डियर एक्सलाई दिएको गिफ्ट

संचार मन्त्रालय सिंहदरबार, चौथो तला कोठा नम्बर ४०४ अर्थात् लिफ्ट छेउको कोठा। जहाँ साथीहरु अख्तियारले मागेको कुनै संस्थानको कर्मचारीको फाइल खोज्न पोका खोल्दै नाम र वर्ष भिडाउँदै छन्।

यतिकैमा रोचक घिमिरे जो यही शाखामा २ वर्ष बसेर भर्खर मात्रै सरुवा भएका थिए, उनी आए। सरुवा भएपनि ऊ संचार मन्त्रालय आइरहन्थ्यो। उसका पुराना दोस्तहरु जो यही थिए।

रोचक भित्र के पसेको थियो, फाइल खोज्दा खोज्दा धुलो र पसिनाले असिनपसिन भएको भुपेन्द्र सरले उसलाई दुई सालको सम्पत्ति विवरण नभेटिएको भन्दै दुखेसो गरे।

रोचकले चिठी हेर्छ र त्यो फाइल कहाँ राखेको छ, सजिलै भन्दिने भन्छ। तर त्यसको लागि खाजा खुवाउने सर्त राख्छ। उसले सर्त राखेको सुनेर भुपेन्द्र चिढिन्छ। सिरियस कुरामा पनि केको खाजा डिमाण्ड गरेको नि नचाहिदो !

यतिकैमा उपेन्द्र सर आइपुग्छन्। उनी खाजा हैन, चियासम्मको प्रस्ताव राखिदिन्छन् तर रोचक मान्दैनन्। अन्त्यमा उपेन्द्र सरले भुपेन्द्र सरलाई मनाउँछन्। यति भन्दासाथ रोचकले पुरानो सम्पत्ति विवरण राखेको दराजबाट खुइ खुइ फाइल निकाल्दिन्छन्। जुन फाइल अघिल्लो पटक पनि अख्तियारले मागेको कारण छुट्दै दराजमा राख्ने गरेको थियो ।

सर्त अनुसार उनीहरु खाजा खान सेन्टर सर्भिस जान्छन्। खाने खाने भनेपछि टोपेन्द्र सर पनि मिसिन्छन् जो मन्त्रालयका हर्ताकर्ता हुँ भन्ठान्छन् ।  यस्ता हर्ता कर्ता कि उनी जतापनि ठिक्क त्यसमा खाजा खान भनेपछि बोलाइरहन नपर्ने ठिक्क थिए । पछि लागिहाल्ने प्रवृतिका पात्र जो थिए ।

दिनको दुई बजिसकेको हुन्छ। शुक्रबारको दिन भएकोले होला सिंहदरबारभरीका कर्मचारिको खाजा खाने ठाउ भएपनि सर्भिस सेन्टरमा खासै भिड हुँदैन । उनीहरु चिकेन मम अर्डर गर्छन् । फास्टफुडको जमाना जो थियो । यतिकैमा गुड फ्राइडे मनाउने कुरा निस्कन्छ । निशुल्क भेटिए अर्थात् स्पोन्सर गर्ने ब्यक्ति, संस्था भेटिए सबै जान तयार तर दामासाही (बराबर पैसा उठाएर लागेको खर्च ब्यहोर्ने) कोही पनि जान नाकनिक अर्थात आनाकानी गर्छन्।

यतिकैमा मम आइपुग्छ तर उनीहरुको गुड फ्राइडेको प्लान पूरा भैसकेको हुँदैन। स्पोन्सर नभेटिए पनि भेटिने आशामा उनीहरु स्पट चुज गर्छन् । धुलिखेलमा सहमती हुन्छ। तर यतिन्जेल विश्वासिलो स्पोन्सर भेटिदैँन। उनीहरु पुनः सल्लाह गर्दै चिया पनि अर्डर गर्छन्।

चियाको चुस्कीसँगै स्पोन्सर भेट्टाउँछन टोपेन्द्र सरले। धुलिखेलको दिपेन्द्र अर्थात् टेलिभिजनको मालिक जो आफूलाई आउदो निर्वाचनको नेपाली कांग्रेसबाट टिकटको दाबेदार ठान्छन्।

टेलिभिजनहरुको लागि त्यसमा पनि आमसंचार र दूरसंचार कम्पनीहरुका लागि संचार मन्त्रालय तालुक मन्त्रालय नै हो। त्यहीमाथि टोपेन्द्र सरले भनेपछि दिपेन्द्रले नमान्ने कुरै भएन । वर्षमा उसको खारेजीमा परेको टेलिभिजनलाई आँखा चिम्लेर लाखौ रकम लोककल्याणकारी विज्ञापन जो टोपेन्द्र सरको शाखाबाट उसकै संरक्षकत्वमा जाने गरेको थियो । टोपेन्द्र सरले एउटा स्पोन्सर निकालेका के थिए अव अरु पनि निस्किन थाले स्पोन्सरहरु । त्यसमा भुपेन्द्र सरले अर्को पनि डोनर निकाल्छन्, गोरखापत्र संस्थानको झपेन्द्र सर जो मन्त्रालयका लागि पुराना र अनुभवी साथी मानिन्छन्। उनी मन्त्रालयबाट यस्तो उस्तोमा जाउँ भन्दा कहिले पनि नाइ नास्ती गर्दैनन् । उनी पनि मन्त्रालयबाट आफु अनुकुल निर्णय गराउन यस्तै कार्यक्रमहरु पर्खर वसेका हुन्थे ।

