स्मृतिको छाया

केही वर्षअघि म एक दिन आफ्नो निजी कार्य लिएर कालेम्पोङ जान भनी निस्केको थिएँ ।

दिसम्बरको महिना भएकाले अति नै जाडो थियो । बिहानैदेखि टम्म हुस्सु लागिरहेको थियो ।

म गाडीको प्रतीक्षामा गोरुबथानको मोटरस्ट्यान्डमा उभिरहेको थिएँ । करिब एक घण्टा जति हिँडेर आएकाले मलाई थकान महसुस भइरहेको थियो । गाडी आइहाले बसिहाल्ने थिएँ जस्तो लागिरहेको थियो ।

सदाभन्दा आज अलिक मानिसहरूको भिड थियो स्ट्यान्डमा ।

सडकमा बाक्लो बाक्लो पोसाक लाएर हिँड्ने मानिसहरूको घुइँचो उत्तिकै थियो ।

आज गाडीमा बस्न सिट नपाइने पो हो कि भन्ने मनमा लागिरहेको थियो ।

आठ बज्न लाग्दा गाडी आइपुग्यो ।

मजस्तै अन्य यात्रीहरू पनि गाडीमा चढ्न हतारिए । बल्लबल्ल मैले अन्तिम सिट पाएँ ।

बिस्तारै गाडी आफ्नो गन्तव्यतर्फ गुड्न थाल्यो ।

गाडीभित्र अन्य यात्रीहरूको कुरा सुन्दै म झ्यालबाहिरका सुन्दर दृश्यहरू हेर्न मग्न भएँ ।

अम्बियोक चियाकमानका सुन्दर दृश्यहरू, वरिपरिका पहाड, वनजङ्गल र चेलखोलाको मनोरम दृश्यहरू हेर्न मलाई आनन्द आउँथ्यो ।

जतिजति हामी उकालो बढ्दै थियौँ उतिउति बतास पनि चिसो हुँदै जाँदै थियो ।

करिब एक घण्टापछि  हामी कुवापानी पुग्न आँटेका थियौँ ।

एउटा घुम्तीमा गाडी अचानक बारीको भित्तामा ठोक्किन पुग्यो । मेरो टाउको अगाडि सिटमा ठोक्कियो भने कोही अगाडि सिसामा ठोक्किन पुगेछन् ।

हामी सबै भयाभीत भयौँ  । सबै अत्तालियौँ ।

के भएछ भनी मैले झ्यालबाहिर टाउको निकालेँ ।

मैले हेर्दाहेर्दै उँभो लाभाबाट आएको सवारी गाडी सडक छोडेर तल बारीमा झर्‍यो ।

“लु सवारी पल्टियो बारीमा ” – भनी हत्तपत्त ढोका खोली त्यहाँ गयो ।

हामी डरले काप्यौँ । हतार हतार गाडीबाट उत्रियौँ ।

सबै अत्तालिएका थियौँ ।

हेर्दाहेर्दै वरपरका मानिसहरू पनि भेला भए ।

हामी सबै मिलेर गाडीभित्रका यात्रीहरूलाई निकाल्न थाल्यौँ ।

तीनचार जनालाई गम्भीर चोट लागेछ । एक जनाको भने घटनास्थलमै मृत्यु भएछ ।

“बिचारा पेम्बाको आप्पा पो रहेछ ” – एकजना स्त्रीले मृतकलाई हेर्दै भनिन् ।

“त्यो बाबुको बिजोग हुने भयो । बिचाराको आमाले पनि पहिलै छोडेर गइहाल्यो”- फेरि भनिन् उनले ।

“को हो  पेम्बा ?” – मैले  उत्सुक हुदै सोधेँ ।

“उसको छोरा ” – मृतकलाई देखाउँदै भनिन् उनले ।

“आफ्नो आफन्तहरू होलान् नि त? “- म भावुक भइसकेको थिएँ ।

“यिनीहरू अन्त कतैबाट आएर माथि शेर्पा गाउँमा बस्दै थिए । पछिबाट श्रीमतीचाहिँ अर्कैसँग भागी । अहिले बाबुछोरामात्र थिए झुप्रामा ।” – उनले वृतान्त बताइन् ।

