी भइसकी । उसमा कामगर्ने परिपक्वता छ तर राम्ररी बोल्न आउँदैन, ऊ भनेका कुराहरु सुन्छे, केलाउँछे पनि तर हत्तपत्त निर्णय गर्न सक्दिन ।

कमलाले आफ्नो जिंगीरीङ्ग परेको कपाललाइ एउटै मुठो पारेर बाँधी । लगाएको फ्रक र सर्टलाइ मिलाएर तन्काइ र सम्हालिएको महसुस गरी । दुवै हातले आँखा पुछी र एउटा लामो हाइ पनि काढी । आमा गइसकेकी थिइन । ऊ पनि भर्याङ बाट ओर्ली । मझेरीमा भुराहरु तताएको भात छर्दै, खाँदै थिए । उ ती सबलाइ हेरेर एकपटक मुस्कुराइ र रित्तो गाग्री बोकेर कुवातिर लागी ।

काइँली भाउजु कुवामै भेटिइन । उनी पानी भरेर हिड्न ठिक्क परेकी थिइन । कमलालाइ देखेर उनी रोकिइन । उनले प्रश्नहरु भरिएको अँाखाले कमलालाइ हेरिरहिन । कमलाले उनलाइ एकनजर हेरेर आँखा निहुराइ र कुवाको पानी झीकेर मुख धोइ । उसको मुहार बादल खुलेको आकाशजस्तो छ्याङ्ग भयो । काँइली भाउजुले आफ्नो गाग्री डिलमा राख्दै सोधिन, “किन ढिला आयौ र ? म त तिमी आउन्नौकी भन्याथें । “कमलाले सुस्तरी बोली,” त्यतिकै ।” कमला कुवाबाट पानी झीक्दै गाग्रीमा खन्याउँदै गर्न थाली । उसका हातहरु स्वचालित मेसीन झै त्यो काम गर्न अभ्यस्त थिए । त्यति नै बेला उसको अनुहारमा एउटा त्रास छाएकेा देखिन्थ्यो । जसलाइ नियालिरहेकी काँइली भाउजुले मुख फोरीन, “के सोच्यौ त हिजोको मेरो कुरा ? राम्रो घर छ के रे । हुन्छ भने हुन्छ भन । नत्र अर्कातिर जालान फेरि । “भाउजुको कुराले कमलालाइ फेरि सोचमा डुबायो । भाउजुले फेरि भनिन, “मौका गुम्ला है । हाम्रा नजिकका मान्छे भएर मात्र भन्द्या हुँ मैले त । के म तिम्रो नराम्रो सोचम्ला त ? केहि दुख्ा हुन्न तिम्लाइ । यँा जस्तो खान लाउनै गारो पनि हुन्न । ” कमलाले केहि भन्ने आँट गरी तर बोल्न सकिन । उसले हेरि मात्र रही । उसका आँखामा अनगिन्ती प्रश्नहरु डुबुल्की मारिरहेका थिए जो काइँली भाउजु बुझ्थीन । त्यसैले उनले बातावरण सहज बनाउँदै सोधिन, “कमला भनन, के हो कुरा ? तिमी बे गर्छौ कि गर्दिनौ ? ”
कमलाले बालसुलभ हेराइसँगै भनि, “था छैन । ”
“ल के भनेकी, अब यत्री भएर नि था छैन भन्ने हो । भनन । जान्छौ भने म कुरा मिलाइदिन्छु । सबथोक राम्रो हुन्छ त्यँा । ”
“घराँ के भन्ने हुन ? ” कमलाले मुख फोरी ।
“के भन्नु नि, एकदिन जानपरिहाल्छ केटिमान्छे भएपछि । अहिले राम्रो केटो आ भएर पो भन्दैछु । ” काँइली भाउजुले सम्झाइन ।
काँइली भाउजुको कुरा सुनेर कमलाले शिर निहुराइ । काइली भाउजुले सोचिन “अब मान्छे जस्तो छ यल्ले ।” काँइली भाउजुको बाण सहि निशानामा लाग्न खोज्दै थियो । उनी चौधबर्षिया कमलालाइ आफ्नो भाइ नाता पर्ने २६ बर्षे केटोसँग बिहे गराइदिन चाहन्थीन । उनी कमलाको बेदनामाथि प्रहार गरेर उनलाइ जित्ने सोचमा थिइन । जब जब उनले कमलालाइ घरको भताभुँग अवस्थाको बारेमा भनिन तबतब कमला गल्दै गइ । त्यसैले आज उनको अधरमा आधा जीतको हाँसो छायो । उनी भित्रभित्रै मुस्काइन र फुरुङ्ग भइन । कमलाले पानी भरिसकेर सोधि,” जाने हैन काँइली भाउजु ? “कमलाको आवाजले काइँली भाउजु झसँग भइन र जाने स्वीकृतीसँगै मुन्टो हल्लाइन ।