चिया सकिँदा ३ बज्छ। उनीहरु पुनः कोठा नम्बर ४०४ मा गएर पालैपालो दिपेन्द्र र झपेन्द्र सरलाई फोन गर्छन्। झपेन्द्र एकै वचनमा प्रस्ताव स्वीकार गरेपनि दिपेन्द्रले भने खाएको वा बसेको मध्ये एउटामा मात्रै मिलाउन सक्ने, त्यो पनि मैले भनेको होटलमा भनेर प्रति-प्रस्ताव राख्छ।

उसको प्रस्तावमाथि पुनः छलफल हुन्छ र दिपेन्द्रले भनेअनुरुप खाएको वा बसेको जेको पे गरेपनि बाँकी झपेन्द्र सरले रिक्वेस्ट गर्ने भनेर कुरामा सहमती हुन्छ।

तीन बजे नै प्रस्तावमा स्वीकृत भए पनि झपेन्द्र सरले गोरखापत्र संस्थानको बोर्ड मिटिङ र के-के भनेर पाँच बजाइदिन्छन् । उनीहरु झपेन्द्र सरको गाडीमा पाँच जना पाँच बजे मन्त्रालयबाट धुलिखेलको लागि प्रस्थान गर्छन्।

दिपेन्द्रले खोजेको होटल, धुलिखेल इको रिसोर्ट। होटल राम्रै रहेछ। होटलमा गएर दिपेन्द्रले बुक गरेको कोठा भनेपछि होटलले खुब चासो र सम्मान सहित स्थान दिन्छ।

कार्यक्रम सुरु हुन्छ क्याम्प फायरबाट। क्याम्प फायरसँगै आ-आफ्नो फेभरेट रक्सीको चुज सुरु हुन्छ । अर्काको स्पोन्सरमा खान भेटाएका त हुन साथिहरु व्ल्याक र रेड लेभल भन्दा तल झर्ने कुरै थिएन । हार्ड ड्रिंक नगर्ने रोचक मात्रै थियो । उसेले स्ट्रङ बियर मगाउँछ र भन्छ साथिहरु तिमिहरु वियरलाई कोल्ड्र डिंक मात्रै सम्झिने गरेका छौ भने त्यो गम्भिर भुल हुनेछ । एकपटक स्ट्रङ पिएर हेर तिमिहरु पुरा फ्यान हुन्छौ । यो गर्मीको सिजनमा हार्ड खानु भन्दा आधा दर्जन हार्ड वियर खानु धेरै फाइदा छ । गिलासको चियर्ससँगै गुड फ्राइडे दनादन जान सुरु हुन्छ ।

 गुड फ्राइडे अर्थात् उनीहरुको हप्ता दिनभरि फाइल खोज आफै, टिप्पणी उठाउ आफै,  टिप्पणी सदर भएपछि चिठी बनाउ, चलानी गर्नु आफै अनि र  अनि उस्तै फाइलमा  १० पटक सहसचिवज्यू र सचिवज्यूको जादै करेक्सन गर्दै ल्याउदै पुन करेक्सन गर्दै ल्याउदै उफ त्यसमा अफ क्याविनेट जाने प्रस्ताव त प्रधानमन्त्री कार्यालयको उपसचिवले नै करेक्सन गर्दिन्छ । यति भएर मात्रै पुग्ने भए त हुन्थ्यौ नि लौ न फलानो जी अव अफिस छुट्टी हुन लाग्यो । यति पत्र पनि पुराएर आए हुन्थ्यो भनेर हाकाहाकि काम अह्राउछन । हुन पनि हो  जुन गोरु छिटो हिड्छ नि त्यसैको पूच्छर निमोठ्ने प्रवृति जो हुन्छ ।

भागदौड जिन्दगीबाट मुक्ति थियो धुलिखेलको शान्त वातावरणको इको।

त्यसमा पनि स्पोन्सर भेटिएकोले अलकत्रा जस्तै चाट्ने बानी जो छ हामी नेपालीको। त्यसमा पनि निजामती कर्मचारीले निशुल्क भेटेको न हो। रक्सीको मात चढ्दै जान्छ। सबैले मै हुँ भन्दै कुरा निकाल्दै जान्छन्।

मैले यसो गरेँ, मैले उसो गरेँ। मबिना त मन्त्रालय नै चल्दैन जस्तो गर्छन्। मन्त्रालयमा नासु जो थिए । यति विग्रिएका थिए कि चेन अफ कमाण्डको ख्याल नै गर्देन थिए । चेन अफ कमाण्ड मात्रै होइन । सहसचिवकोमा गएर मेरो उपसचिव काम लाग्ने छैन चेन्ज गर्दिन पर्यो । हैन सर मेरो शाखामा कस्तो तोरी शाखा अधिकृत पठाइदिनु भएको यो त झन पटक्कै भएन भनेर पोल लगाएर आफ्नो  दुनो सोझ्याएर खान माहिर जो थिए ।

स्पोन्सले उपलब्ध गराएको होटल अनि होटलले पनि मागे बमोजिमका रक्सी उपलब्ध गराएकै थियो । त्यसमध्ये एकजना रक्सी नखाने तर कुरा जाँड खानेका भन्दा चर्का निकाल्ले टोपेन्द्र सर। उनी रक्सी नखाए पनि रक्सीसँग खान ल्याएको सितन अरुभन्दा बढी र छिटो नै सकिदिन्थे।

जाडको नसा चढेसँगै कसैले अफिसको कुरा निकाल्छन्, कसैले पूर्वप्रेमिकाको कुरा कसैले मेरो यति पुग्यो भन्दै संख्या गणना गर्न देखेर खुब ठूलो मर्द हुँ भन्ने देखाउँछन्।