म अझ भावुक भएँ । मभित्रको पुत्रप्रेम जागृत भइसकेको थियो ।

“आफ्नो पिताको बिछोडमा अब उसको हालत कस्तो हुने हो  ” भनी सोच्न थालेँ ।

घरमा मेरो पनि दश वर्षको छोरो थियो ।

म कतै जानका निम्ति बिहान तयार हुँदै गर्दा मेरो अघिपछि घुम्दै भन्थ्यो-  “भरे छिट्टै आउनू ल ” ।

यदि म आउन अबेर भयो र कसैले उसलाई ” अब बाबा आउँदैन ” भन्दिए ऊ रोएर विह्वल  हुन्छ । कसैले फकाउन सक्दैन । त्यसैले म जहाँ गए पनि समयमै घर फर्किने गर्छु ।

यदि म कतै वास बसिहाले आमाचाहिँले म फर्किँदा भनिरहेकी हुन्छिन् -” म यसलाई अब फकाउन सक्दिनँ । जता जानुहुन्छ साथमा लिएर जानुहोस् ” ।

म भने खुसीले गद्गद हुन्थेँ । छोराले मलाई साह्रै माया गर्छ भनेर ।

घटनास्थलमा धेरै मानिसहरू जम्मा भइसकेका थिए ।

“अब के गरूँ ?” म सोच्न थालेँ ।

यसरी म द्विविधामा पर्दा आजसम्म मेरी श्रीमतीले मेरो मार्गदर्शन गर्दै आइरहेकी थिइन् ।

आज पनि मोबाइलबाट बात गरेँ उनीसँग । सबैकुरा बताएँ ।

त्यसपछि गोरुबथानबाट आइरहेको एउटा गाडीमा झुन्डिएर म शेर्पागाउँ फाटक पुगेँ ।

यस ठाउँमा म पहिला पनि धेरैचोटि आएकाले यहाँका स्थान र मानिसहरूसँग म परिचित थिएँ ।

त्यस स्त्रीले बताएअनुसार अब मलाई ओह्रालो लाग्नु थियो ।

अलैँची र अम्लिसो बारी हुँदै हुँदै म त्यस झुपडीमा पुगेँ ।

वरिपरि चिमले बारेको झुपडी । छानाबाट धुवाँको मुस्लो छुटिरहेको थियो ।

दैलो खुल्ला भएकाले मैले आँगनबाट भित्र चियाएँ ।

नभन्दै एउटा बालक चुल्हाको अघि खरानी खरानी भएर आगो फुकिरहेको थियो ।

म भित्र पसेकोमात्र थिएँ धुवाँले गर्दा बाहिर निस्किहालेँ ।

केहीबेरमा उसले आगो बाल्यो र धुवाँ हटिसकेपछि म फेरिभित्र पसेँ ।

उसले ट्वाल्ल परेर मलाई हेऱ्यो ।

“के गर्न लागेको बाबु ?”- मैले सोधेँ उसलाई ।

“आप्पाले भात पकाएर खानू भनेको छ ।” – करुण स्वरमा जबाफ दियो उसले ।

यस्तै एघार बाह्र वर्ष पुगेको थियो होला ऊ ।

“म तिम्रो आप्पाको साथी ?” – उसलाई फकाउनका निम्ति  भनेँ मैले ।

“आप्पा त गोरुबथान जानुभएको छ ।” – यति भनेर ऊ चामल धुन थाल्यो ।

“के के पकाउने ?”- म प्रश्न गर्छु ।

“भातमात्रै पकाउँछु । सब्जी आप्पाले बिहानै पकाउनुभएको छ ।” – भात बसाउँदै उसले जबाफ दियो ।

“आफ्नो आप्पाको हातले पकाएको अन्तिमपटक खाऊ बाबु ।” – म मनमनै सोच्छु ।

उसले खाना खाएको हेरिबसेँ ।

खाइसकेपछि भने – ” म तिमीलाई लिन आएको । तिम्रो आप्पाले लिन पठाएको ।”

” आप्पा त भरे आइहाल्छ नि” – बाहिर निस्केर भन्यो उसले । ऊ सँगसँगै म पनि बाहिर निस्केँ ।