सधैं झै आज मेला जानुपर्ने । तर कमला हिडेकी थिइन अझै । उ सदाको भन्दा फरक भएकी थिइ । उसले खाना खाइ कि खाइन, त्यो पनि बिर्सी । उसको दिमागमा बिहे, केटा, काँइली भाउजु मात्र छाइरह्यो । धेरै बेर कुरेपछि नि कमला तल नओर्लेपछि आमा नै माथि पुगिन । कमला टोलाएको देखेर आमा रिसाउँदै कराइन, ” मेला जाने मान्छे के हो हँ तँ ? के भा छ तँलाइ हिजोआज ? ”
कमला झस्कदै बोली,” के केहि भा छैन आमा, साँच्चै कस्को मेला रे ? ”
“कस्को नि, त्यहि डाँडाघरेको नि, बिर्सीस कि क्या हो ? ल हिड । ”
“हुन्छ, ” कमलाले अल्छी लाग्दो पारामा भनी । कमला आमासँग थुप्रै कुरा गर्न चाहान्थी तर सकिरहेकी थिइन । आँट गरेर पनि मुखमा कुरा आएन । त्यसैले कमला आमाको पछि लागी । साउने झरि फेरि दर्क्यो । कमलाले काखीमा च्यापी राखेको घुम झीकेर ओढि । बाटो चिप्लो थियो । ऊ सम्हालिएर हिडीरही । मेलामा पुग्नै लाग्दा कमलाको बोली फुत्क्यो, “आमा ….”
आमा अघि अघि थिइन, उनी फर्केर हेर्दै सोधिन, “किन ? ”
कमलाले अकमकिदै भनिन …, “आमा स्कुल बिदा छ है अहिले ? ”
फेद न टुप्पोको कुरो सुनेर आमा दंग परिन र भनिन, ” किन ? के स्कुल ? तँलाइ के चासो ? जाने हैन के रे तँ ? ”
“जान मन लाइराछ । “कमलाले आँट गरेर भनी ।
“नचाइया कुरा नगर, छोडीसक्या स्कुल जान्छन केाहि ? तैले काम नगरे कसरी खान पाउँछेस ? “आमा रिसाइन र भुतभुताइरहीन, “हामी तेरा उमेराँ त कस्ता थिम । यति हो र कति काम गरियो कति । चौध बर्षाँ व्या गरेर नि घर चलाइयो क्या रे । आजकलका केटाकेटी र … ? के भन्ने ? “निकै गर्व थियो आमाको त्यो बोलीमा । कमलाले त्यो बोलीबाट के सिकी थाहा भएन तर उसलाइ आमाको मुखबाट निस्केको चौध बर्ष भन्ने शव्दले काँडा झै घोचिरह्यो । त्यसैले फेरि कमलाको मुखबाट पढाइको कुरा निक्लेन । ऊ सरासर खेतमा पसेर धान गोड्न थाली ।

खेतालाहरु थुप्रै थिए । गरामा पानी टनाटन भरिएका थिए । पानीमा भैसी आहाल बसे जसरी गोड्नुपर्ने । कमलाले ती सबको वास्ता नगरी एकोहोरो गोडीरही । ऊ कसैसँग मन फुकाएर बोल्दा पनि बोलिन । धानका पातले पास्ला कि भनेर कमलाले लामो बाउले लुगा लगाएकी थिइ । धानका तिनै गाँजहरुसँग लुकामारी खेल्दै कमलाले आधीदिनको काम सकाइ । उसको मनमा नानाभाँती कुराहरु खेलिरहे । के गर्ने, के नगर्ने ऊसले सोच्न सकीरहेकी थिइन । उ काँइली भाउजुको कुराले डगमगाउन थाली । घरमा उसको कुनै इच्छाहरु पुरा हुने छाँट देखिन उसले । फेरि आमाको चौध बर्ष भन्ने शब्दले उसलाइ मनले नमान्दा नमान्दै पनि बिहेको लागि पे्ररित गर्दै थियो । उसको लक्ष्य के त ? ऊ पढेर केहि बन्ने हो ? हैन । ऊ सिप सिकेर केहि गर्ने हो ? हैन । उसले आफैसँग प्रश्नउत्तर गरीरही । आमाले चौध बर्षमा घर चलाउन सकीन भने म किन नसकुलाँ ? उसले हिम्मत जुराइ । मन दरो पारी । साउनको झरी पर्दै थियो एकनाशले निरन्तर …..