यतिकैमा एउटा गीत बज्छ, त्यो पनि वेटरको मोबाइलमा- मेरो एक्सको छम्मा। यतिजेन्ल चुप बसेको रोचक अब केही भन्न जुरमुराउँछ तर उसको कुरा कसैले नसुने वा चासो नदेखाए जस्तै गरेरकोले होला ऊ अलिक साह्रो बोल्न थाल्छ।

ऊ पनि त्यही गीत गाउन थाल्छ, मेरो एक्सको छम्मा। ‘कस्ले लेख्यो यो गीत! यो त मैले लेख्नुपर्ने गीत।’

अब सबैको ध्यान ऊ तिर हुन्छ। मात्र एक शब्दले उसले सबैको ध्यानकर्षण गराउन सफल भएको देखेर होला ऊ उत्साहित हुँदै बोल्न थाल्छ।

‘थाहा छ भुपेन्द्र सर, कुनै दिन टिकटकमा एउटा गीत खुब भाइरल भएको थियो। मेरो एक्सको छम्मा। यो गीतमा थुप्रै भिडिओहरु बने। गीतमा धेरै कम टिकटक युजरहरुले मात्रले सिरियस भएर भिडिओ बनाए जस्तो देखियो। धेरैले मनोरन्जनको रुपमा लिएको देखियो। टिकटकले गर्दा नै गीत युट्युबमा ट्रेडिङमा आउन पनि सफल भए जस्तो लाग्यो।

गीत सुनिरहँदा मलाई एउटै कुरा याद आयो। याद आउनु कुन से ठूलो कुरा भयो र! याद कहिले कस्तो कहिले कस्को आउने तर छाद बबाल सही आउने। कम्तिमा जे खायो त्यही त आउने। कुनै लपन छपन जान्दैन छादले भन्ने हाम्रो तिर उखानै पनि रहेको देखिन्छ। हो डियर एक्स याद र पाद उस्तै उस्तै हुन । पाद पनि कहिले कस्तो कस्तो आवाज र गन्धमा आउछ यसैगरी याद पनि कहिले कस्को  अनि फेरी कस्को आउने । कहिले त यादले बाढुल्की नै लगाउने भन्या ।

देशमा उखान टुक्काको बाहुल्यता रहेको अवस्थामा कसले पो सिरियस भएर काम गर्ला! हुन पनि हो, सेन्टिमेन्टल हुनु निराशावादी हुनुभन्दा उखानै सही। कम्तीमा केही समय त फ्रेस गराउँछ। हाँस्नु यसै पनि स्वास्थ्यका लागि फाइदाजनक नै छ। हत्या हिंसा गरेर मान्छे तर्साउदै आतंकित बनाउदै हिड्नुभन्दा काम नगरे पनि उखान टुक्का भनेर मान्छे हसाउदै हिड्नु, मनोरंजन दिनु त धेरै उतम काम हुदै हो । यो भन्दा बढि नभनम होला फेरी अंरिगाल र साइबर सेनाको निशानामा परिएला भन्ने डर छ ।

प्रेममा वाचा कसम धेरैले खाएका हुन्छन। वाचा कसम भनेको प्रेममा विश्वास आर्जनको लागि गरिन्छ पनि तर सबै वाचाहरुले विश्वास दिलाउन सक्दैनन् अर्थात् कतिपय वाचाहरुले विश्वासको नाममा झुटलाई लुकाइरहेका हुन्छन्।

झुट लुकाउन कसम खाने गरिन्छ। यसैले त धेरै कसम खाने, जे विषयमा पनि कसम खाने मान्छेलाई तेरो कसम त घ्यू र भात त होला भनि भन्ने गर्छन्। हो, डियर एक्स। तिमी पनि मसँग सम्बन्धमा हुँदा धेरै कसम खान्थ्यौ अनि मलाई पनि कसम खुवाएर विश्वास दिलाउन लगाउथ्यौ।

तिम्रो कसमलाई मैले विश्वास नगर्दा तिम्रो आँखाबाट पिल पिल पानी रसाउँथ्यौ। आँसु खसाल्नु तिम्रो नियती थियो कि आँखाको लागि अभ्यस्त भएको एउटा बानी त्यो तिमी नै जान्ने कुरा भयो।

आज धेरै पछि तिमीलाई सम्झिँदा तिमीले मसँग गरेका वाचाहरु सम्झे। तिमी कसम खान यति धेरै माहिर थियौ कि तिम्रो गल्ती नै पत्ता लगाउँदा, तिमीलाई रंगेहात पक्राउ गर्दा समेत तिमी आँखाभरि आँसु पार्दै फेरि कसम खाएपनि मेरो कोमल मन त्यसै त्यसै पग्लिजान्थ्यो। कुनै अन्तरवार्तमा दिपिका पादुकोणले रुदै यही भनेकी थिइन कि मैले रणवीर कपुरलाई रंगेहात प्रकाउ गर्दा समेत प्रेमको खातिर माफ दिएको थिए । हो दिपिकाको यही गल्ती नै उनको लागि घातक सिद्व भयो ।

तिम्रो गल्तीलाई यो मेरो कोमल मनले सहजै स्वीकार गरेरै होला, माफी पनि सजिलै दिन्थ्ये। हो डियर एक्स, तिम्रो हरेक गल्तीमा माफी दिँदै जाने भुल गर्नु नै मेरो अर्को कमजोरी भयो सम्बन्ध सकाउने।

डियर एक्स आज पनि तिमी त्यही पुरानै फर्मुला अपनाउँदै छेउ होला है। मसँग कसम खाँदै पिल पिल आँसु झारे जस्तै आज पनि तिमी उसको अंगालोमा त्यसरी नै त्यही फर्मुलाको रिपिट भर्सन दोहोराउँदै उसलाई आस्वस्त पार्न लागि पर्छौ होला है?