” कति बज्यो ” – उसले अचानक सोध्यो मलाई ।

” भरे साढे तीनको गाडीमा आइहाल्छ नि ” – भन्दै ऊ भाँडा माझ्न थाल्यो ।

म चुपचाप हेरिबसेँ ।

करिब तीन बज्न लाग्दा उसले दैलो थुन्यो । त्यसपछि उकालो फाटकपट्टि दगुरेर गयो ।

म पनि त्यसको पछिपछि गएँ ।

त्यहाँ एउटा पसल थियो । त्यस पसलअघि बसेर ऊ गाडी हेर्न थाल्यो । म पनि पसलभित्र बसी त्यसलाई हेर्न थाले ।

फाटकमा जुन गाडी आएर रोकिन्थियो ऊ उठेर हेर्न गइहाल्थ्यो ।

गाडीमा हेर्दा हेर्दा अब उसले अनुहार अँध्यारो बनाइसकेको थियो । बेला बेला म मिठाइँ किन्दै उसलाई दिइरहेको थिएँ तर त्यसले उसलाई खुसी पार्न सकेन ।

अब पाँच बज्न लागिसकेको थियो ।

छोटो दिन भएकाले अब केही क्षणमा अँध्यारो हुनेवाला थियो ।

अब उसलाई उसको आप्पा आज आउँदैन भन्ने विश्वास भएछ ।

अचानक भक्कानिएर रुँदै भन्यो उसले – ” भोलि आऊ न मात्रै म बोल्दै बोल्दिनँ । म छिट्टै आउँछु भनेर मलाई ढाँटेको होइन ? ” एकपटक तल सडकसम्म फेरि हेऱ्यो उसले तर सडक सुनसान थियो ।

अब आँखाबाट आँसु खसाल्दै ऊ त्यही झुप्रोमा फर्किन आँटेको थियो ।

म गएँ, उसलाई काखमा लिएँ ।

मैले बन्दोबस्त गरेको गाडी अघि आएर मेरो प्रतीक्षा गरिरहेको थियो ।

म केवल सही समयको प्रतीक्षामा थिएँ ।

“हिँड म तिम्रो आप्पा भएकोमा लान्छु ।”- कपालमा हात मुसार्दै भनेँ मैले । मनमनै भनिरहेको थिएँ “तिम्रो नयाँ परिवारले तिमीलाई पर्खिरहेको छ ।”

उसलाई लिएर म गाडीमा चढेँ ।

सात बजेतिर हामी हाम्रो घर पुग्यौँ ।

गाडीबाट झर्नेबित्तिकै उसले प्रश्न गऱ्यो “कहाँ छ आप्पा ?”

उसको जबाफ हामी कसैसँग थिएन ।

मेरी श्रीमतीले उसलाई हातमा समाएर घरभित्र लगिन् । हप्ता महिनादिनसम्म केवल उसले आप्पा खोजिबस्यो ।

“मलाई घरमा आप्पाले पर्खिरहेको होला” भनिबस्यो तर उसको आप्पाको शरीरको भने त्यो घटनाको दुई दिनमा मैले चेलखोलामा दाहसंस्कार गरिसकेको थिएँ ।

हामी सबै मिलेर उसलाई भरपुर माया दियौँ । समय बित्दै गयो । अहिले उसले मलाई “बाबा” भनेर बोलाउँछ । अनि मेरी श्रीमतीलाई मम्मी भन्ने गर्छ ।

कहिलेकाहीँ मेरो छोरालाई ऊ भनिरहेको हुन्छ- ” मेरो मम्मी बाबालाई पछि म आफैँ पाल्छु, तिमीले पाल्न पर्दैन ” ।

यो सुनेर हामी लोग्ने स्वास्नी हर्षले गद्गद हुन्छौँ तर कहिलेकाहीँ अझ पनि ऊ मस्त निद्रामा हुदाँ बरबराउने गर्छ-

“भोलि आऊ न मात्रै म बोल्दै बोल्दिनँ । म छिट्टै आउँछु भनेर मलाई ढाँटेको होइन ???

 

– शङ्कर शर्मा (डुवर्स)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button