आमा घरमा आइसकेकी थिइन । घरको मुलखामोमा बर्षौदेखि झुन्ड्याइएको थोत्रो पुरानो रेडियो बजिरहेको थियो । आमाले ती कुराहरुमा ध्यान दिइनन । उनले दिनभरि थाकेर लखतरान भएकेा शरिरलाइ चकटीमा बिसाउँदै अँगेनामा आगो सल्काइन र मनमनै सोचिन “आज कर्कलाको गाभो र ढिडो पकाउनुपर्ला । ” वरिपरि साना भान्टाङ्ग भुन्टुङ्ग बसेर आमाको काम हेर्दै थिए । तिनका हातमा आमाले मेलाबाट ल्याइदिएकेा चिउरा र चिनी थियो । तिनीहरु खुशी थिए, तिनलाइ हेरेर आमा पनि खुशी भइन । ढिडोको पानी बसालीन र बाहिर निस्कीन । आमाले करेसाको कर्कलाको गाभो टिपेर ल्याइन । रात पर्न खोज्दै थियो । कमला अझै आएकी थिइन । रेडियोले समाचार भन्यो । चिचिन्डेमा पहिरोले थुप्रै घर बगाएछ । आमाको कान एक्कासी ठाडो भयो, सोचिन धन्न हाम्रा याँ बाढि पैराको डर छैन । आमा फेरि काममै व्यस्त भइन । ढिडो ओडालीन । तर कमला अझै आइन । उनको मनमा एककिसिमको छटपटाहट भयो । “काँ गइ होली, हिड्न त मेलाबाट म भन्दा चाँडै हिडेकी, किन आइन ? आ..काँ पो जाली, आइहाल्छे नि । काम छल्न बसेकी नि ।”आमाले फेरि मन बुझाइन ।
आमाले रातको केहि प्रहर बितेपछि उ पोइल गएको खबर पाइन । उनी केहि बोलिनन । सोचिन, ठिकै गरी आफैं गएर । न खर्च, न झन्झट, न तनाब ? उनले मन थामीन । किन हो उनलाइ त्यति दुख पनि लागेन । शायद यस्ता थुप्रै दुखहरुसँग उनी अभ्यस्त भएर होला । उनी भान्सामा थिइन । बाहिर पानी दर्किरहेको थियो । बातावरण उदास थियो । आमाले मझेरीतिर एकटक हेरिरहीन,जहँा कुनैदिन नाँगै भुतुँगै खेलिरहेकी हुन्थी कमला । उनले सम्झनासँग कमलाको छायँा देखिन मझेरीमा । एकाएक आमाको मनमा दुखले ठाउँ लियो । एकपटक फेरि उनको मानसपटलमा त्यो अतित छायो जसलाइ उनी चाहेर पनि बिर्सन सक्दीनन् । चौध बर्षकी सुकुमारी कन्याको रुपमा पोइको घर पस्दाको पिडा उनीभित्र फेरि सलबलायो । एउटा जवान युवकसँग बिताएको पहिलो रातको त के कुरा जसको चोट उनलाइ आज पनि याद आउँछ । त्यसपछि परिवारको किचकिच,पोइको खप्की, शारिरीक र मानसिक पिडा…….ओहो कति हो कति दुख । ……….आज उनी चालीसकी भएर पनि सानी फुच्ची बनिन र ती कहालीलाग्दा दिनहरु सोचिरहीन । उनी डराइन, उनको आँखामा त्रासका बादलहरु दौडिरहे । अनायासै उनको मुखबाट फुत्क्यो, ” कमला मेरी छोरी । ”
समाप्त

-अभिमन्यु निरवी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button