हो, ऊ विचरा पनि मजस्तै सोझो पो पर्यो कि एक नम्बरको छिनार। रिसको झोकमा म तिमीलाई त्यस्तै अफेयरगंजवाला खेलाडी परोस् भन्ने पनि लाग्छ तर किन किन डियर एक्स, म तिमीलाई द्रौपदीले पाएको श्राप जस्तो तिम्रो जीवन पनि त्यस्तै होस् भनेर कामना गर्न पनि त सक्दिनँ।

ए डियर एक्स इतिहास हुन्छ त्यो जहिलेपनि जित्नेहरुको मात्रै हुन्छ । विजेताहरुको मात्रै इतिहासमा नाम आउने, गुणगान गाउने । अर्थात जो जो ऐतिहासिक पात्र  वने तिनिहरु सबै जितेर नै भएका थिए । हार्नेको कहिल्यै इतिहास लेखिदैन । हारेकाहरु त विलाएर जान्छन । हाम्रै वडामहाराज पृथ्वीनारायण शाहलाई हेरन । के उनले नेपाल एकिकरण गर्न नसकेका भए उनको इतिहास लेखिन्थ्यो होला त । उनलाई आज हामि वडामहाराज भनेर कितावका पानाहरुमा चोर औला ठड्याएको रुपमा देख्न पाउथ्यौ ? आज कलेजमा माझि औला ढड्याउने युवा जमातले एकिकरण अभियानमा पृथ्वीनारायण शाह सफल नभएका भए उनको चोर ‍औलाको मनोबिज्ञानको रहस्य थाहा पाउथे होला त । पक्कै पाउदैन थियौ होला । हो प्रिय एक्स,खुँडा र खुकुरी वोकेर पृथ्वीनारायण शाह गोरखाबाट ननिस्केको भए आज हामि पश्चिम वंगालको कब्जामा हुन्थ्यौ होला र ममता वेनर्जीसँग नेपाली भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिनपर्यो भनेर आन्दोलन गरिरहेका हुन्थ्यौ होला । सम्झ त पृथ्वी नारायण शाह पछिका कुनै पनि राजाको चर्चा किन हुदैन । किनकी उनीहरुले इतिहासमा जित्न सकेनन । जो डर गया उ मर गया भने झै उनीहरु दरबारको सुखसयलमै जिन्दगी गुजारेर वसे । रानीको फरिया पल्टाउनु मै उनीहरुले महानता देखे । दरबारका ल्याइते र व्याइतेहरुको रमझमलाई नै असली संसार सम्झे । आज विचरा तिम्रो प्रिय मान्छे, तिम्रै गफ र कसमलाई ति राजाहरु झै भुलीरहेको होला जो फरियामा अल्झिएर इतिहासबाट विलिन भए ।

     डियर एक्स, हाम्रो समाज कस्तो छ भने नी । हामी राधा र कृष्णलाई पुजा गर्छौ तर आफ्ना सन्तानहरु राधा जस्तो बन्न कोही पनि तयार भएका हुदैनन । सबै कृष्णका हजारौ गोपिनिहरु भएको कुराले मख्ख पर्छौ तर आफ्ना पनि सयौ अफेयर भएको विसर्न्छौ । किन प्रिय हामि राधा जस्तो बन्न त्यागी र समर्पण गर्न कोही मन्जुर देखिदैनौ । किन डियर एक्स हामि समर्पण भनेको शरीर सुम्पिनुलाई मात्रै बुझ्न थालेका छौ । के डियर एक्स सम्पर्ण भनेको शरीर सुम्पिनु मात्रै हो । के शरीरसँग खेल्दा मात्रै विश्वास हुन्छ । होइन भने मुना र मदनको प्रेम कथा पढेर हुर्किएका हामि किन मुना र मदन जस्तो मायामा विश्वास गरेर वर्षौसम्म एक अर्कालाई पर्खेर वस्न सक्दैनौ । किन अलिकती दुरी हुने वितिकै अन्यसँग अफेयर वा भौतिक सम्बन्धको लागि तयार भै हाल्छौ किन डियर तिमिले पनि मेरो दुरीको मजवुरीलाई वुझ्न सकिनौ ।किन डियर एक्स  मायामा  विश्वास हुनुपर्छ भन्न तिमि आज विश्वासको नाममा शरीर सुख नै वास्तविक प्रेम हो भन्दै हिड्दौ । के शरीर सुख नै प्रेम  भए आज प्रेमको स्वर्ण भुमी त थाइल्याण्ड अनि नेपालको ठमेल हुनपर्ने होइन र तर किन यो ठाउहरु वदनाम छन कि डियर एक्स । किनकी तिमि प्रेमको नाममा स्वार्थ वोकेर हिडेकी छौ । तिमि प्रेमको व्यापारी हौ । व्यापारमा जस्तो गिभ एण्ड टेक अनि सामान एक्सचेन्ज गर्न वानी परेकी छौ । हो डियर एक्स,वजारले जहिले पनि प्रतिस्पर्धा खोज्छ अर्थात जो प्रतिस्पर्धा गर्न सक्दैन जसले आफ्नो मालसामानको विज्ञापन गर्न सक्दैन अनि जसले क्वालिटी भन्दा वाहिरी चमक धमकमा जोड दिन  वजारमा तिनै झुक्किन्छन । हो डियर एक्स तिमि पनि यस्तै झुक्काएर आफ्नो फाइदा लुट्न माहिर खेलाडी भएर निस्कियौ प्रेम वजारको । हो प्रेममा वजार प्रवेश हुन नपर्ने हो अर्थात प्रेममा अर्थशास्त्रको सिदान्त र फर्मुला भन्दा मनको भावना र फिलिङले काम गर्नपर्नेमा आजभोलि दिल भन्दा दिमाग वढि चल्न थालेको देखिन्छ । जुन कुरा दिमागले सोच्छ नि डियर त्यो दिगो कहिल्यै हुदैन ।किनकी दिमाग दुईवटा हुन्छ । राइट माइन्ट र लेफ्ट माइन्ट हुन्छ । तर मन सँधै एउटै हुन्छ, सफा हुन्छ मनमा रहेको मान्छे कहिल्यै परिवर्तन हुदै डियर एक्स ।

सामाजिक संजालले सम्बन्ध जोड्ने मात्रै होइन, तोड्ने अनि तोडिएका सम्बन्धका गतिविधिहरु नियाल्ने अर्थात् लुकी लुकी चियो चर्चा गर्ने काम हुँदो रहेछ यस्तो संजालको माध्यमबाट त्यसमा पनि विशेष गरी फेसबुक यो मामिलामा एक नम्बर नै रहेछ।

हो डियर एक्स, तिमीले जब मेरो साथीसँग सम्बन्ध बढायौ त्यो दिनदेखि नै तिमीले मलाई ब्लक गरेको थाहा पाएँ तर नि एक्स, म अलिक लाटो भएपनि त्यती साह्रो गोबर ग्वाँच नै छैन क्या।

मेरो आधिकारिक फेसबुक आइडी पो ब्लक गरेछौ तर मैले हजारौँ जिमेल, आउटलुक हटमेल खोल्दै हजारौँ फेसबुक एकाउन्ट खोल्दै तिम्रो गतिबिधि नियाल्न केले रोकेको छ र! हो, मैले म ब्लकमा परेपछि यही बाटो अपनाए डियर एक्स।

जब तिमी मेरो साथीसँग सम्बन्धमा थियौ, मैले यसरी नै तिम्रो गतिविधि नियालेँ। आखिर जब दूरी नै मजबुरी भयो तर मसँग अर्को विकल्प नि थिएन। हो, फिजिकल दूरी टाढा हुनासाथ तिमीले यसरी घात गर्यौ नि आफ्नै साथीलाई अंगाल्यौ।

यसमा मेरो साथीको पनि दोष उतिकै होला। अब को बढी दोषी यतातिर नजाउँ होला। यो जाने बाटो पनि होइन। मलाई को बढी दोषी को कम होला भनेर न्याय निरुपण गर्नु नै थिएन।

हो डियर, तिमीले भनौली मैले तेरै सिद्धान्तलाई फलो मात्रै गरेकी हुँ, अपराध नै के गरेकी छु र! हो डियर हो हो। कुनै दिन म तिमीसँगको सम्बन्धमा हुँदा साथीको आमा मेरो पनि आमा, साथीको बाबा मेरो पनि बाबा, साथीको श्रीमती मेरो भाउजू तर साथीको गर्लफ्रेण्ड चाहिँ मेरो पनि गर्लफ्रेण्ड अर्थात् यसमा हक नै लाग्छ भनेर वकालत गर्दै हिँडेको थिएँ।

अझ त्यसमा पनि विवाहित साथीहरुको एक्स्ट्रा म्यारिटल अफेयर्सहरुमा त साथीको गर्लफ्रेण्डमा हक लाग्ने होइन, खोसेर पनि लिन पर्छ भनेर वकालत गर्दै हिँडेको। वकालत पनि के भन्नू, मेरा मन्त्रालयका दुई दोस्तहरु यही एक्स्ट्रा म्यारिटल अफेयर्सका कारण बोलचाल बन्दको स्थितिसम्म पुगेँका थिए ।

अर्थात्, एक साथीको गैह्र वैवाहिक सम्बन्ध अर्को साथीले थाहा पाउछ अनि ऊ पनि त्यसमा अर्को साथिले पनि हक जमाउन खोज्छ । भन्छ उसँग हुन्छ भने मसँग किन हुदैन  । अर्थात मनको भावना र फिलिङ भन्दा पनि उसँग भएजस्तै मसँग पनि हुनपर्छ भनेर हक दावि गर्छ । हक पनि यस्तो बेला दावी गर्छ कि साथी मन्त्रालयबाट सरुवा भएर सुदूरपश्चिम सरुवा भएपछि । तर साथीको अफेयर्सले उसको प्रस्ताव स्वीकार नगर्दा उसलाई अनेक वहाना गरेर मन्त्रालयमा शाखा विहिन बनाउने, काम नलाग्नेश शाखा दिने र अन्त्यमा कुनै जिम्मेवारी नदिएर जिम्मेवारी विहिनको अवस्थासम्म पुर्याइन्छ ।

हो, साथीले यो कुरा थाहा पाउछ । दुवै जना धुलिखेलमा भेला हुन्छन । अफेयर्स र हकदावीको विषयमा चर्काचर्की पर्दापर्दै दुवैजना बीच हात हालाहाल हुन्छ । यो विषय यति जटिल हुन्छ कि मिडियामा न्युज आएपछि मात्रै मन्त्रालयमा अरु छक्क पर्छन र उनीहरुले वर्षौदेखि गरेको शंका सहि ठहरिन्छ । तिमीलाई मैले समाचारको लिंक सहित यो बारेमा भनेकै थिएँ तर आज मेरो पनि त्यही हालत भयो तर नि डियर एक्स म हात हाल्न चाहि आउदिन यो कुरामा ढुक्क भए हुन्छ ।

हो, तिमीले मेरो सिद्धान्तलाई फलो गर्दै मेरै साथी त्यो पनि वर्षौसँगै बसेको रुम पार्टनरसँग सल्कियौ। यदि तिमी मेरै रुम पार्टनरसँग नै जानु थियो भनेर किन फेरि आफ्नो दीर्घकालीन सम्बन्धमा गएनै। किन फेरि उसलाई पनि धोका दिएर आज उसको र मेरो बीचमा दीर्घकालीन पर्खाल बन्यौ, किन डियर एक्स किन?

हो डियर, आज धेरैपछि तिम्रो फेसबुक चेक गर्दा त्यहाँ अर्को रहस्यको कुरा पत्ता लाग्यो। तिमी त टिकटकको दुनियाँमा पनि निकै नै हिट भैसकेकी रहेछौ। टिकटक तिमीजस्तै नाटक गर्न जान्नेहरुका लागि, रिल अभिनयभन्दा रियल अभिनय गर्नेहरुका लागि हो रहेछ।

तिमीसँग ड्युट गर्न धेरै केटा साथीहरु लागेको नि देखियो । शरीर र विचार भष्ट्र भएपनि फिगर र रुपले जो कोहि पहिलो पटक लठ्ठ पर्थे । टिकटकमा पनि यही कारण फलिफाप भयो तिम्रो लागि । तिम्रो टिकटक आइडी सर्च गरेँ । तिमीले किन हो ब्लक गर्न भुलिछौ । भुलेको हो कि नजानेको हो । नजानेको भन्दा पनि याद नगरेको चाहि पक्का हो । दिनभरी गधाजसरी अफिसमा काम गर्ने यो तोरीलाई टिकटक भनेको के हो भन्ने के थाहा होला र भन्ने नै लागेको थियो होला तिम्रो मनमा । डियर एक्स फेसबुकभन्दा सजिलो छ टिकटकमा ब्लक गर्न । फेसबुकमा जस्तो एकपटक ब्लक खोलेको पुनः ४८ घण्टा पुनः अनब्लक गर्न वा अनब्लक गरेको त्यती नै समय अगावै ब्लक गर्न मिल्दैन।

हो, यही फाइदा छ फेसबुकमा। कम्तीमा ४८ घण्टा त कम्तिमा चियो चर्चा गर्न पाइन्छ। हो डियर एक्स, मैले टिकटकमा तिम्रो धेरै भिडिओहरु हेरेँ। तिमी त टिकटककै लागि जन्मिएको जस्तो लाग्यो।

ढिलै भए पनि चाइनाले तिम्रो लागि वास्तविक प्लेटफर्म तयार गरेर त्यसमाथि सरकारले लकडाउन गरेर तिम्रो दैनिकीलाई फुर्सदिलो बनादिएको अवस्थामा तिम्रो त साथी पनि यही मोबाइल र टिकटक भएछ।

तर नि एक्स, टिकटकको पुरानो भिडिओ हेर्दै जाँदा त्यहाँ त मैले नै तिम्रो जन्मदिनमा दिएको गहना र कपडा लगाएर चिप्की चिप्की भिडिओ रमाएको देखियो। किन हो एक्स? तिमीलाई मपछिका तिम्रा मायालु अर्थात् मेरो लागि एक्सका छम्माहरु, छम्मा त हैन होला तरपनि म ती केटा भएपनि तिम्रा ती मायालुहरुलाई छम्मा नै भनेर सम्बोधन गर्छु।

हो, ती छम्माहरुले दिन जान्दा रैनछन् कि क्या हो, तिमीबाट लिनबाट मात्रै जानेछन् । हैन डियर एक्स कस्ता कस्ता भिखारीसँग सम्बन्ध गास्छौ भन्या । एउटा गिफ्ट समेत नलिइ कसरी तिम्रो माया माग्न आएका होलान है । अनि नि डियर एक्स त्यो मैले नै तिम्रो जन्मदिनमा दिएको उपहार चाहि मलाई छोडे जसरी किन छोड्न नसकेकी ?

तिमी नै लुगामा हुन्छ र प्रेम? प्रेम त भावनाको गठबन्धन हो भनेर सिकाउने गर्थ्यौ नि हैन? हो, हाम्रो भावनाको गठबन्धन भत्कियो। देशमा गठबन्धन सरकार बनिँदा त्यो प्राकृतिक अनि आफू अनुकूल गठबन्धन नबन्दा अप्राकृतिक हुने अवस्थामा तिम्रो र मेरो पनि गठबन्धन भत्किँदा त्यो प्राकृतिक भयो वा अप्राकृतिक त्यो तिम्रै छम्माहरुले विश्लेषण गरुन्।

कुनै पत्रकारले केकी अधिकारीलाई प्रश्न सोध्छन्- तपाईको पहिलो क्रस? उतर आउँछ कलेज जाँदा आउँदा बाटोमा एकजनासँग भएको थियो। मेरा लागि यो उतर अपेक्षित थिएन। म सोच्थे ओ माइ गड बाटैमा पनि कसरी क्रस हुनसक्छ । मैले क्रस भनेको बाटो वारपार गर्ने ‘एक्रस’को रुपमा बुझेको थिइनँ। अर्थात्, मेरो बुझाइमा क्रस भनेको यौन सम्बन्ध भन्ने नै थियो।

तर जब केकी अधिकारीको जवाफ सुनेँ। त्यसपश्चात क्रस के हो भनेर गुगल गर्दा पत्ता लाग्यो, क्रस भनेको कसैलाई मन पराउनु वा कसैको यादमा फिदा हुनु भन्ने अर्थमा लिनुपर्ने रहेछ।

हो डियर एक्स, मेरो पनि तिमी पहिलो क्रस नै थियौ। कुनै बेला तिमी दाना लाग्न लागेको, अझ भनौँ घोगामा कलिलो दाना लागेको दुधिलो मकै जस्तो थियौ । च्याप्पै समातेर खोस्टा उधादेर काँचै दारेर खोयासँगै खाउ हालउ जस्ती, हैन अलिक पकाएर खाए भनेपने पनि पानीमा उसिनेर खाए पनि हुने अवस्थाकि थियौ । अझ जीवनमा केही समय पर्खेर अलिक मुल्यवान तरिकाले उचित तरिकाले राप र ताप मिसाएर खाउँ भन्दा अगेनोको राप र तापमा एकछिन पोलेर नै खाए पनि हुने अवस्थामा थियौ।

तर आज तिम्रो त्यो रुप कहाँ पुग्यो? त्यही मकै छिपिएर विउको लागि राख्दा राख्दा भित्र भित्र घुनले सखाप भएर विउ नै मासिएर चिन्तित किसान जस्तो । बाहिरबाट देख्दा सही सलामत भएको तर भित्र भित्र घुनले धुलो पारेको मकै जस्तै भएकी छौ । तिम्रो शरीर घुनले सखाप पारेको खोस्टासहितको मकैलाई सहि सलामत भन्नेहरुले जस्तै विना संगत तिम्रो तन मन र विचार यसैगरी धुलिसखाप भएको अरुले थाहा नै पाउदैनन ।

यहाँ मैले तिम्रो शरीर घुनले भित्र भित्र खाएजसरी सकियो भन्न खोजेको हैन। तिम्रो विचार र भावना भष्ट्र भयो भन्न खोजेको मात्रै हो। तिम्रो विचार र भावना यति पथभष्ट्र भएछ कि डियर एक्स, कुनै बेलाकी तिमी मेरो क्रस अहिले जेब्रा क्रस भएकी रहेछौ।

हरेक मानिसले जेब्राक्रसलाई सुरक्षित यात्राको सारथी ठाने झैँ आज तिमी सबैकी सुरक्षित, साझा चौतारी भएकी रहेकी छौ।

भन्नलाई त भनौली नि डियर एक्स, क्यान्डी क्रस गेमको केही गेम तैले पनि खेलिस् तर धेरै लेभल पार गर्न अर्थात् गेमको सन्तुष्टीको लेभल पार गर्न नसकेपछि… खैर, केही छैन।

आज तिम्रो जीवनमा क्यान्डी क्रसको सफल खेलाडीले धेरै लेभल पार गरेको जस्ती भएकी छौ। डियर एक्स, के प्रेम भनेको क्यान्डी क्रसको धेरै लेभल पार भएजस्तै धेरैजनासँग जोडिनु नै हो त। क्यान्डी क्रसको त निश्चित लेभल होला र जीवनमा कुनै लेभल छैन होला। कति लेभल पार गरेपछि तिम्रो चरम सन्तुष्टिको लेभल पूरा हुन्छ।

हो डियर, मैले कतिपय फिल्म र उपन्यासमा पनि पढेको थिएँ- ब्रेक अप अनि फेरि सम्बन्ध जोडिनुलाई प्याच अप भन्दा रहेछन्। तर नि डियर एक्स, हाम्रो नेपाली समाजमा एउटा उखानै छ- थुकेको थुक चाट्ने चलन छैन भनेर।

यो पनि मैले फिल्मबाट नै सिकेको तर मैले त तिमीलाई न कहिल्यै प्याचअपको लागि बाटो तयार गरेँ न थुकेको थुक भन्दै छि छि र दूर दूर गरेँ। किनकि थुक्न पनि गन्ध आउने गरी गन्हाउन पर्दो रहेछ । गन्ध पनि नि डियर एक्स फोहोरमा पानी भएसम्म मात्रै आउदो रहेछ तर तिम्रो त पानी पनि सुकिसक्यो होला, अव पानी सुकेको फोहोरबाट कहाँको गन्ध आउनु नि ।

मैले नबुझेको कुरा नि, किन ब्रेकअपपछि आफ्नो पूर्वप्रेमिकालाई भेटिन्छ कि भनेर मान्छेहरु त्यो बाटो अनि पहिला हिँडेको, बसेको, खाएको, सबैदेखि दूर दूर हुन खोज्छन्? किन बहुत सतर्क हुन खोज्छन् मान्छेहरु?

मैले फिल्ममा अनि उपन्यासमा पढेको पूर्वप्रेमिकालाई भेट्दा अनुहार रातो रातो हुने, चिट चिट पसिना आउने हुन्छ रे। हो, म पनि यही होला भनेर बहुत सर्तक हुँदै तिमीसँग भेट भइहालेमा के भन्ने भनेर रेडिमेड जवाफ लिएर हिँडेको हुन्छु।

एकदिनको कुरा, जब म साँझा बसमा चढेर सिटमा एक्लै बसेको थिएँ। तिम्रै जस्तो स्वर भएकी एक सुन्दरीले ‘एक्सक्युज मि, के म यहाँ बस्न सक्छु?’ भन्दा म त्यो तिम्रै स्वर हो  कि भनेर पुरै शरीरका रौँहरु ठडिएर अनुहार पुरै लाल लाल भएको थियो।

हो डियर, किन यस्तो हुन्छ? किन तिम्रो स्वर र यादहरुले अझै खेदिरहन्छन्? बिर्सन्छु भनेर हरेक पटक कोशिश गर्छु तर किन बिर्सने बहानामा हरेक पटक सम्झना मात्रै आइरहन्छ भन्या?

तिमी मात्रै होइन, तिमीलाई फेसबुसका ट्याग गरेर राखेका फोटावालाहरु देख्दा पनि किन मनमा चिसो पसेर आउँछ? त्यो मेरो एक्सको छम्मा त होइन भनेर किन सधैँ सधैँ मनमा चिसो पसेसँगै शरीरका रौँहरु खडा हुन्छन्?’

डियर किन यस्तो हुन्छ । आज हरेक केटीको अनुहारमा तिम्रै छाया, प्रतिछाया मात्रै किन देख्छु । म त एक्स वेगरको लाइफको परिकल्पनाकार थिए । कुनैदिन म अंग्रेजी बर्णमालाको एक्सलाई एक्स नै मान्दिन थिए । स्कुल पढ्दा गणितमा सरले एक्स मान्दा म वाइ मान्छे । म त साइन्स पढेको मान्छे । साइन्समा सरले लेट अस कन्सिडर एक्स इज भन्दा म एक्सको सट्टा वाइ मान्थे । सबै साथिहरु छक्क पर्थे । तर आज….खैर……. । साच्चै म एक्स होइन अर्थात म लभ गर्दिन सिधै विहे गरेर बजाउने हो भन्थे । हैन किन हो केटाहरु बजाउने भन्दा यत्रा आखाँ तरेर हेरेउ नि । मैले त विहेमा वाजा बजाउने पो भनेको त । तिमिहरु त अनेक नेगेटिभ सोच्छौ । म लभ गर्दिन, लभ नगरेपछि एक्स हुने अर्थात व्रेक अप हुने संभावना नै हुदैन । व्रेक अप नभएपछि एक्स पो कसरी होला र । विहेपछि त डिभोर्स हुन्छ । डिभोर्सीलाई एक्स भन्दैनन क्यारे । पूर्वपत्नी भन्छन । पूर्वपत्नी त जहिले पनि पतिकै हुन्छ नि । जहिले पनि म मेरो पूर्व पनि फलानो थियो भनेर नाम जोड्छन तर डियर एक्स तिमि………..

डियर एक्स म तिमिलाई एक्स भनी कसरी भन्न सक्छु तिम्रो धोकापछि मैले हरेक केटीको तन र मन तिम्रो जस्तै होला भनेर कसैसँग तन र मन फेरी जोड्न मनै लागेन । मन नलागेको कहाँ हो र अगुल्टाले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ भने झै तिम्रो धोका र बेइमानी कारण हूँदा खाँदाका साथिभाइ र परिवारबाट टाढा हुनुपरेको छ । यही कारण त आज म केटि भन्दा केटा साथि बनाउन थालेको छु । तिमि बाहेक अरुसँग तन र मन जोडेको भए पो तिमिलाई एक्स भन्नु अर्थात डियर एक्स भनेर सम्बोधन गर्नु । तिमिलाई म एक्स भनौ कसरी अनि ब्रेकअप भइसकेकी प्रेमिकालाई म एक्स नभनेर के भनौ डियर । कुन शब्ले तिमिलाई सम्बोधन गरौ । धेरै सोचे डियर भन्दा अरु वेटर शब्द कुनै भेटिन  । अव डियर भनेर तिम्रो नाम लिनुभन्दा विना नाम डियर एक्स भन्नु नै बेटर लाग्यो ।

हो डियर एक्स तिमिले म जस्तो एक्स नमान्ने मान्छेलाई पनि एक्स बनाइदियौ । एक्स मात्रै होइन । एक्ससँग डराउने पनि बनायौ । हरेक कुरामा डराउने बनायौ । हो डियर मैले नागरिकतामा पनि पति वा पत्नीको नागरिकताको ठाउमा ट्रिपल एक्स राखेको छैन । मैले नागरिकता बनाउने कर्मचारीलाई कन्भिस गराउन सफल भए । डियर तिमिलाई थाहा छ नागरिकतामा किन ट्रिपल एक्स राख्छन । एकपटक गुगलमा ट्रिपल एक्स सर्च गरेर त हेर । यतिकैमा दिपेन्द्र सरले मोबाइल खोलेर हेर्छ । मातेको सुरमा उ  लगभग लगभग वेहोस हुन्छ । हैट  रोचक जी पनि भनेर उ मलाई रोक्न खोज्छ । आजलाई पुग्यो । एक्सको सबै थाहा भयो । अनि ट्रिपल एक्स त ‌ओ माइ गड………..

ऊ यसरी रक्सीको तालमा कतिन्जेल बोल्यो थाहा नै भएन। बिहान निद्राले छोड्दा उसको शिरानीमा भएको मोबाइलमा उसले रातभरि बोलेको यही रेकर्ड जो मातेको बेला के के अंग्रेजी बोलेको रेकर्ड बजिरहेको थियो।

उठेर यताउती हेर्छ, अरु कोही छैनन्। सबै साथीहरु उसलाई छोडेर हिँडेछन्। उसले काउन्टरमा गएर सोध्यो। काउन्टरवालाले पनि केही जवाफ दिएन। मात्रै ‘सर टाउको दुखेको होला, कागती पानी खानुस्’ भन्दै कागती पानी पो दिन्छ।

कुरा बुझ्न झन् रहस्यमय भयो। साथीहरु छोडेर हिँडे। कहाँ गए होलान्? के कारणले उसलाई राति नै साथीहरुले छोडे होलान्? वर्षौसँगै काम गरेका साथीहरुले उसलाई किन छाडेर हिँडे होलान्? अनि किन होटलको काउन्टरमा बस्ने पनि स्पष्ट जवाफ दिदैँन?

 

कौशिक नवराज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button